2019 January 19/ 07:50: 01pm

    बनेपा/बनेपा नगरपालिकाले नगरलाई सफा र सुन्दर बनाउन प्रहरी, सेनाको सहयोगमा सरसफाई अभियान शुरु गरेको छ । 
    ‘अरनिको राजमार्गको दायाँबायाँ सुन्दर बनाउन सरसफाई अभियान शुरु गरिएको हो’–नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले भने–‘पहिलो चरणमा अतिक्रमण हटाएका थियौं, दोश्रो चरणमा सरसफाई अभियान शुरु गरेका हौं ।’ साँगा देखि २८ किलोसम्मको क्षेत्रमा भएका अतिक्रमण हटाएलगत्तै सडक विभागको समन्वमा दायाँबायाँ फुटपाथका लागि फराकिलो बनाउने कार्य शुरु भएको छ । अरनिको राजमार्गको ब्यस्त सडकलाई सहयोग पु¥याउने र सडक यात्रीहरुलाई छेउको सडक प्रयोग गरी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले उक्त अभियान शुरु गरिएको हो । सरसफाई अभियानले बनेपाको सुन्दर नगर अभियानलाई सहयोग पुग्नेछ । आईतबारबाट शुरु गरिएको अभियान साताभरी चल्नेछ । घरधनीले आफ्नो घर अगाडी फोहोर गरेको पाईएमा नगरपालिकाले नियम अनुसार कारवाहीको चेतावनी दिएको छ । 
    ‘सरसफाई अभियानमा स्थानीयहरुको सक्रिय सहभागिता बनाउने अभियान शुरु भएको छ’–नगर उपप्रमुख रेखा सापकोटा दाहालले भनिन–‘फोहोर ब्यवस्थापनका लागि स्थायी समाधानका लागि पहल भएको छ । छिट्टै त्यसको समाधान हुनेछ ।’ फोहोर ब्यवस्थापन हुन नसक्दा बनेपा नगर केहि समय देखि अस्तब्यस्त देखिदै आएको छ । फोहोर ब्यवस्थापन लगत्तै सवारी साधनको ब्यवस्थापन गर्ने उपप्रमुख सापकोटाले बताईन् । इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपाले नगरपालिकाको सहयोगमा पहिलो चरणमा नालादोबाटो देखि प्राधिकरणसम्म वान वे सवारी साधन आवतजावत गर्न दिएको छ भने दोश्रो चरणमा चारदोबाटोदेखि अस्पताल जाने बाटोमा वानवेको तयारी गरेको छ । बनेपालाई हरेक क्षेत्रबाट सम्वृद्ध र सफा सुन्दर बनाउन जनप्रतिनिधिहरुले कार्य गरिरहेको प्रवक्ता श्याम श्रेष्ठले बताए । 
    सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्का, विष्णु दल गणका गणपति कर्णेल सुवास खड्का, नगर प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो । काभ्रे उद्योग बाणिज्य संघका अध्इक्ष प्रकाश मानन्धर, महासचिव कैलाश पलाञ्चोके, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाई, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख एवं प्रहरी निरिक्षक निरन्जन भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक राय लगायतको टिमले नगरको विभिन्न खण्डमा सरसफाई गरेको थियो । जिल्ला प्रहरी कार्यालय मातहतका युनिटबाट खटिएको प्रहरी टोली, नेपाली सेना, ट्राफिक प्रहरीको टोलीले बनेपाको अभियानलाई सफल बनाउने बताएका थिए ।