2020 November 30/ 10:10: 52am

    चौंरीदेउराली/चौंरीदेउराली गाउँपालिका वडा नम्वर ९ मा कृषि सडक उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडक उद्घाटन गरेका हुन् । 
    करिब ८ लाख बजेटमा उक्त निर्माण सम्पन्न भएको थियो । गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै गएको बताए । ‘हामीले निर्वाचनको क्रममा मुख्यतः खानेपानी, बत्ति र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थियौं’– गौतमले भने– ‘खानेपानी, बत्ति र सडकको समस्या पूरा गरेका छौं । आउने दिनहरुमा पनि तपाईंहरुको साथमा सधैं रहने छौं ।’ 
    उपाध्यक्ष ताराकुमारी चौंलागाईंले आफूहरु यस भेगमा आउँदा देखेका समस्याहरु एक–एक गरि पूरा गर्दै आएको बताइन् । नागरिकहरुको आवश्यकता र माग अनुसार सबै काम सम्पन्न हुँदै गएको उनले बताईन् । कार्यक्रममा वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा चौंरीदेउरालीको ‘कर्णाली’ को रुपमा सबैले बुझे पनि विकासले फड्को मारेको बताए । ‘यो वडा ‘कर्णाली’को रुपमा रहेकोमा अब विकास उन्मुख दिशामा लान हामी सफल भएका छौं’– वडा अध्यक्ष लामाले भने – ‘राणा शासनदेखि हालसम्म पनि यस भेगमा कुनै विकास निर्माण नभएको गुनासो जनताको रहेकोमा हाल त्यो गुनासो सुनेको छैन ।’
उक्त सडकले वडा देखि गाउँपालिका केन्द्र जोड्छ भने मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यो सडक निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।