2020 May 31/ 06:36: 25pm

धुलिखेल/कोरोना भाइरस अर्थात कोभिड १९ बाट बचौं र बचाऔं भन्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लालाई कोरोना मुक्त बनाई राख्न जिल्लाबासीहरुको तर्फबाट जिल्ला विपद् ब्यवस्थापन समिति मार्फत विभिन्न क्षेत्रमा सहयोग पुग्ने गरी स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ । 
अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजको तर्फबाट जिल्ला विपद् ब्यवस्थापन समितिलाई ३० थान पिपिई र ५० थान सन्देशमुलक सूचना सामाग्री समेटिएको फ्लेक्स प्रिन्ट उपलबध गराईएको काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले जानकारी दिनु भयो । ‘उपचार संभव नभएको र संक्र्रमणबाट नै महामारी हुन सक्ने उक्त रोगको रोकथामको निमित्त थोरै सहयोग पुगोस् भन्ने अभिप्रायले काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाज, काभ्रेले संयुक्त रुपमा सामाग्री उपलब्ध गराएका हौं’– अध्यक्ष थापाले भन्नुभयो–‘जिल्लामा भएका काम प्रति हामी सन्तुष्ट छौं ।

नागरिकहरुको सुरक्षाका लागि खटिनु हुने तीन तहकै सरकारका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र नागरिक समाजका सम्पूर्ण क्षेत्रका ब्यक्तिहरुको मनोबल उच्च राख्न निरन्तर सक्दो सहयोग गर्ने छौं ।’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त सामाग्री समाजको तर्फबाट हस्तान्तरण गरिएको थियो ।
अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामाले जिल्लाबासीहरु अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर विभिन्न स्थानमा सेवा गरिरहँदा पनि जोखिम मोलेरै जिल्लाका लागि थोरै भए पनि सहयोग गर्ने असल मनसायले उपलब्ध गराएको रकम मार्फत जिल्लालाई सहयोग गरिएको बताउनु भयो । सामाग्री हस्तान्तरण कार्यक्रममा काभ्रे सेवा समाजका अध्यक्ष केशव थापा, अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामा, विजय बस्नेत लगायतको सहभागिता रहेको थियो ।