2024 April 27/ 11:48: 31am

    पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाईले फागु पूर्णिमाको अवसरमा बनभोज सहित उत्कृष्ट चालक तथा सह–चालक सम्मानित गरेको छ । अध्यक्ष सुनिल धाँजुले हरेक वर्ष उत्कृष्ट चालक, सह–चालकलाई सम्मान सहित वनभोज गर्ने कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिईएको बताए । 
    सम्मानित चालकलाई दुई तोला र सह–चालकहरुलाई डेढ तोला रहेको चाँदीको मायाको चिनोे सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । यो वर्ष देखि धेरै रिजर्भ गएर संगठनलाई लेबी बुझाउनेहरु मध्येबाट उत्कृष्ट चालकलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने चालकहरुमा निराजन तिमल्सिना, डोलनाथ हुमागाई, अष्टबहादुर तामाङ, सन्तोष खत्री, दिनेश खुलाल रहेका छन् । ति मध्ये निराजन तिमल्सिना यो वर्ष उत्कृष्ट रिजर्भ गएर संगठनलाई शुल्क बुझाउने चालकका रुपमा सम्मानित भएका छन् । त्यस्तै सम्मानित हुने सह–चालकहरुमा कमल थापा, राजु परियार, ललित विक र माधवनारायण नापित रहेका छन् । संगठनका अध्यक्ष धाँजुले संगठनलाई अझै मजबुत र पारदर्शी बनाउँदै जान संगठन भित्रको एकता, सक्रियता र कृयाशिलता आवश्यक रहेको बताएका थिए । 
    कार्यक्रममा जिफन्टका उपाध्यक्ष विदुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले मजदुरहरुलाई राज्यका विभिन्न नीति नियमले संकट बनाएकाले कानून संशोधन गर्न तथा मजदुर मैत्री कानून ल्याउन माग गरे । त्यस्तै मजदुरहरुले गल्ति गर्ने छुट नभएको बताउँदै कथंकथाचित हुने गल्तिहरुमा न्यूनतम सजायँ तोक्न, मजदुरलाई लार्पवाही नगरी सवारी साधन चलाउन र ट्राफिक प्रहरीले कहाँ निर गल्ति हुन्छ र कारवाही गरौंला भन्ने सोच नराख्न अनुरोध गरे । कार्यक्रममा काभ्रे पुण्यवती प्रा.लि.का अध्यक्ष राजेशसुन्दर सैंजु, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदी, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी राजकुमार श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे, बागमती प्रदेश उपाध्यक्ष वेदप्रसाद घिमिरे, पनौती रुट इकाईका उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी सदस्य तथा मजदुर इन्चार्ज शान्ति कार्की, नगर कमिटी जिफन्ट उपाध्यक्ष रिता तामाङ, संगठनका विभिन्न तहका नेताहरु, एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, काभ्रे पुण्यवती प्रालीका कार्यालय प्रमुख शुभराज जोशी, विभिन्न संघ संगठनका अध्यक्षहरु, ब्यवसायीहरुको सहभागिता रहेको थियो । संगठनका सचिव परशुराम सापकोटाले संचालन गरेको कार्यक्रममा मजदुरहरुले संगठनको पारदर्शिता र मजबुतताका लागि सबै कृयाशिल हुनु पर्ने बताएका थिए ।