2020 February 18/ 10:14: 01pm

धुलिखेल/धुलिखेल अस्पतालले विशेषज्ञ सेवा सहित पहिलो पटक मेडिको लिगल सेवा संचालनमा ल्याएको छ । माघ १ गते देखि संचालन गर्ने अनुमति प्राप्त गरेको अस्पतालले सेवाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ । 
काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पताल नमुना अस्पतालको रुपमा अगाडी बढिरहेकाले यसले दिने सेवा नमुना हुनुपर्ने बताउनु भयो । गर्दा गर्दा सिक्न र बुझ्न सकिने बताउँदै विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले मान्छेलाई सत्य कुरा बताउन सक्दा मात्रै सन्तुष्ट बनाउन सकिने बताउनु भयो । डाक्टरी पेशा त्यस्तै भएकाले मान्छे भित्र भएको सत्य पत्ता लगाई दिन कन्जुस्याई नगर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला न्यायाधीश पुरुषोतम ढकालले अनुसन्धानमा सहजता र न्याय सम्पादनमा सहयोग पुग्ने गरी अस्पतालले शुरु गरेको मेडिको लिगल सेवालाई गुणस्तरीय बनाउन सुझाव दिनु भयो । 
कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक डा. रमेश माकजु श्रेष्ठले धुलिखेल अस्पतालले विशेषज्ञ सहितको सेवामा ध्यान दिएको बताउनु भयो । फरेन्सिक मेडिसिन एशोसियट प्रोफेसर डा. राजकुमार कार्कीले ध्ुलिखेल अस्पतालले मेडिको लिगल शव परिक्षण र क्लिनिकल मेडिको लिगल परिक्षण सेवा शुरु गरेको बताउनु भयो । तीन जना विशेषज्ञ सहितको टोलीले धुलिखेल अस्पतालमा २४ सै घण्टा सेवा प्रदान गर्नेछ । विद्यार्थीहरुका लागि अध्ययन समेत गराउँदै ५० दिने इन्टर्नसिपको समेत ब्यवस्था गरिएको छ । नेपालमै पहिलो पटक विद्यार्थीहरुका लागि धुलिखेल अस्पतालले यस्तो प्रकारको सेवा शुरु गरेको हो । धुलिखेल अस्पतालले यस्तो सेवाका लागि विगत धेरै वर्ष देखि प्रयास गरिरहेको थियो । पूर्वाधार सहितका आधुनिक संरचना निर्माण गरी अलग्गै भवन सहितको ब्यवस्थापन, जनशक्तिको ब्यवस्थापनबाट मात्रै यो सेवा संचालन सम्भव भएको अस्पतालका प्रमुख प्रशासक रमेश माकजुले बताउनु भयो । कार्यक्रममा अस्पतालका प्रधुम्न श्रेष्ठले धुलिखेल अस्पतालले विभिन्न खालका सेवाहरु प्रदान गरिरहेको अवस्थामा यो फरक खालको सेवा शुभारम्भ गरी नागरिकहरुको सेवामा अझै जिम्मेवार बन्दै गएको बताउनु भयो । कार्यक्रममा डा. जिनेश आचार्य, डा. पकंज कुमार सिं लगायतले मेडिको लिगल सेन्टरका बारेमा बताउनु भएको थियो ।