पनौती/पनौती नगरपालिका वडा नम्बर ४ ज्यालाचिटीका २ सय ७२ घरधुरीमा खानेपानी पुगेको छ ।
प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने अभियनाका साथ सुरु भएको काम १२ वर्षपछि कार्यक्रमले पुर्णता पाएको हो । एक घर,एक धारा अभियानको औपचारिक उद्घाटन गरिएको छ । एक घर, एक धारा अभियान अन्तर्गत पनौती नगरपालिका वडा नम्बर ४ का २ सय ७२ घरधुरीमा धारा जडान गरिएको हो । वागमती प्रदेश सरकारबाट विनियोजन भएको १५ लाख तथा नगरपालिका र वडा कार्यालयको सहयोगमा २ सय ७२ घरमा धारा जडान गरिएको ज्यालाचिटी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन । थापाका अनुसार पुराना उपभोक्ता २ सय १५ घरधुरीबाट ५ हजार र नयाँ उपभोक्ता ५७ घरधुरीबाट ९ हजार ५ सयका दरले रकम उठाइएको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत काम छिट्टै सम्पन्न गरेर आगामी साधारण सभामा सम्पुर्ण विवरण पेश गर्ने सचिव दिपक थापाले जानकारी दिए । असोज ९ गतेबाट थालिएको ट्यांकी निर्माण कार्य उपभोक्ता समितिले माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर निर्धारित समयभन्दा करिव १ महिनाअघि नै काम सम्पन्न भएको हो । यो बीचमा पाइपलाइन विस्तार, घर–घरमा धारा जडान लगायतका कार्यसमेत सम्पन्न भएको अध्यक्ष थापाले जानकारी दिए । यसअघि २० हजार लिटर क्षमताको ट्यांकी मार्फत पानी वितरण हुँदै आएको थियो । जसले गर्दा ट्यांकी छिटो भरिएर खेर जाँदा पानी वितरणमा समस्या भएको थियो । नवनिर्मित ट्यांकी ९२ हजार लिटर क्षमताको छ । दुवै ट्यांकीमा गरेर १ लाख १२ हजार लिटर पानी भण्डारण गर्न सकिने भएको छ । जसले गर्दा पानी वितरणमा सहज हुने उपभोक्ता समितिको विश्वास छ । बाँकी १० प्रतिशत काम छिट्टै सम्पन्न गरेर आगामी साधारण सभामा सम्पुर्ण विवरण पेश गर्ने सचिव दिपक थापाले जानकारी दिएका छन । समितिले घरमा धारा जोड्नका लागि निवेदन माग गरे बमोजिम ३ सय २० घरधुरीले निवेदन दिएका छन् ।









