2020 November 30/ 10:35: 22am

    नमोबुद्ध/नमोबुद्ध नगरपालिका २ ठूलीपोखरीका स्थानीय युवाहरुले चौतारी निर्माण गरेका छन् ।
३ लाख रुपैयाँको लागतमा निर्मित चौतारीको नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद््घाटन गरेका छन् । 
    नमोबुद्ध नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सञ्जीव ढकालले चौतारी, पोखरी लगायत पुरातात्त्विक, धार्मिक महत्वका संरचनाहरु संरक्षणमा वडाले आवश्यक सहयोग गर्ने बताए । ठूलीपोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष संजोग गौतमले आठ दिनको अवधिमै चौतारी निर्माण गरेको भन्दै यसमा स्थानीय युवाको सक्रियता महत्वपूर्ण रहेको बताए । युवालाई विकास निर्माणको काम दिँदा समयमै काम सकिने र पारदर्शी हुने उनले बताए । समितिका संरक्षक उद्धवप्रसाद न्यौपानेले युवाहरूले गरेका यस्ता कार्यमा वडा र नगरले साथ र सहयोग गर्नुपर्ने बताए ।
    कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य कृष्णचन्द्र आचार्य, नेकपा जिल्ला कमिटी सदस्य एवं नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, नमोबुद्ध ७ का वडा अध्यक्ष धर्मसिं तामाङ, वडा नं १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, समाजसेवी रामहरि आचार्य लगायतको उपस्थिति थियो ।