धुलिखेलमा अन्तर वडा बाल क्लव सञ्जाल स्तरीय नृत्य प्रतियोगिता
वडा नम्वर ७ प्रथम, वडा नम्वर ४ वर्षभरीको उत्कृष्ट वडा बाल सञ्जाल घोषणा
धुलिखेल/धुलिखेल नगरपालिकाले बाल दिवस २०८१ का अवसरमा नगर स्तरीय बाल सञ्जालहरुका तर्फबाट नृत्य प्रतियोगिता आयोजना गरेको छ । नगरब्यापी अन्तर वडा बाल क्लव सञ्जाल स्तरीय नृत्य प्रतियोगितामा १२ वटा वडाबाट ६० जना बालबालिकाहरु सहभागि थिए ।
नगर प्रमुख अशोक ब्याञ्जुले बालबालिकाहरु भविष्यका कर्णधार मात्रै नभई वर्तमान अवस्थाका साझेदार समेत रहेकाले बालमैत्री ब्यवहार, बालमैत्री कानून तथा कार्यक्रम र अवसरलाई धुलिखेल नगरपालिकाले प्राथमिकतामा राख्दै नेपालको चौथो र बागमती प्रदेशको पहिलो बालमैत्री नगर घोषणा गरिएको बताए । बालमैत्री नगर धुलिखेललाई निरन्तर त्यहि अभियानमा अघि बढाउन वडा स्तरबाट विभिन्न कार्यक्रमहरु संचालन भईरहेको नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा उपप्रमुख निराजन जंगम, शिक्षा शाखा प्रमुख डिकबहादुर राई, शाखा प्रमुखहरु, सामाजिक विकास समिति संयोजक गणेश आचार्य, वडा अध्यक्ष उत्तम तिमल्सिना, गोविन्द भण्डारी, वडा अध्यक्ष बद्रि हुमागाई, वडा अध्यक्ष मोहनप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालयकी राजकुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । बाल सञ्जालका सल्लाहकार सुबोध धितालको संचालन र अध्यक्ष समिर प्रजापतिको अध्यक्षता रहेको थियो ।
नृत्य प्रतियोगितामा निर्णायक संगित शिक्षक दिपक तिमल्सिना र अमरकृष्ण चन्दले गरेका थिए । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथौ हुनेलाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार उपलब्ध गराईएको थियो । साथै वडा स्तरबाट एउटा उत्कृष्ट बाल सञ्जाल सम्मानित गरिएको थियो । प्रतियोगिताबाट वडा नम्वर ७ प्रथम भयो भने वडा नम्वर ५ दोश्रो भयो । वडा नम्वर ६ तेश्रो र वडा नम्वर ३ ले सान्त्वना पुरस्कार प्राप्त ग¥यो । कार्य सम्पादन मुल्यांकनका आधारमा धुलिखेल ४ बखुण्डोल वडा बाल क्लव सञ्जाल उत्कृष्ट बाल क्लव घोषणा गरि पुरस्कृत गरिएको छ ।
शान्तिपार्क संरक्षणमा आदर्श बाल क्लवका विद्यार्थीहरु
बनेपा/आदर्श विद्या मन्दिर विद्यालय तथा आदर्श बाल क्लबको संयुक्तमा शान्ति पार्क संरक्षण तथा सरसफाईका लागी डस्बिन तथा नगद हस्तान्तरण गरेका छन् ।
६० आंै वाल दिवसको अबसरमा विद्यार्थीहरुले बचत गरेको रकमबाट बाल क्लब मार्फत पार्क ब्यबस्थापनका लागी नगद र सरसफाईका लागि डस्बिन वडा अध्यक्ष शिबकुमार थापालाई विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिना र बाल क्लब अध्यक्ष अनुस्का घिमिरेले हस्तान्तरण गरेका थिए । बालबालिकाहरुले गरेको कार्य महत्वपूर्ण र उदारणीय भएको थापाले बताए । पार्क संरक्षणका लागी बाल क्लबले गरेको कार्यलाई वडाले समेत साथ र सहयोग गर्ने थापाले बताए । सबै वडाबासीहरुको पार्क संरक्षण गर्नु दायित्व भएको बताउँदै थापाले पार्क सञ्चालनमा आए पछि आन्तरिक पर्यटन आउन थालेको बताए । पार्कमा राधाकृष्ण मन्दिर, विभिन्न बालबालिकाहरुले खेल्ने सामाग्री, लगाएतका संरचना निर्माण भएका छन् । बनेपा नगरपालिका ११ मा रहेको उक्त पार्क नगरकै गौरबको योजना रहेको थापाले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयले बालबालिकाहरुका लागी मात्रै नभई सम्पूर्ण विद्याथीहरु उक्त सामाजिक कार्यमा लागेको बताए ।
