2026 June 26/ 04:52: 41pm

    बनेपा, नाला/बनेपा नगरपालिकाको ४३ औ स्थापना दिवसको अवसरमा नगर क्षेत्रबाट उत्कृष्ट विद्यालयका रुपमा सम्मान पाएको बनेपा नगरपालिका वडा नम्वर ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले सामुदायिक विद्यालय तर्फ पहिलो पटक केजी कक्षाबाट एक कक्षामा उत्तिर्ण भएका बालबालिकाहरुको दीक्षान्त गराएको छ । 
    ‘विद्यालयले बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्ने तथा उनिहरुमा भएको क्षमता अभिभावकहरु समक्ष प्रस्तुत गर्ने उदेश्यले पहिलो पटक सामुदायिक विद्यालयहरुले संचालन गरेका शिशु कक्षाबाट कक्षा एकका लागि योग्य विद्यार्थीहरुको दीक्षान्त समारोह आयोजना गरेको हो’–प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले भने–‘हामी  शिक्षालाई गुणस्तरीय मात्रै होईन समयानुकल र ब्यवहारीक बनाउँदै अब्बल विद्यालय र विद्यार्थी तयार गर्ने अभियानमा कृयाशिल भएका छौं ।’ समुदायले सामुदायिक विद्यालयहरुले पनि अब्बल शिक्षा दिन्छन भन्ने उदाहरण बन्ने गरी शैक्षिक कार्यक्रम केन्द्रित गरेको प्रधानाध्यापक पाण्डेयले बताए । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले दीक्षित भएका बालबालिकाहरुलाई पुरस्कृत गरेकी थिईन् । 
    नगर क्षेत्रका सबै विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले लिएको सोच र योजनालाई पुरा गर्ने गरी चण्डेश्वरी माविले ब्यवहारीक शिक्षाको उदाहरण बनेको उपप्रमुख विमला सापकोटाले बताईन् । ४१ जना विद्यार्थी दिक्षित गरिएको उक्त कार्यक्रममा प्ले ग्रुप र नर्सरीका बालबालिकाहरुले सांस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले चण्डेश्वरी नगर भित्रको मात्रै नभई जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको बताए । विद्यालयले भाषा,संस्कृति, ईतिहास, अनुशासनका लागि नैतिकवान् विद्यार्थी तयार गर्ने अभियानमा जोड दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताए । ७ सयभन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेको उक्त विद्यालयमा ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले विद्यालयले नमुना र उदाहरणीय कार्य गरिरहेको बताए । विद्यालयको आफ्नै पूर्वाधार, विद्यालय बस तथा विद्यालयको कोष निर्माण गरी ब्यवस्थापन गरिएको अध्यक्ष श्रेष्ठले बताए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका सल्लाहकार तुलप्रसाद दाहाल, विद्यालय शिक्षक रिता बादे श्रेष्ठ लगायतले विद्यालयको गुणस्तरीय शिक्षा र ब्यवहारीक शिक्षामा चण्डेश्वरी मावीको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्थानीय अभिभावक, सल्लाहकार, ब्यवस्थापन समिति सदस्यहरु, शिक्षक तथा कर्मचारी परिवारको सहभागिता रहेको थियो ।