2024 April 27/ 09:57: 19am

    धुलिखेल/६५ औं प्रहरी दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीलाई सहयोग गर्ने विभिन्न संघ संस्था, ब्यक्तिहरुलाई प्रशंशापत्रद्वारा सम्मान गरेको छ । साथै कार्यक्षेत्रमा खटिँदा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारहरुलाई दोसल्ला सहित सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारीहरुलाई नगद सहित सम्मान गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै पोखरेलले नेपाल प्रहरीले नागरिकहरुको सुरक्षाका लागि गरिरहेको काम प्रति प्रशंसा गर्दै नागरिकहरुको सुरक्षा, कानूनको कार्यान्वयन गर्दै नागरिक र प्रहरी बीचको सम्वन्ध विस्तार गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संघीय प्रहरी बनेपाका एसएसपी उमेशराज जोशीले प्रहरीले नागरिकहरुको सुरक्षाका लागि विशेष अनुसन्धान र कानून कार्यान्वयन गरिरहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौडेलले प्रहरीले अनुसन्धान मार्फत अपराधमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कारवाही गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकहरुको सुरक्षाका लागि प्रहरी सधै सक्रिय हुनु पर्ने सुझाव दिनु भयो । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नु भएको थियो । प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी दिवस २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो । सोहि अवसरमा नेपाल प्रहरीलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादाता एवं विशिष्ठ योगदान पु¥याउनुहुने महानुभावहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । सेलमान मोक्तान महाभारत गाउँपालिका ६, लाल बहादुर मोक्तान महाभारत गाउँपालिका ४, कुलमान तामाङ्ग नमोबुद्ध नगरपालिका ४, गोविन्द प्रसाद पाण्डे तेमाल गाउँ पालिका ३, भलाराज गिरी चौरी देउराली गाउँपालिका ६, पाँचखाल ३ नम्बर वडा कार्यालय रहेका छन् । 
    त्यस्तै बिशिष्ठ योगदान पु¥याउनु हुने संघसंस्था धुलिखेल नगरपालिकालाई सिसिटिभी जडान गरी अपराध नियन्त्रण कार्यमा सहयोग गरे बापत प्रशंसा पत्र प्रदान गरिएको थियो । रोशी गाँउपालिका प्रहरी कार्यमा सहयोग, महाभारत गाँउपालिका इलाका प्रहरी कार्यालय देवीटारको लागि जग्गा ब्यबस्थापन, स्वास्थ्य कार्यालय काभ्रे कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीका लागि स्वास्थ्य सामाग्रीहरु तथा हिरासतमा रहेका मानिसहरुको स्वास्थ्य परिक्षणमा सहयोग गरे बापत प्रशंसा पत्र प्रदान गरिएको थियो । शहरी विकास तथा भवन निर्माण कार्यालय प्रहरी कार्यमा सहयोग, नेपाल पत्रकार महासंघ काभ्रे शाखा प्रहरी कार्यमा सहयोग, पेन्जोम शेर्पा प्रहरी कार्यमा सहयोग, सरिता तामाङ्ग प्रहरी कार्यमा सहयोग, सुब्बा सिंह तामाङ्ग प्रहरी कार्यमा सहयोग गरेका थिए । अमर प्रहरी कर्मचारीहरुको परिवारलाई दोसल्ला ओढाएर सम्मानका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पुरस्कार प्रदान गरेका थिए । उत्कृष्ट कार्य गर्ने प्रहरीहरुमा प्रहरी निरीक्षक सुरेश खत्री, प्रहरी नायब निरिक्षक चन्द्रकुमार फाजु श्रेष्ठ, सिता श्रेष्ठ, प्रहरी सहायक निरिक्षक रामकुमार बुढाथोकी, प्रहरी हवल्दार दिपेश श्रेष्ठ र पुस्कल खड्का, प्रहरी जवान रामहरी भण्डारी र कमल भट्टराई, कार्यालय सहयोगी नारायण विक्रम कुँवर रहेका छन् ।