विद्यालयले बालबालिकाहरुलाई पूर्ण छात्रबृत्ति देखी आंशिक छात्रबृत्ति दिँदै आएको, पढाईसँगै अतिरिक्त क्रियाकलाप, गुणस्तरीय शिक्षालाई जोड दिंदै आएको तिमल्सिनाले बताए । कार्यक्रममा मानब अधिकारबादी भोजराज तिमल्सिना, बाल क्लबकी अध्यक्ष अनुस्का घिमिरे, वडा सदस्य दुर्गा थापा, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । विद्यालयले विद्यालयमा विभिन्न साँस्कृतीक कार्यक्रमको समेत आयोजना गरेका थिए ।
बनेपामा बालबालिकासँग जनप्रतिनिधि
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागितामा ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकासंँग जनप्रतिनिधि सम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बालबालिकाहरुले नगरपालिकाले बालबालिकाको क्षेत्रमा कति प्रतिशत रकम छुट्टयाएको छ ? पारदर्शी र बालबालिकाकै क्षेत्रमा खर्च गरिएको छ कि छैन ? वडामा किन बाल मैत्री पार्कहरुको निर्माण नगरिएको, सामुदायीक विद्यालयमा अतिरिक्त कक्षाको शिक्षक किन नभएको ? चुनाब जितेको २ वर्ष सम्म बालबालिकाहरुका गरिएका कामहरु के के हुन् ? राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा किन साना कक्षाका बालबालिकालाई सहभागी गराईदैन ? नगरमा भएका बालक्लबहरुलाई कति रकम छुट्टयाईको छ ? लगायतका दर्जनौ प्रश्न जनप्रतिनिधि समक्ष प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाको क्षेत्रमा पर्याप्त बजेट छट्टयाएको, प्रत्येक वडामा बालमैत्री पार्क निमार्ण शुरु गरिएको, सामुदायीक तथा निजी विद्यालयको सहभागितामा विषयगत शैक्षिक प्रर्दशनी गर्दै आएको, केहि समयमै नगरलाई बालमैत्री नगर घोषणा गर्न लागिएको बताए । कार्यक्रमका सभापति तथा उप प्रमुख विमला सापकोटाले बालबालिकाहरुको क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताईन् । बालबालिकाहरुको समस्या सुन्न नै उक्त कार्यक्रमको आयोजना गरिएको बताईन् ।
बालबालिकाहरुका लागि पोषण खाद्य कार्यक्रम, निःशुल्क खोप, आँखा परिक्षण, स्वास्थ्य, अपाङ्गता जस्ता क्षेत्रमा काम गर्दै आएको सापकोटाले बताईन् । कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुवँंर, नगर बाल सञ्जाल अध्यक्ष प्रितम लामिछाने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन महिला तथा जेष्ठ नागरिक शाखाकी महिला विकास निरिक्षक सपना ओलीले गरेकी थिईन् ।
बाल दिवसको अवसरमा पनौती ४ मा वक्तृत्वकला प्रतियोगिता
पनौती/बाल दिवसको अवसर पारेर पनौती नगरपालिका वडा नम्बर ४ मा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । बाल अधिकारका बारेमा विद्यार्थीको धारणा वुझ्न तथा वर्तमान अवस्था थाहा पाउन बाल अधिकार आजको आवश्यकता शीर्षकमा प्रतियोगिता आयोजना गरिएको बालमैत्री सहजकर्ता ललिता धितालले जानकारी दिइन् ।
वडा कार्यालयको आयोजना तथा मित्रता वडा बाल सञ्जालको समन्वयमा वक्तृृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १४ जना बालबालिकाले सहभागिता जनाएका थिए । जसमध्ये बालोद्धार माध्यमिक विद्यालयकी छात्रा सन्ध्या तिमल्सिनाले प्रथम स्थान हासिल गरेकी छिन् । यस्तै काभ्रे अंग्रेजी माविकी स्मृति तिमल्सिना द्वितीय स्थान हासिल गर्न सफल भएकी छन् भने अरुणोदय माविकी शिरिषा हुमागाँई तृतीय भएकी छन् । कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष दिपक दाहाल, कार्यपालिका सदस्य एवं बालमैत्री संपर्क व्यक्ति राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ, बालमैत्री सहजकर्ता ललिता धिताल, नगर बाल सञ्जाल अध्यक्ष एन्जला खत्री, मित्रता वडा बाल सञ्जाल अध्यक्ष कुसुम तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख