2019 October 17/ 02:16: 35am

    बेथान्चोक/अन्तिम पटक शुरु भएको भुकम्प प्रभावितहरुको लाभग्राहि सूचीमा समावेश हुन गैह्र पीडितहरुले दबाब दिएका छन् । एकाघरका श्रीमान श्रीमती, छोरा छोरी सबैले लाभग्राही सूचीमा नामावली दर्ता गरी अनुदान लिईसकेका छन् । 
    ‘कसैले बास्तविक पीडित हुँदा पनि अनुदान पाउन सकेन, कतै एकाघरका अधिकांश ब्यक्तिहरु लाभग्राहीमा परे’–बेथान्चोक गाउँपालिका वडा नम्वर १ का अध्यक्ष सोमनाथ घिमिरेले बताए–‘जोखिम बस्ति भएका पीडितहरु र बास्तविक पीडितहरुले पटक पटक अनुदानका लागि फारम भर्दा समेत लाभग्राहि हुन सकेनन् ।’ नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बेथान्चोक गाउँपालिकामा भुकम्प पीडितहरुको समस्याका बारेमा सरोकारवालासँग अन्र्तक्रिया गरेको छ । अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका सामाजिक विकास विज्ञ विदुर तिमल्सिनाले सरोकारवालाहरुले उठाएका जिज्ञासाका विषयमा जवाफ दिएका थिए । नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, नेकपाका नेता वेदप्रसाद तिमल्सिना, मर्दन सिं तामाङ, नेपाली कांग्रेसका सभापति कृष्णबहादुर पाख्रिन, वडा अध्यक्षहरु सोमनाथ घिमिरे, भगवान घिमीरे, दिलबहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ खचेन्जी लामा र विष्णु लामाले जनताले भुकम्पको लाभग्राहि हुन भोगिरहेका समस्या र लाभग्राहिका बारेमा भएका गुनासा राखेका थिए । प्राधिकरणले अन्तिम पटक बास्तविक लाभग्राहिहरुको सूची संकलन गरिरहेको छ । अधिकांश भुकम्प पीडितहरुले आफु बास्तविक हुँदा अनुदान नपाएको तर सँगै घर हुने जसको केहि भएको छैन उसले पाएको भन्दै गुनासो गरेका थिए । वडा अध्यक्षहरुले १० वर्ष पछि संकलन गर्दा पनि भुकम्प पीडितहरुको संख्या नघट्ने बरु बढ्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नीति नै गलत भएको बताएका थिए । 
    छुटेका बास्तविक भुकम्प पीडितहरुका लागि अन्तिम पटक गरिएको सर्बेक्षणका लागि भर्खरै नागरिकता बनाएर नाम दर्ता गराउने क्रम शुरु भएको छ ।  ‘एकाघरका बाबु, आमा, छोरा छोरी र बुहारी समेतको नाम दर्ता भएको छ’– वडा अध्यक्ष रेशमप्रसाद चौलागाईले भने । भुकम्प गएको चार वर्ष लाग्दा समेत नीजि आवास निर्माण सम्पन्न नभए पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम पटक सर्भेक्षण शुरु गरे पछि भुकम्प पीडितहरुले परिवारका सदस्यहरु सबैको नाम दर्ता गराउन थालेका हुन् । घर निर्माण गरेका पीडितहरुले भने पुरानो घरमा आफु बस्ने र नयाँ घरमा बस्तुभाउ बाँध्ने र गोठका रुपमा प्रयोग गर्ने गरेका छन् । ‘छोरा बुहारी कामको सिलसिलामा काठमाडौ बसेकाले किन खाली राख्नु भन्ने उदेश्यले घरलाई गोठका रुपमा प्रयोग गरेको हुँ’–चौरीदेउराली ५ का कृष्णप्रसाद गौतमले बताए । बास्तविक भुकम्प पीडितहरु प्रत्येक वडामा २५÷३० जना रहेको भए पनि गुनासो फाराम भर्दा २ सय भन्दा धेरै भएको चौरीदेउराली गाउँपालिका उपाध्यक्ष तारादेवी चौलागाईले बताईन् । वडा नम्वर ६ का अध्यक्ष रेशम चौलागाईले वडा कार्यालयमा नयाँ नागरिकता बनाएरै भए पनि एकाघरकै ५ जना भन्दा धेरैले भुकम्पको अनुदान लिएको बताए । 
