2019 March 22/ 01:25: 43am

    बनेपा/भागवतगीताका भक्तहरुले संसारभर पुस्तक दान गर्ने अभियान स्वरुप बनेपामा रहेको अन्तराष्ट्रियकृष्ण भावनामृत संघ (इप्कोन) मा भागवतगीताको तुला दान गरिएको छ । 
    ‘भागवतगीताका भक्तले आफ्नो तौल बराबरको भागवतगीता तुलामा जोखेर दान गर्नु भयो’–भागवतगीताका भक्त एवं भावनामृत संघ बनेपाका प्रमुख मधुभिजाले बताए । माधव चालिसे अथार्त उनको भागवतगीताका भक्त अनुसार दिक्षित भए पछिको नाम मधुभिजा हो । पातलेखेत निवासी आदित्य तिमल्सिनाले भागवतगीतालाई एकातिर राख्दै आफु अर्काे तिर बसेर दान गरेका थिए । बनेपामा हरेक शनिबार भागवतगीता सम्वन्धी प्रवचन र भजन हुन्छ । साथै शात्विक भोजन समेत ग्रहण गराईन्छ । यो समय संसारभर भागवतगीता दान गर्ने समय भएकाले त्यसका भक्तहरुले वितरण गरिरहेका छन् । 
    बजारमा पर्ने मुल्य भन्दा सस्तो मुल्यमा नेपाली भाषामा अनुवाद गरिएको उक्त भागवतगीता ८४ वटा तिमल्सिनाले दान गरे । ‘१ सय ११ वटा दान गर्ने योजना सहित खरिद गरेर ल्याएँ, तौल कम भएकाले दान गर्दा ८४ वटा मात्रै दिन सकें’–आदित्यले भने–‘भागवतगीता दान गरेर पुण्य मिल्ने छ ।’ ‘आफु मात्रै खुशी भएर संसार खुशी हुन सक्दैन, संसार खुशी बनाउनु भागवतगीताको सार हो’–उनले भने–‘धर्म कुन मान्ने भन्दा पनि भागवतगीताको सन्देश र ज्ञान सम्र्पूण मानवजातीका लागि उत्तम छ ।’ भगवानको धाममा प्रवेश गर्न सहज हुने भएकाले भागवतगीताको दान यो महिना उत्तम मानिएको माधव चालिसेले बताए । उनी काठमाडौ विश्वविद्यालयमा गणित विषयको अध्यापन गराउँदै आएका छन् । आदित्य इलेक्ट्रिक इन्जिनियर हुन् । भागवतगीताको बजार मुल्य ३ सयमा खरिद गरेका आदित्यले २५ हजार २ सय रुपैया बराबरको भागवतगीता हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व, संस्कृतिको संरक्षण लगायतको उदेश्य राखिएको उक्त अभियान अथार्त भागवतगीताको अध्ययन विश्वका विभिन्न मुलुकहरुमा विद्यालय तहमै राखिएको छ । राधाअष्टमी, कृष्णअष्टमी र शनिबार भागवतगीताको विशेष प्रवचन हुँदै आएको छ ।