बञ्जाराले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर सबैभन्दा धेरै लगानी गरिरहेको बताइन् । बालबालिकामा व्यक्तित्व विकास, क्षमता विकास लगायतको परिवर्तनले नगरपालिकाको लगानी ठीक ठाउँमा रहेको पुष्टि गर्ने उनको भनाई थियो । यस्तै उपप्रमुख बञ्जाराले बालबालिकालाई किताबी ज्ञानसँगै सामाजिक, राजनीतिक विषयमा पनि जानकारी राख्न आग्रह गरेकी छन् । सामाजिकीकरण हुन जरुरी रहेको उनको भनाई थियो । वडा अध्यक्ष दिपकप्रसाद दाहालले नेपाली भाषा, संस्कृतिको संरक्षणमा विद्यालय, शिक्षक र विद्यार्थीको ठुलो भूमिका रहने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन । कार्यक्रममा नगर बाल सञ्जाल अध्यक्ष एन्जला खत्रीले अतिरिक्त क्रियाकलापले आत्मविश्वास, क्षमता विकास र सीप बढाउँदै लैजाने बतान् । आगामी दिनमा पनि बालबालिकाको प्रतिभा प्रस्फुटन हुने कार्यक्रम आयोजना गर्न उनको अनुरोध छ । राम्रो बोल्नु कला मात्रै नभई सबैले आर्जन गर्नुपर्ने सीप भएको उनको भनाई थियो । वडा बाल सञ्जाल अध्यक्ष कुसुम तिमल्सिनाले प्रतियोगिता भनेको प्रतिस्पर्धा मात्र नभई सिकाई र आत्मविश्वासको अवसर भएको बताइन् । कार्यक्रमा बालोद्धार माविको शिक्षक सिता दाहाल र काभ्रे अंग्रेजी माविका शिक्षक सुदन बञ्जारा निर्णायकको भूमिकामा थिए । मित्रता वडा बाल सञ्जालकी सह–सचिव दिनिसा तिमल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् ।
‘सामाजिक सञ्जाल वरदान की अभिशाप’ शीर्षकमा पनौती–२ मा वादविवाद प्रतियोगिता
पनौती/बाल दिवसको अवसर पारेर पनौती नगरपालिका वडा नम्बर २ ले वादविवाद प्रतियोगिता आयोजना गरेको छ । ‘सामाजिक सञ्जाल वरदान की अभिशाप’ शीर्षकमा आयोजित प्रतियोगितामा १५ जना बालबालिकाले भाग लिएका थिए ।
पनौती नगरपालिका वडा नम्बर २ को आयोजना तथा प्रगतिशिल वडा बाल सञ्जालको समन्वयमा भएको प्रतियोगितामा इभाना सापकोटा प्रथम भएकी छन् । यस्तै मेरिना दाहाल द्धितीय, कृपा ढुंगाना तृतीय, पुजा आचार्य चौंथो र रितिका बजगाँई पाँचौं स्थान हासिल गर्न सफल भएका छन् । सामाजिक सञ्जालको सकारात्मक पक्ष अवलम्बन गर्दै गलत कुराबाट बच्न वादविवाद प्रतियोगिता प्रभावकारी बन्ने वडा कार्यालयको विश्वास छ । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यपालिका सदस्य सुनिता वि.क, वडा सदस्य सिता थापा, वडा सचिव परशुराम बञ्जारा, स्वास्थ्य चौकी प्रमुख उमा तामाङ, कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल, सहकायक प्रधानाध्यापक इश्वरी थापा, फुल्चोकी आधारभुत विद्यालयकी शिक्षक अम्बिका आचार्य, वडा बाल सञ्जालकी पुर्व अध्यक्ष मनिका हुमागाँई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले सामाजिक सञ्जालको बढ्दो परनिर्भरता घटाउँदै किताब, पत्रपत्रिका अध्ययनमा पनि ध्यान दिन आग्रह गरेका छन् । सामाजिक सञ्जालका राम्रा पक्ष मात्रै अनुशरण गर्न उनको अनुरोध छ ।
प्रतियोगितामा शिक्षक मनोज अधिकारी र शालिकराम हुमागाँई निर्णायकको भूमिकामा थिए । बालबालिकाहरुले सामाजिक सञ्जालको सकारात्मक पक्ष र नकारातम पक्षबारे आफ्नो धारणा राखेका थिए । बालमैत्री सहजकर्ता सरस्वती आचार्यले सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि प्रतियोगिता सहयोगी हुने बताइन् । प्रगतिशिल वडा बाल सञ्जालका अध्यक्ष रिदम थापाको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव समिर हुमागाँईले गरेका थिए भने स्वागत मन्तव्य सविना हुमागाँईले राखेकी थिइन् ।
बाल दिवसको अवसरमा बाल सहभागिता सम्बन्धी अभिमुखीकरण
