बनेपा/काभ्रे लेडी जेसिजको आयोजनामा बनेपामा विभिन्न विद्यालयका विद्यार्थी र संघ संस्थाका प्रतिनिधी सहित २४ जनालाई प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । तालिमको उद्घाटन पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थले गरेका थिए ।
अध्यक्ष सविता शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रकाश कायस्थले मानवीय संवेदना बढाउन र ब्यक्ति बचाउन प्राथमिक उपचार महत्वपूर्ण हुने बताए । तालिम लिँदा र दिँदा ध्यान दिनुपर्ने तथा ब्यवहारमा कार्यान्वयन गर्ने समयमा सिप र क्षमतालाई आत्मविश्वासका साथ कार्यान्वयन गर्न सुझाव दिए । कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले जानी गर्न हानी नगर्न अनुरोध गरे । विपत्तिमा हुन सक्ने घटनाहरुमा मानवीय क्षती कम गर्न प्राथमिक उपचार गर्न उनले अनुरोध गरे । कार्यक्रममा प्रशिक्षक लक्ष्मी केसीले सिपलाई ब्यवहार उतार्न सिकाईमा ध्यान दिन सहभागीहरुलाई अनुरोध गरिन् ।
अध्यक्ष सविता शाक्यले काभ्रे लेडी जेसिजले समुदायमा आधारित विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा ब्यक्तिहरुको जीवन बचाउन प्राथमिक उपचार सम्बन्धी तालिम महत्वपूर्ण हुने भएकाले उपलब्ध गराईएको बताईन् । ज्ञानकुञ्ज, निष्ट, रामभक्त मेमोरियल, चैतन्य लगायतका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु तथा विभिन्न संघ संस्थाका ब्यक्तिहरु तालिममा सहभागि थिए । काभ्रे लेडी जेसिज २०२४ की महासचिव रविना सेवाचार्यको संचालन रहेको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक समिता श्रेष्ठले राखेकी थिईन् । कार्यक्रममा काभ्रे लेडी जेसिजका पुर्व अध्यक्षहरु, काभ्रे जेसीज तथा जुनियर जेसिज अध्यक्ष सृष्टि श्रेष्ठ, नगरकोट नाल्दुम जेसिज अध्यक्ष दिपा लामा, सौन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष सुष्मा प्रधान लगायतको सहभागिता रहेको थियो ।
शुक्रबार र शनिबार हुने तालिममा भक्तपुर रेडक्रसका लक्ष्मी केसी, दिवाकर पौड्याल, ऋषि खड्का र प्रभुराम थापाले प्रशिक्षण दिएका थिए ।