    ‘अहिले ४ सय भन्दा धेरैले फाराम भर्न अनुरोध गरिरहेका छन्’– वडा अध्यक्ष चौलागाईले भने –‘फाराम भर्न समस्या छ, नभरी दिँदा जनप्रतिनिधि माथी जनताको भरोसा टुट्दैछ ।’ मापदण्ड भित्र नपरेका ब्यक्तिहरुले अनुदान लिएका कारण बास्तविक पीडित छुटेको उपाध्यक्ष तारादेवी चौलागाईले बताईन् । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष राजकुमार गौतमले ६ सय घर धुरी भएकोमा १२ सय भन्दा धेरैले अनुदान लिईसक्दा पनि अझै २ सय भन्दा धेरैको फाराम भर्न पर्ने अवस्था सिर्जना भएको बताए । वडा अध्यक्ष विरबल लामाल पटक पटक गुनासो गर्दा पनि पीडितहरुका गुनासालाई सम्बोधन गर्ने गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले काम नगरेको बताए । स्थानीयहरुले नागरिकका गुनासा सम्बोधन गर्न र पीडितहरुलाई झनै पीडित नबनाउन सहभागि भकुम्प पीडितहरुले आग्रह गरेका थिए । अनुदानको किस्ता रकम ढिलाई भएकाले त्यसका बारेमा बुझिदिन, किस्ताका लागि बुझाईएका फाईल नहराउन र कागजातकै कारण रकम निकासा ढिलाई नगर्न पीडितहरुले अनुरोध गरे । चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ कात्तिकेदउरालीमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागि भुकम्प पीडितहरुले सर्भेक्षण गर्दा पुर्वाग्रहि हिसावले नाम छुटाएको आरोप लगाए । तेश्रो पटक गुनासो सुनुवाईको फाराम भर्दा समेत लाभग्राहि सूचीमा नाम नपरेको भन्दै अन्तिम पटकको गुनासो भर्दा लाभग्राहि सूचीमा नछुटाउन साविक कात्तिकेदउराली गाउँ विकास समितिका पुर्व अध्यक्ष समेत रहेको नन्दिकेशर गौतमले अनुरोध गरे । उनका तीनवटा घर नै भुकम्पका कारण बस्न अयोग्य छन् । तर पनि लाभग्राहि सूचिमा समावेश हुन सक्नुु भएको छैन ।
     नागरिकका गुनासाका बारेमा सम्बोधन गर्दै जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख लोकनाथ रेग्मिले भुकम्प पीडितहरुको मापदण्ड भित्र परेका कोहि पनि भुकम्प पीडित अन्तिम पटककको सर्भेक्षणमा नछुट्ने बताए । अन्यत्र घर भएर पनि अनुदान लिने ब्यक्तिहरुलाई तत्काल रकम फिर्ता गर्न र अरुले लिएकै आधारमा पुनः फाराम नभर्न रेग्मिले सर्वसाधारणलाई अनुरोध गरे । कार्यक्रममा सामाजिक विकास विज्ञ विदुर तिमल्सिनाले भुकम्प पीडितहरुले गलत विवरण नदिन अनुरोध गर्दै रेट्रोफिटिङ्गमा ध्यान दिन, पुराना चर्किएका घरहरुमा नबस्न, नयाँ घरहरुको प्रयोग गर्न अनुरोध गरे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण काभ्रेको सहयोगमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भुकम्प पीडित र जनप्रतिनिधिहरुले तत्काल समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए । 
    कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकका हक अधिकारको वकालत गर्न र पीडितहरुको पीडा सरोकारवाला निकाय समक्ष पु¥याउन महासंघले जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सुनुवाई र अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।