2019 February 23/ 01:08: 39pm

    धुलिखेल/तामाङ्ग कला र संस्कृति संवद्धनका लागी मनाऔं सोनाम ल्होछार, शान्त सुन्दर पर्यटकीय नगर धुलिखेल चिनाउने हाम्रो प्रयास” भन्ने नाराका साथ धुलिखेलमा शुक्रबार सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम एवं खाना महोत्सव सम्पन्न भएको छ । 
    कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगर प्रमुख अशोक व्याञ्जुले तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछार अब नगरसँगै मनाउने बताए । विभिन्न जातिहरुको भाषा, धर्म, सँस्कृति, परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मा स्थानीय तहको भएकोले आफू यसमा जिम्मेवारीपूर्वक लाग्ने ब्याञ्जुले बताए । कार्यक्रममा लामागुरुद्वारा प्रवचन तथा स्थानीय लामागुरुहरुद्वारा पुजापाठ, तामाङ कला संस्कृति झल्काउने विभिन्न झाँकी, नाचहरु प्रदर्शन, राष्ट्रिय स्तर एंव ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, तामाङ समुदायमा प्रसिद्व विभिन्न स्वादिष्ट परिकारहरुको खानाको व्यवस्था, विभिन्न विद्यालयहरुको ल्होछार नृत्य प्रस्तुत गरेको थिए । 
    कार्यक्रममा राष्ट्रिय कलाकारहरु रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, इन्दिरा योञ्जन लगायतका बरिष्ठ कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । नेपाल तामाङ घेदुङ संघ धुलिखेल नगर कमिटीको आयोजना, धुलिखेल नगर जनजाति परिषद्को सह–आयोजना रहेको कार्यक्रममा धुलिखेल नगरपालिकाले सहयोग गरेको थियो । कार्यक्रममा नगरका १२ वटै वडाको सहभागिता रहेको थियो । कार्यक्रम सिवी तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । ल्होछारको अवसरमा विभिन्न स्थानमा विविध कार्यक्रमका साथ विविध कार्यक्रम सम्पन्न भएका छन् ।