2019 October 17/ 01:51: 53am

    बनेपा/सरकारले गतिविधि माथि प्रतिवन्ध लगाएको नेकपा माओवादी विप्लव समुह संगठित र मजवुत हुँदै गएको छ । प्रहरीले देखाएको शुरुको सक्रियता मत्थर भए पछि प्रतिवन्धित संगठन संगठित र मजबुत भएको हो । 
    सोमबार आयोजना गरेको बन्द सफल बनाउने अभियानमा रहेको विप्लव समुहले देशका विभिन्न स्थानमा विभिन्न प्रकृतिका शंकास्पद बस्तुहरु राख्यो । बम बनाउँदा बनाउँदै विप्लब समुहका चारजना कार्यकर्ताले ज्यान गुमाउनु प¥यो भने केहि सर्वसाधारण घाईते भएका छन् । केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आईतबार साँझ मसाल जुलुस प्रर्दशनको तयारीमा रहेका केहि नेताहरुलाई राजधानीमा पक्राउ गरिएको छ भने बनेपामा पनि विप्लब समुहले मसाल प्रर्दशन गरेको छ । बनेपाको तरकारी बजार भित्रबाट अरनिको राजमार्ग हुँदै चारदोबाटो छेउमा पुगी मसाल प्रर्दशन गरिएको थियो । बन्द सफल बनाउन गरिएको उक्त प्रर्दशन पछि जिल्लामा शैक्षिक संस्था पूर्ण रुपमा ठप्प रहे भने लामो दुरीका सवारी साधन चल्न सकेनन् । सोमबार विहानको समयमा विभिन्न स्थानमा थरी थरीका बस्तुहरु पड्काई सर्वसाधारणलाई त्रसित बनाईएको थियो । धनेश्वरको पुल नजिकै रहेको फोहोर थुपारिरहेको स्थानमा कुकर पड्काईएको छ भने पाँचखालमा पनि पड्काईएको छ । जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तुहरु राखेर जनजीवन त्रसित बनाईएको छ । 
    नेकपा ‘विप्लव’ माओवादीका स्थायी समिति सदस्य एवं मध्यक्षेत्रिय कमाण्डर हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका नेता कार्यकर्तालाई चार मुद्दामा गरिएको अनुसन्धानमा केन्द्रीय सदस्य रहेका रुपन्देही सैनामैना घर भएका वसन्त श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । नेतृ उमा भुजेलका श्रीमान समेत रहेका बसन्त अदालतको आदेश पछि रिहा भएका थिए । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी पुनः अनुसन्धान शुरु गरेको छ । काभ्रेमा २०७५ बैशाख १ गते नमोबुद्ध नगरपालिकामा रहेको नेपाली कांग्रेसका नेता कुन्साङ्ग लामाका क्रसरमा आगजनी गरेका थिए । सोहि अभियोगमा पटक पटक विभिन्न तहका नेताहरु पक्राउ पर्दै छुट्दै गरेका छन् । प्रहरीका अनुसार ओलीसहितका नेताहरूलाई संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान थालिएको थियो । बसन्त बाहेक सबै नेताहरुलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राखी थप अनुसन्धान गर्न आदेश दिएको छ । मुद्दा चलाइएकाहरूमा केन्द्रीय सदस्य रहेका रुपन्देहीका वसन्त श्रेष्ठ, सुर्खेत घर भई रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, बाराका देवराज घिमिरे, नुवाकोटका सन्दीप कार्की, रुकुमका लोकेन्द्र खड्का र चालक धर्मराज राजबाहक छन् । त्यतिबेला बा १७ च ४८९३ नम्बरको स्कर्पियोका चालक राजबाहकलाई पनि प्रहरीले मुद्दा चलाएको थियो । विप्लव नेता कार्यकर्ताले राजबाहकले चलाउँदै आएको स्कर्पियो भाडामा लिएका थिए । ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चलाईएको थियो । प्रहरीका अनुसार ओलीसँगै पक्राउ परेकाहरु बम बिस्फोट घटनामा संलग्न छन् ।
    नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । बिस्फोटमा ललितपुर ४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए । मुलुकी अपराध संहिता अनुसार राज्य विरुद्धको अपराधमा २५ वर्षसम्म सजाँय हुने व्यवस्था छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद (२५) वर्ष सजाय हुने व्यवस्था छ । यस्तै, बम बिस्फोटमा मुद्दामा पाँचदेखि दस वर्ष सजाँय हुने व्यवस्था छ । संगठित अपराध मुद्दामा तीनदेखि पाँच वर्ष सजाय हुने व्यवस्था छ । संगठित अपराधमा मुद्दा चलाउँदा प्रहरीले ६० दिनसम्म अभियोगीलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ । यस अघि पक्राउ परेका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाइएको थियो । प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका ४ बोरनबेसीबाट चैत्र ९ गते विप्लव माओवादीमा तेस्रो वरियताका नेता ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
    पक्राउ परेकाहरुबाट प्रहरीले चेकजाँच गर्दा स्कर्पियोमा सवारमध्ये सुदर्शनको साथमा जापानिज गोली लोड गरिएको पेस्तोल एक थान, त्यसको म्यागजिन र २१ राउन्ड गोली फेला परेको छ । स्कर्पियोमा बम बिस्फोटमा प्रयोग हुने जिलेटिन पाँच थान, डेटोनेटर पाँच थान फेला परेको थियो । ओलीले आफू विप्लव माओवादीको प्रवक्ता बताएका थिए । अहिले उनि जेलमा परेपछि जिम्मेवारी हेरफेर भएको छ । 

संगठन तिब्र
    विप्लब समुहले नेता कार्यकर्ता पक्राउ परे पनि भित्रभित्रै संगठन बनाउने अभियान तिब्र बनाएको छ । चन्दा र संगठन सँगसँगै लगिएको छ । जिल्ला संगठन अन्र्तगत रहेर विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु निर्माण भएका छन् भने दलित, महिला, जनजाति, तामाङ मोर्चाहरु पनि कृयाशिल बनाईएको छ । प्रशासन गतिविधि शुन्य भएको भ्रममा छ । राष्ट्रिय अनुसन्धानको टोलीले समेत विप्लवका गतिविधिहरुलाई नियाल्न सकिरहेको छैन ।