2020 January 18/ 02:25: 40pm

बनेपा/बनेपा नगरपालिकाले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गरी ब्यवसायिक कृषिलाई प्रबद्र्धन गर्ने उद्देश्यले नीति तथा कार्यक्रम र बजेट तयार गरी कार्यान्वयन शुरु गरिएको नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । 
नगरपालिकाले विभिन्न साझेदार निकायसँगको सहकार्यमा कृषि क्षेत्रलाई अगाडि बढाईरहेको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । नगरपालिकाले नालामा रहेको महेश्वरी कृषि सहकारी संस्था मार्फत बनेपा नगरपालिका वडा नम्वर ३ र ४ का कृषकहरुका लागि गोठ सुधार, विउबिजन वितरण, तरकारी बजार स्थापना, मूल्य सूचीको ब्यवस्थापनका लागि सहयोग गरेको उहाँले बताउनु भयो । महेश्वरी कृषि सहकारी संस्था लिमिटेडको १० आंै बार्षिक साधारण सभाको अवसरमा बोल्दै उपप्रमुख सापकोटा दाहालले नगरपालिकाले उक्त संस्थाका लागि १० लाख रुपैयाँ तरकारी बजार ब्यवस्थापनका लागि उपलब्ध गराएको बताउनु भयो । नमुना कार्यक्रम अन्र्तगत १० वटा गोठलाई नमुना रुपमा सुधारको कार्यक्रम गरिएकोे छ । उक्त कार्यक्रममा २० हजार अनुदान र २० हजार कृषकहरुले लगानी गरी पशुहरुको टाट्नो, भकारो, मुत्र ब्यवस्थापनमा खर्च भएको छ । १ रोपनी जमिन गोठकै छेउमा भएका कृषकहरुले उक्त कार्यक्रम संचालन गरेका छन् ।  जम्मा भएको मुत्रमा पानी मिसावट गरी खेतिपातीमा प्रयोग गरिनेछ । त्यस्तै १० वटा समुह मार्फत २ सय ४० जना कृृषकहरुलाई उन्नत जातका विउविजन वितरण गरिएको छ । युवाहरुका लागि कृषिमा आकर्षण गर्न उक्त कार्यक्रम प्रभावकारी रहेको उपप्रमुख दाहालले बताउनु भयो । तरकारी तथा फलफूल मुल्य श्रृंखला कार्यक्रम मार्फत कृषकहरुलाई उक्त सहयोग उपलब्ध गराईएको हो । नगरपालिकालाई प्राप्त २२ लाख बजेटबाट उक्त कार्यक्रम संचालन गरिएको हो । संस्थाका अध्यक्ष श्याम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरकारी तथा फलफुल मुल्य श्रृंखलाका प्रमुख चिरञ्जीवी अधिकारी, कार्यक्रम संयोजक राज अधिकारी, वडा अध्यक्षहरु केपी दाहाल, श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पशु विकास विज्ञ मणिप्रसाद सापकोटा, पशुपंक्षी विकास शाखाका मुकुन्द केसी, जिल्ला सहकारी संघका सदस्य रेशम नेपाली, डाईनामिक सहकारीका उपाध्यक्ष पुरुषोतम बजगाई पञ्चशील साकोसका सचिव शिवराम सिग्देल लगायतले मन्तब्य राख्नु भएको थियो । संस्थाको आर्थिक वर्षको अन्त्यमा १६ लाख ८५ हजार ९ सय शेयर पुँजी रहेको छ भने ५२ लाख ३४ हजार ७ सय १५ बचत, ४५ लाख २७ हजार ६ सय ३९ कर्जा लगानी रहेकोे छ । 
कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपालप्रसाद अधिकारी, सचिव लक्ष्मण दाहाल, कोषाध्यक्ष नविन श्रेष्ठ, लेखा समिति संयोजक श्रीराम अधिकारी लगायतले संस्थाका बारेमा मन्तब्य राख्नु भएको थियो । साधारण सभामा जेष्ठ नागरिक, उत्कृष्ट शेयर सदस्य, बचतकर्ता, ऋणी, उत्कृष्ट बाल बचत, कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष श्याम सापकोटाले बताउनु भयो । सभामा १३ लाख रुपैया बराबरको शेयर खरिद गरेका छन् ।