2024 April 27/ 05:32: 20pm

खानेपानी ट्याङ्कीमा साझेदारीता
    धुलिखेल, फस्कोट/धुलिखेल नगरपालिका वडा नम्वर ११ फस्कोटमा स्थानीय प्रकाश थापाले बुबा इन्द्रबहादुर थापा तथा सम्पूर्ण पितृ थापा परिवारको सम्झनामा ब्यक्तिगत खर्चमा शिवको मन्दिर, किरिया पुत्री घर निर्माण गरेका छन् भने नगरपालिकाको ६० प्रतिशत सहयोग तथा आफ्नै ४० प्रतिशत लगानीमा ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेका छन् । उक्त संरचनाको नगर प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका साथ उद्घाटन गरेका छन् । 
    २५ वर्ष देखि क्यानाडा बस्दै आएका स्थानीय प्रकाश थापा क्यानाडामा रहेको विश्वविद्यालयका प्राध्यापक हुन् । ६ महिना अघि ८९ वर्षको उमेरमा उनका बाबु इन्द्रबहादुर थापाको निधन भयो । बाबुको निधन पछि उनले सोहि स्थानमा शिव मन्दिर, किरियापुत्री घर तथा खानेपानीको स्थायी ब्यवस्थापनका लागि पानी ट्याङ्की अभाव भएको महसुस गरे । सोहि अभाव टार्न उनले तीन महिना अघि शिव मन्दिर निर्माण कार्य शुरु गरे । सँगै किरियापुत्री भवन पनि निर्माण गरे । स्थानीय स्तरमा रहेको खानेपानीको मुहान संरक्षण गरी सोहि मुहानबाट बगेको पानी संकलनका लागि स्थायी खालको ट्याङ्की आवश्यकता भएको महसुस गरे । नगरपालिकाले ६० प्रतिशत सहयोग गर्ने भए पछि थापाले ४० प्रतिशत आफ्नो लगानीमा पानी ट्याङ्की निर्माण गरे । २१ घर परिवार रहेको उक्त क्षेत्रलाई नियमित २४ सै घण्टा खानेपानी प्रयोजन तथा पछि थप हुन सक्ने ३० घर समेत गरी ५० घर परिवारलाई सहजै खानेपानी ब्यवस्थापन गर्न सकिने गरी संरचना तयार गरिएको छ । प्रकाश एक्लैको ४१ लाख रुपैया खर्च भएको उनले बताए । स्थानीय स्तरमा आवश्यकताका आधारमा संरचना निर्माण गर्न पाएकोमा थापाले गौरव महसुस गरे । मन्दिर निर्माणका लागि केहि जमिन डम्बरबहादुर थापाले दान गरेका छन् । अन्य संरचना सार्वजनिक जमिनमा निर्माण गरिएको छ । 
    निर्माण भएका संरचनाको उद्घाटन गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारले गर्ने कार्यमा एउटा ब्यक्तिले गरेको सहयोग उदाहरणीय र प्रशंसनिय रहेको बताए । ‘सरकारले गर्नु पर्ने काममा तपाई ब्यक्तिले समुदायको हितका लागि गरेको कार्य प्रशंसनिय छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘ब्यक्तिले समुदायको हित चाँहदा गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रकाश थापाले दिएका छन् ।’ धुलिखेलमा पछिल्लो समय ब्यक्तिगत तहबाट समुदाय र नगरको विकास गर्ने ब्यक्तिहरुको संख्या थपिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले सबैको सहयोग, समन्वय र सहकार्यमा मात्रै नगरको विकास गर्न सकिने बताए । धुलिखेल नगरपालिका अन्तराष्ट्रिय स्तरमा दिगो विकास लक्ष्यका सुचकहरु पुरा गर्ने नगरपालिकाका रुपमा समेत चिनिएको बताउँदै एक घर एक धारा ९४ प्रतिशत घरमा निर्माण गरिएको नगरका रुपमा समेत चिनिएको बताए । स्वस्थ शहर लगायतका नागरिक मैत्री कार्यक्रमका कारण नगरबासिहरुका दैनिक आवश्यकता र आधारभुत विकासका सुचकहरु पुरा गर्दै गएको नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा  वडा अध्यक्ष नारायण बडाल, निवर्तमान वडा अध्यक्ष विष्णु धिताल, पुर्व गाविस अध्यक्ष केशव बडाल लगायतका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।