धुलिखेल/एकद्वार संकट ब्यवस्थापन केन्द्र, धुलिखेल अस्पतालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका क्षेत्रबाट अस्पतालमा उपचारार्थ आएका घटना, त्यसको अवस्था तथा भएका समस्या र आगामी योजनाका बारेमा सरोकारवालासँग संवाद गरेको छ । साथै विद्यार्थीहरुले लैङ्गिक हिंसा न्यूनिकरणमा खेल्नु पर्ने भूमिका तथा अवस्थाका बारेमा नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले कविता, गित र नृत्य मार्फत समेत लैङ्गिक हिंसा विरुद्ध सबै पक्ष एक हुन आब्हान गरेका थिए ।
धुलिखेल अस्पताल, वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी), हेल्थकेयर रेस्पोन्डिङ टु भाइलेन्स एन्ड अब्यूज (हेरा) परियोजना, रोट¥याक्ट क्लब अफ केयुएसएम र युथ रेडक्रस सर्कल टोलीसँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान शुरु गरिएको हो । यो पहल नोभेम्बर २८ २०२४ बाट शुरु भएको हो । यस अवधिभर विभिन्न गतिविधिहरू आयोजना गरिनेछ ।
कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरेका थिए । माइती नेपालका संस्थापक समाजसेवी अनुराधा कोईराला, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला न्यायाधीवक्ता कृष्णा भण्डारी, प्रहरी निरिक्षक सरस्वती कार्की, जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, ओसीएमसीका प्रमुख डा.सम्झना बस्नेत, नर्सिङ्ग विभाग डाईरेक्टर प्रा.डा.कुन्तादेवी पुन, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, ओसीएमसी फोकल पर्सन सनिता सुर्खेती लगायतले जिल्लामा भएका लैङ्गिक हिंसाका घटनाको अवस्था र न्यूनिकरणमा सरोकारवाला निकायको भूमिकाका बारेमा धारणा राखेका थिए ।
लैङ्गिक हिंसामा विशेषज्ञ मन्तब्य सहित ओसीएमसीले गरेका गतिविधिहरुको तथ्यांक प्रस्तुत गरिएको थियो । एकद्धार संकट ब्यवस्थापन केन्द्र(ओसीएमसी) ले १६ दिने अभियानका क्रममा सामुदायिक चेतनामुलक ¥याली, अनलाइन पोस्टर बनाउने प्रतियोगिता, सडक नाटक लगायतका कार्यक्रमहरु गर्ने तयारी गरेको छ । अभियान अन्तर्गत धुलिखेलभरका समुदायलाई संलग्न गराउने, लैङ्गिक हिंसाको यथार्थताका बारेमा जनतालाई शिक्षित गराउने र त्यसको रोकथामका लागि कारबाही गर्न प्रेरित गर्ने प्रयास गरिनेछ ।
धुलिखेल अस्पतालमा रहेको ओसीएमसीले एक वर्षको अवधीमा १ सय ३६ जनालाई सेवा दिएको छ । जसमध्ये श्रीमानबाट पीडित भएका १ सय ३५ महिला छन् । १ जना मात्रै पुरुष छन् । जो श्रीमतिबाट पीडित भई घाईते भएका थिए । जसमध्ये अधिकांश १९ देखि ४९ वर्ष उमेर समुहका रहेका छन् । सबैभन्दा धेरै जनजाती समुहका धेरै घटना छन् । १९ जना दलित, ९८ जना जनजाति, ५१ जना ब्राम्हण क्षेत्री पीडित भएका छन् । ओसीएमसीमा आएका पीडितहरुलाई उपचारका अलावा मनोपरामर्श सेवा, कानुनी सहायता लगायतका सहयोग उपलब्ध हुने विभाग प्रमुख डा.सम्झना बस्नेतले बताईन् । उपचारमा आएका मध्ये ६५ जना जर्बजस्ती करणीमा संलग्न महिला तथा बालबालिका छन् । ७७ जना शारिरीक, ६ जना मानसिक अवस्थाका कारण पीडित बनेका छन् ।
सबैभन्दा धेरै पीडित पनौती नगरपालिकाका १७ जनाले उपचार गराएका छन् । धुलिखेलका ११, नमोबुद्धका १० र बनेपाका ९ जनाले उपचार गराए । खानीखोलाका ६ जना र मण्डनदेउपुरका ४ जनाले उपचार गराएका छन् । अन्य पालिकामा पनि १÷२ जना महिलाहरु पीडित भएको भन्दै ओसीएमसीबाट सेवा लिएका छन् । अधिकांश ब्यक्तिहरु उपचारमा आउँदा हिंसाका घटना लुकाउने गरेको फोकल पर्सन सनिता सुर्खेतिले बताईन् । कार्यक्रम प्रिस्मा पोखरेल र सिमोन मानन्धरले संचालन गरेका थिए ।









