2026 June 26/ 09:46: 56am

बनेपा/डायमण्ड टोल सुधार समितिले बनेपा नगरपालिका वडा नम्बर ६ रहेको गोसाईकुण्ड परिसरमा ७ फिटको त्रिशुल राखेको छ । 
बनेपा नगरपालिका ६ मा रहेको उक्त गोसाइकुण्डमा भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको पाइन्छ । शारिरीक अस्वस्थ र बृद्धबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसक्नेले उक्त स्थानमा गएर नुहाएर ब्राह्मणहरुले जनै र डोरी फेर्ने गरेको पाइन्छ । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किम्बदन्ती छ । गोसाईकुण्डमा मेला लाग्न थालिसकेपछि गोसाईकुण्डमा मेलाभरी स्नान गरी जल लिन भनी लगिएको एक तिर्थालुको कमण्डलु गोसाईकुण्डमा हराएको र पछि आएर उक्त कमण्डलु अहिलेको बुडोलको गोसाईकुण्डमा भेटिएको कारण त्यही ठाउँलाई गोसाईकुण्डको सहायक रुपमा लिई मेला भर्ने र स्नान गर्ने गरेको पाइन्छ । उक्त धार्मिक स्थलमा पुजा विधि गरी त्रिशुल राखिएको टोलसुधार समितिका कोषाध्यक्ष हरिगोपाल कायस्थले बताए । 
उक्त त्रिसुल राखेसँगै गोसाईथानमा रहेको गुरुकूल विद्यालयका बटुकहरु, भजन खलःलाई, स्थानीय र टोलसुधार सहित २ सय जना भन्दा बढीलाई भोजन गराईएको कायस्थले बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्धयक्ष सचितानन्द केसी, गुरुकुल विद्यालयका प्रध्यानाध्यापक दिब्यमणि अधिकारी, स्थानीय लगायतको सहभागिता रहेको थियो । कार्यक्रम टोलसुधार समतिका अध्यक्ष निर्दाेष पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको थियो ।