2024 April 27/ 05:53: 16am

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५/०७६ को एक वर्षमा विपद्मा परी ७ जनाले ज्यान गुमाएका छन् भने विपद्मै वेपत्ता भएका ४ जना अझै फेला परेका छैनन् । ज्यान सम्वन्धी अभियोगमा दर्ता भएका मुद्दाहरुमा १ सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।
    स्थानीय सरकारहरुले विपद्का बारेमा आफू खुशी बनाउने गरेको तथ्याङ्क प्रहरी प्रतिवेदन र अनुसन्धानमा आधारित छैन । प्रहरीले तयार गरेको तथ्याङ्कमा ब्यक्ति, पशु चौपायाँको मृत्यु, घाईते तथा सम्पत्तिको क्षतिको विवरण एकिन गरिएको छ । २०७५ साउन १ देखि २०७६ असार मसान्तसम्म भएको विभिन्न खालका विपद्मा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । क्षतिका कारण परिवार नै विस्थापित र पीडित बन्नु परेको छ । प्रहरीले आगलागी, पहिरो, अविरल वर्षा, डुबान, हावाहुरी, चट्याङ्ग, करेन्ट र बगाईका घटनालाई विपद् मानेको छ । २०७५/०७६ को विपद्मा परी ७ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै वेपत्ता भएका छन् । ६ जना घाईते भएका छन् । चौपायाँ ४६ वटाको मृत्यु भएको छ । ६९ वटा कच्ची घरमा क्षति पुगेको छ । ३ सय ५१ घर पीडित भएका छन् । ८ करोड ६३ लाख ८४ हजार बराबरको सम्पती क्षति भएको छ ।
    विपद् मध्ये आगलागीबाट ९ वटा चौपायाँको मृत्यु भएको छ भने कच्ची घर २४, अन्य १, गोठ ३, सार्वजनिक वन ४ हेक्टर सामुदायिक वन क्षति, पीडित परिवार १ सय ९९ समेत गरी २ करोड ९५ लाख ८४ हजार रुपैयाँ क्षति पुगेको छ । पहिरोबाट मृत्यु हुनेको संख्या ४ रहेको छ भने ५ जना घाईते भएका छन् । चौपायाँ ३१ को मृत्यु, ६ घाईते, ४२ वटा घर टहरा क्षति, ट्रस १ क्षति, २ गोठ क्षति, जिल्ला प्रहरी कार्यालय काभ्रेको पर्खाल ६० मिटर, प्रहरी चौकी श्यामपाटीको पर्खाल, प्रहरी चौकी ढुंखर्कको कम्पाउण्ड, पक्की पुल, स्कुलको पर्खाल भत्किएको छ । पहिरोबाट १ सय घर पीडित भएका छन् भने १ करोड ७९ लाख १५ हजार रुपैयाँ क्षति भएको छ । अविरल वर्षात्का कारण १ जना घाईते भएका छन् भने ४ वटा पर्खाल भत्किएका छन् । १६ परिवार पीडित भएका छन् ३ करोड ६२ लाख क्षति भएको छ । हावाहुरीका कारण १ वटा घर क्षति भएको छ भने ७ परिवार पीडित भएका छन् । १ लाख ८५ हजार क्षति भएको छ । चट्याङ्गबाट २ जना ब्यक्तिको मृत्यु भएको छ भने ५ वटा चौपायाँको मृत्यु भएको छ । २ वटा घर क्षति हुँदा २४ परिवार पीडित बनेका छन् । २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी तथ्याङ्क छ । करेन्ट लागी १ चौपायाँको मृत्यु भएको छ । बगाएर १ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

एक सयको हत्या
    जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा अपराध र आत्महत्याको संख्या घट्दै गएको देखिएको छ  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार तीन वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ को एक वर्ष अपराध र आत्महत्या दुवै घटेको छ ।
    आर्थिक वर्ष २०७३/०७४ मा अपराधका ५ सय २१ घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा अपराधको संख्या बढेर ६ सय ४२ पुगेको थियो । उक्त संख्या आर्थिक वर्ष २०७५/०७६ मा घटेर ५ सय ६० मा आएको छ । आत्महत्या गर्नेहरुको संख्यामा पनि कमी आएको छ । निरन्तरको प्रहरी सचेतना तथा दबाबमूलक कार्यक्रमका कारण पनि अपराध र आत्महत्या घटेको हुन सक्ने प्रहरी विश्लेषण छ । प्रहरीले समुदायसँग प्रहरी कार्यक्रम विद्यालय विद्यालयमा, टोल टोलमा पु¥याई कार्यान्वयन गरिरहेको छ । आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३७ जनाले आत्महत्या गरे भने २०७५/०७६ मा १०४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुको संख्या कम भएको छ ।
    ज्यान सम्वन्धी अपराध बढेको छ । २०७३/०७४ मा ७६ जनाले ज्यान गुमाएका छन् भने २०७४/०७५ मा ९१ जनाको हत्या भएको छ । त्यस्तै २०७५/०७६ मा १ सय जनाको हत्या भएको भन्दै ज्यान सम्वन्धी मुद्दा दर्ता भएको छ । त्यस्तै चोरी २२, संगठित अपराध ४०, सामाजिक अपराध १ सय ६२ वटा दर्ता भएका छन् । अघिल्लो वर्ष सामाजिक अपराध २ सय ३० वटा दर्ता भएका थिए । स्थानीय तहमा न्यायिक समितिले विवाद मिलाउन थालेपछि यस्ता मुद्दाहरुमा कमी आएको छ । महिला तथा बालबालिका सम्वन्धी ६९, सवारी सम्वन्धी ६३ वटा र विविध १० वटा मुद्दा दर्ता भएका छन् । उमेरका आधारमा २० देखि ३० वर्ष उमेर समुहका १ सय ८२ जना अपराधमा संलग्न भएका छन् भने ३० देखि ४० उमेर समुहका १ सय ३२ जना छन् । ४० देखि ५० उमेर सम्मका १ सय २१ जना छन् ।