2020 January 18/ 02:38: 30pm

धुलिखेल/भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धुलिखेल नगरपालिकाले विभिन्न क्षेत्रमा गरिरहेको तयारी अनुरुप शनिबार मैत्रीपूर्ण पार्कको शिल्यान्यास गरेको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच पार्क निर्माण कार्यको शिलन्यान्स गर्नु भएको थियो । 
अष्ट्रेलियामा रहेका नेपालीहरु र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा उक्त पार्क निर्माण गर्न लागिएको हो । गैर नेपाली आवासीय अष्ट्रेलिया र धुलिखेल नगरपालिकाको १० लाख लगानीमा धुलिखेल नगरपालिका वडा नम्वर ८ अरनिको राजमार्ग ३१ किलोमा उक्त पार्क निर्माण हुन लागेको हो । पार्कमा विश्रामस्थल लगायतका अन्य संरचनाहरु निर्माण हुनेछन् । सोहि अवसरमा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका भित्र धुलिखेल नगर क्षेत्र भित्र पर्ने अरनिको र विपी राजमार्गमा १० वटा पार्क प्रतिक्षालय, शौचालय सहितको निर्माण हुँदैछ । १२ वटै वडामा पर्यटकीय पार्कहरु निर्माण भईरहेका छन् । पर्यटक सूचना बोर्ड, नियमित सरसफाई, पर्यटकहरुलाई स्वागत, कोसेली घरलाई अझै समृद्ध बनाउने, साहित्यकुञ्ज सहितका पार्क, मनोरेल, जीपलाईन जस्ता महत्वपूर्ण कार्य भईरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । इको ट्रेल, धुलिखेलमा निर्माण भएका र हुँदै गरेका होटलहरुमा आउने पर्यटकहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरुका लागि डेड करोड रकम विनियोजन गरिएको छ भने पूर्वाधार निर्माणका लागि ५÷६ करोड रकम विनियोजन भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । 
‘नगरपालिका एक्सन प्लान सहितको जिम्मेवारी बाँडफाँड गरेर नेपाल भ्रमण वर्ष मनाउने गरी कार्यक्रम र पूर्वाधार निर्माण गरिरहेका छौं’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रत्येक महिना ठुला–ठुला कार्यक्रम हुनेछन् भने हप्ताको तीन दिन शुक्रबार, शनिबार र आईतबार साँझ स्थानीय संस्कृति सहितको सांस्कृतिक कार्यक्रमका साथ फुड फेस्टिबल आयोजना हुनेछ ।’