2024 April 26/ 06:14: 57pm

    पनौती/पनौती उद्योग बाणिज्य संघ र पनौती नगरपालिकाको लगानीमा पनौतीका विभिन्न स्थानमा राखिएका सिसिटिभि सहितका क्यामेराहरुको स्वामित्व हस्तान्तरण गरिएको छ ।
     पनौती प्रहरी चौकीको जिम्मेवारीमा रहने गरी उक्त क्यामेराहरुको सुरक्षा सहितको जिम्मेवारी हस्तान्तरण गरिएको हो । २०७४ साल कार्तिक २ गते देखि शुरु गरिएको उक्त अभियान ११ वटा क्यामेराबाट १७ वटामा पुगेको छ । पनौती बजार, कुशादेवी, ठाडोबाटो, टौखाल, खोपासी जाने पुल लगायतका स्थानमा राखिएका क्यामेराहरुको मुख्य मनिटर प्रहरी चौकी पनौतीमा राखिएको छ । उद्योग बाणिज्य संघको ७ लाख ५० हजार र नगरपालिकाको १५ लाख लगानीमा निर्माण गरिएको क्यामेराहरु थप वडामा पनि विस्तार गरिने नगर प्रमुख भिम न्यौपानेले बताए । नीजि क्षेत्रसँगको सहकार्यमा बसपार्क निर्माण तथा अन्य विकासका कार्यहरुमा साझेदार गर्न नगरपालिका तयार रहेको न्यौपानेले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले नगरको सुरक्षा र प्रविधिको प्रयोगमा उद्योग बाणिज्य सघले सहयोग गरेको बताए । आगामी दिनमा नगरपालिका सँगको सहकार्यमा यस्ता कार्यहरु अगाडी बढाईने थापाले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै राउतले विकसित देशहरुमा क्यामेराको प्रयोगले शान्ति सुरक्षा कायम गर्न तथा जनशक्तिको कम प्रयोग गरी प्रविधिको प्रयोगबाट मुलुकले धेरै लाभ लिन सकेको उदाहरण रहेको बताए । नेपालमा पनि सिसि क्यामेराको प्रयोगले अपराध अनुसन्धान र जनशत्तिको ब्यवस्थापनमा सहयोग पुग्ने राउतले बताए । कार्यक्रममा प्रहरी प्रमुख एसपी रविराज खड्काले अपराध न्युनिकरणमा तथा नागरिकलाई शान्ति कायम भएको अनुभुति दिलाउन पनौतीमा राखिएका क्यामेराहरु सहयोगी बन्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, उद्योग बाणिज्य संघ काभ्रेका उपाध्यक्ष राजेन्द्र पसँक्षे, नगर उपाध्यक्ष सुदर्शन सुवेदी, सचिव महेश पौड्याल लगायतले मन्तब्य राखेका थिए । क्यामेराहरुको नियमित संचालन तथा मर्मत सम्भारका लागि अलग्गै कोष निर्माण गर्न बक्ताहरुले सुझाव दिएका थिए ।