2024 April 26/ 05:09: 08am

पनौतीमा कृषकलाई अनुदान
    पनौती/पनौती नगरपालिका कृषि तथा पशुपक्षि शाखाले कृषकहरुलाई विश्व दुग्ध दिवसको अवसरमा सामाग्रीमा अनुदान उपलब्ध गराएको छ । शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार पनौती नगरपालिका दुग्धमा आत्मनिर्भर भई निर्यात गर्ने जिल्लाको पहिलो र ठुलो पालिका भएकाले कृषकहरुको समृद्धलाई ध्यान दिदै पाडी पालनका लागि अनुदान उपलब्ध गराउँदै आएको बताउनु भयो । पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले वडा न १२ का दूध संकलक शालिकराम लामिछानेलाई एक हजार लिटरको चिलिम भ्याट र वडा न २ का दूध संकलक सुरथ सापकोटालाई मिल्क एनलाइजर सहित डिजिटल ब्यालेन्स र मनिटर सहितको उपकरण उपलब्ध गराउनु भएको थियो । वितरण पश्चात नगर प्रमुख न्यौपानेले किसानको जीवनस्तर उकास्नका लागि नगरले कृषि र पशुपालन क्षेत्रलाई महत्व दिदैँ आएको बताउनु भयो । उहाँले नगरलाई भैँसी पकेट क्षेत्र बनाउन ८ सय पाडी वितरण गरिसकेको जनाउँदै यसको प्रभावबाट अन्य १५ सय पाडी हुर्कदै गएकोमा खुशी व्यक्त गर्नु भयो । 
    पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले ६० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको बताउनु भयो । चिलिम भ्याटको तीन लाख ९० हजार र मिल्क एनलाइजर सेटको एक लाख २० हजार मूल्य रहेको छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख गीता बन्जारा, बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, नमोबुद्ध नगरपालिका वडा न १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले कृषि र पशुपन्छी क्षेत्रमा पनौती नगरपालिका मार्गदर्शक भएको बताउनु भएको थियो ।