निरन्जन गेलाल/रवि
धुलिखेल नगरपालिका वडा नम्वर २ रविमा रहेको सिस्नेखोला सिँचाई आयोजनाको शिलान्यास धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नुभएको छ ।
ब्याञ्जुले आयोजनाको काम सुरु भएसँगै सिँचाईको अभावमा बाँझो रहेका खेतहरुमा खेती गर्न सकिने बताउनु भएको छ । ब्याञ्जुले चुनावमा गरिएको बाचा अनुसार विकास निर्माणका कामलाई तिव्रता दिएको बताउनु भयो । जनताका समस्यालाई उच्च प्राथमिकता दिएको बताउँदै ब्याञ्जुले जनताकै सल्लाहमा अघि बढ्ने पनि बताउनु भयो ।
धुलिखेल नगर भरिनै निर्वाचन प्रतिबद्धता गरेका विकासका कामहरु ७० प्रतिशत सम्पन्न भएका र बाँकी अन्तिम चरणमा रहेको बताउनु भयो । प्रत्येक वडामा पुग्ने सडक कालोपत्रे, १ घर १ धारा, बगैचा, साक्षर नगर, आत्मनिर्भर, विभिन्न तालिम प्रदान, युवा, महिला, दलित, किसान लगाएत नगरका सम्पूर्ण जनतालाई समेटिएको ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा उप–प्रमुख विमला शर्मा, सिंचाई डिभिजन प्रमुख अक्षर गोपाल श्रेष्ठ, वडा अध्यक्ष देवप्रसाद कोइराला, वडा सदस्यहरु, स्थानिय लगायतको उपस्थिति रहेको थियो । उपभोक्ता र ठेक्का गरी ४ करोड २ लाख ३७ रुपैयाँको लागतमा निर्माण हुने सिस्नेखोला सिंचाई आयोजना १५ महिनामा निर्माण सम्पन्न हुनेछ । आयोजना सम्पन्न भएपछि १५ सय रोपनी क्षेत्रफलमा बाह्रै महिना सिँचाई सुविधा पुग्नेछ । जसबाट १ सय ५२ घरधुरिका ७ सय ७४ जना लाभान्वित हुनेछन् । अहिले ७५ लाख ८० हजारको काम भइरहेको सिंचाई डिभिजन प्रमुख अक्षर गोपाल श्रेष्ठले बताउनु भयो ।