विकास तिमल्सिना/च्यामराङ्गबेशी
बेथानचोक गाउँपालिका वडा नम्बर १ च्याम्राङवेशीमा मदानी डेरी सञ्चालनमा आएको छ । जिल्लाको विकट क्षेत्र मानिने च्याम्राङबेसीमा ठुलो लगानीमा सामुहिक व्यवसाय सुरु गरिएको हो । उक्त डेरीमा दैनिक ६ हजार लिटरसम्म दुध संकलन हुन्छ । अहिले सुख्खायाममा समेत दैनिक ४ हजार ५ सय लिटर दुध संकलन हुँदै आएको छ । जिल्लाको च्याम्राङबेसी, सुकुम, फेदी, हिलटार, सहित ललितपुर जिल्लाको ठुलादुर्लुङ, कालेश्वर, नमन लगायतका स्थानबाट दुध संकलन हुँदै आएको छ । २२ जनाले गाउँमा नै रोजगारीको अवसर पाएका छन । मदानी डेरी उद्योगले पनिर, कञ्चन चिज, मोजरेला चिज, बटर, छुर्पी, घिउ उत्पादन गर्दै आएको छ ।
उद्योगबाट उत्पादित दुध लगायत दुग्धजन्य पदार्थ काठमाण्डौं उपत्यकामा बढी खपत हुन्छ । गुणस्तरीय उत्पादनकै कारण उपभोक्ताको मन जित्न सफल भएको उद्योगको विश्वास छ । उद्योगबाट उत्पादित दुग्धजन्य पदार्थ विक्रीवितरणमा कुनै समस्या नरहेको सञ्चालक तिमल्सिनाले बताए । उद्योगले बनेपाबाट समेत दुग्धजन्य पदार्थ विक्रिवितरण गर्दै आएको छ । गुणस्तरीय उत्पादनका कारण माग बढ्दै गएको छ ।
सामुहिक प्रयासका कारण नै उद्योगले सफलता प्राप्त गरेको सञ्चालक बताउँछन् । बढ्दो बसाँईसराईका कारण गाउँ नै रित्तिँदै गएपछि सम्भावना देखाउने उदेश्य अनुरुप डेरी सञ्चालनमा ल्याइएको सञ्चालक भिमसेन तिमल्सिनाले बताए । विस्थापित हुन लागेको गाउँमा आशा जगाउने काम उद्योगले गरेको उनको वुझाई छ ।
उनले आशाको दियोमा तेल थप्ने काम स्थानीय सरकार र सरोकारवाला निकायले गर्दिए अझै हौसला मिल्ने बताए । यद्यपी उद्योगले हालसम्म कुनै पनि निकायबाट अनुदान प्राप्त गरेको छैन ।









