2025 April 19/ 09:01: 21am

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय धुलिखेलले शिर मेमोरियल अस्पताल बनेपाको सहयोगमा प्रहरीमा कार्यरत महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धि परिक्षण गरेको छ । प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का र अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले उक्त कार्य सह्रानिय भएको बताए । 
    ‘सधै ड्युटीमा रहनु पर्ने, विदा भएको समयमा पनि आफ्नो स्वास्थ्य परिक्षणमा समय उपलब्ध गराउन नसकेका महिला प्रहरीहरुका लागि प्रहरी कार्यालय परिसरमै विशेषज्ञ चिकित्सकहरु उपलब्ध गराई पाठेघरको मुखको क्यान्सर सम्वन्धि परिक्षण गरिएको हो’–प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन–‘पहिलो चरणमा जिल्लामा कार्यरत ३९ जना महिला प्रहरीमा परिक्षण गरिएको छ । बाँकी महिला प्रहरीको पनि क्रमशः परिक्षण गराईनेछ ।’ परिक्षण गरिएका मध्ये दुई महिला प्रहरीमा पाठेघरमा क्यान्सरको शंका गरिएको छ । 
    महिला प्रहरीहरुलाई पाठेघरको क्यान्सर किन र कसरी हुन्छ ? त्यसको रोकथाम तथा नियमित परिक्षणका लागि के गर्ने ? लगायतका विषयमा प्रशिक्षण समेत दिईएको डा.एन्जिला बस्नेतले बताईन् । प्रशिक्षण कार्यक्रममा स्त्रि रोग विशेषज्ञ डा.शुभ श्रेष्ठ, फिजियोथेरापिस्ट उजुम बादे लगायतले सहभागिहरुलाई क्यान्सर रोग, रोकथाम र अवस्थाका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा महिला प्रहरीको ब्लड सुगरको समेत परिक्षण गरिएको थियो । एक वर्षको अवधीमा शिर मेमोरियल अस्पतालल १२ हजार ८ सय महिलाको पाठेघर परिक्षण गरेको छ । जसमा २ सय ७० जनामा पाठेघर झर्ने समस्या देखिएकाले शल्यक्रिया गरेको छ भने केहिमा पाठेघरको मुखको क्यान्सर शंका गरेको छ ।  त्यसको नियमित उपचार र फलोअप गरिरहेको बताएको छ । 
    एसपी बसुन्धरा खड्काले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पहिलो पटक महिला शौचालयमा स्यानेटरी प्याडको प्रयोगमा सहजता तथा त्यसलाई नष्ट गर्ने ब्यवस्थापनको शुरुवात गरेकी छिन् । जसले गर्दा ड्युटीमा रहेका महिला प्रहरीहरुका लागि सहजता भएको बताईएको छ ।