धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले तीजको दोश्रो दिन गणेश चतुर्थीका दिन महिलाहरुको महान चाड हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । तीज कार्यक्रममा सहभागीहरु मध्येबाट वडा कार्यालयले गोला प्रथा गरी साडी उपहार दिएको छ । ४० जना महिलाहरुलाई साडी उपहार प्रदान गरिएको अध्यक्ष उत्तम तिमल्सिनाले बताए ।
नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तिमल्सिना, धुलिखेल नगरपालिका निवर्तमान उपप्रमुख विमला शर्मा, सेतिदेवी रेडक्रस सभापति पुण्यवती घले तथा वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले तीजलाई शिव र पार्वतीले एक अर्काको भावना बुझ्न, महिला र पुरुष वीचको सम्वन्ध तथा एकताका लागि सत्यम् शिवम् सुन्दरम्को भावनाबाट लिएकाले हरेकले शिवलाई सत्य मान्दै आएको बताए । तीजले पारेको सकारात्मक सन्देशहरुलाई अझै बढाउन र विकृतिलाई आफै रोक्ने तर्फ ध्यान दिन नगर प्रमुख ब्याञ्जुले अनुरोध गरे ।
अध्यक्ष तिमल्सिनाले तीजमा दर खान बुहारीहरु माईती जाने र दर खाएर फर्कने, छोरीहरु माईती आउने र बस्ने दिन सबैका लागि उपयुक्त समय तीजको दोश्रो दिनको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको बताए । हरेक महिलाहरुको दुःख, सुखलाई सहज रुपले नाचगानका माध्यमबाट ब्यक्त गर्ने माध्यमलाई पर्वका रुपमा मनाउँदै संस्कृति जोगाउनु पर्नेमा सहभागीहरुले जोड दिए । वडा नम्वर ४ ले श्रीकृष्ण जन्माअष्टमीको अवसर पारी कन्या पुजाको आयोजना गरेको थियो ।