पनौती/पनौती नगरपालिका वडा नम्बर ८ ले राष्ट्रिय बाल दिवसको अवसर पारेर यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी तालिम तथा बाल सहभागीता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
वडा कार्यालयको आयोजना तथा सिविनसँगको सहकार्यमा बालबालिकासँग अन्तरक्रिया गरिएको बालमैत्री सहजकर्ता गीता थापाले जानकारी दिइन् । दुई दिने तालिम तथा अभिमुखीकरण कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता लगायतका विषयमा अहिले भइरहेको अभ्यास र आगामी योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य शोभा कार्की, राजेन्द्र केसी, विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, बालमैत्री सहजकर्ता गीता थापा, सिविनका प्रतिनिधि, सुनौलो वडा बाल समुह सञ्जालका बालबालिकाहरु लगायतको सहभागीता रहेको थियो ।
बेथानचोक गाउँपालिका–४ मा प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता
बेथान्चोक/बेथानचोक गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
ग्रामिण विकास संस्था (एआरडी) को सहयोग तथा बेथानचोक चलाल बाल क्लवको आयोजनामा बाल दिवसको अवसर पारेर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ६ वटा विद्यालय सहभागी थिए । हाजिरीजवाफ प्रतियोगितामा कालिका माविका प्रधानाध्यापक महेन्द्र प्रसाद वाग्लेको सभापतित्व रहेको थियो भने वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बादुर लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतयोगितामा गणेश आधारभुत विद्यालय प्रथम, कालिका मावि द्धितीय, भूमिमाता माविले तृतीय स्थान हासिल गरेको छ भने श्री कपुर महांकाल प्राविले सान्त्वना स्थान हासिल गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य सुसान्ता गोलेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षक द्धय सरिता बजगाँई र विनिता तिमल्सिनाले गरेका थिए ।
विजयी विद्यार्थीलाई प्रमुख अतिथी एवं वडा अध्यक्ष लामा, विद्यालयका प्रधानाध्यापक वाग्ले र एआरडी प्रतिनिधि सरिता हुमागाँईले पुरस्कार वितरण गरेका विद्यालयका सहायक प्रधानाध्यापक बेदप्रसाद बजगाँईले जानकारी दिए ।
पनौती–१ रयालेमा बाल मनोपरामर्श सहितको कानुनी सचेतना
पनौती/पनौती नगरपालिका वडा नम्बर १ मा बाल मनोपरामर्श सहितको कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको छ । बाल दिवसको अवसरमा बाल कुलत, आत्महत्या रोकथाम,बाल दुव्र्यवहार सम्बन्धी बाल मनोपरामर्श सहितको कानुनी सचेतना कार्यक्रम आयोजना गरिएकोे बालमैत्री सहजकर्ता तुल प्रसाद सापकोटाले जानकारी दिए ।
पनौती नगरपालिका वडा नम्बर १ बाल अधिकार वडा समिति र समर्पण वडा बाल समुह सञ्जालको आयोजना तथा इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष जयकुमार तामाङको अध्यक्षता रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपा अन्तर्गत प्रहरी चौकी खोपासीमा कार्यरत प्रहरी सहायक निरिक्षक बिमल श्रेष्ठले सचेतना कक्षा लिएका थिए । यस्तै वडा बाल सञ्जालका पुर्व अध्यक्ष शिशिर सापकोटाले सामाजिक सञ्जाल प्रयोगमा सुरक्षाको बारेमा सचेतना कक्षा लिएका थिए ।
कार्यक्रममा वडा नम्बर १ बाल अधिकार समिति र समर्पण वडा बाल समुह सञ्जालको आयोजनामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, भलचन्द्र मावि बाल समुह अध्यक्ष, शान्ति निकेतन मावि बाल समुह अध्यक्ष,लगायतले बाल दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन बालमैत्री सहजकर्ता तुल प्रसाद सापकोटाले गरेका थिए ।









