2020 May 31/ 06:18: 22pm

बनेपा/कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि राजधानी भित्रने पूर्वी नाका विपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रको टोलीले अनुगमन गरेको छ । राती र दिउँसोको समयमा समेत अत्यावश्यक सेवा तथा पासका नाममा केहि दिन देखि कोरोना संक्रमण भएका जिल्लाहरुबाट नागरिकहरु राजधानी भित्रन थाले पछि सिमा नाकामा कडाई गर्न अनुगमन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको नेतृत्वमा गएको टोलीले राजमार्गमा अत्यावश्यक सेवाका नाममा संचालन भएका सवारी साधनहरु, खाद्यान्न तथा तरकारी पसलहरु, स्थानीय नागरिकहरुका बारेमा जानकारी लिएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामासँग टोलीले रोशी गाउँपालिकासँगै जोडिएको सिन्धुली जिल्लाको नाकाको अवस्था र समस्याका बारेमा छलफल गरेको थियो ।

ईलाका प्रहरी कार्यालय मंगलटारले पूर्वी नाकाबाट आउने सवारी साधनहरुमा कडाई गरे सँगै स्थानीयहरुको चासो र संक्रमण फैलनसक्ने तर्फ गाउँपालिका अध्यक्ष डिबी लामाले चासो ब्यक्त गर्नु भएको थियो । जुन जिल्लाबाट सवारी साधन हिडेको हो त्यहि जिल्लाबाट नै रोक्नुपर्ने र पास तथा अत्यावश्यक सेवाका नाममा दुरुपयोग गर्नेहरुलाई कारवाही गर्न गाउँपालिका अध्यक्ष डिबी लामाले टोलीलाई सुझाव दिनु भएको थियो ।
टोलीमा विष्णु दल गण धुलिखेलका गणपति प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, शसस्त्र प्रहरी बल १५ नम्वर गण काभ्रेका प्रमुख एसपी पुरुषोतम थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख सरोज निरौला लगायतको सहभागिता रहेको थियो ।
अरनिको राजमार्गको नाका साँगा देखि विपी राजमार्गको नाका नेपालथोकसम्मको अनुगमनका क्रममा पूर्ण रुपमा लकडाउन कार्यान्वयन भएको पाईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । लकडाउनको अझै कार्यान्वयन र नागरिकहरुको जीवन सहज बनाउन अझै पहल गर्ने तिमल्सिनाले बताउनु भयो ।