2019 June 27/ 04:22: 11pm

    धुलिखेल/परिवार नै मिलेर बुहारीको हत्या गरिएको अभियोगमा पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 
    मण्डनदेउपुर नगरपालिका वडा नं.४ का मृतकका दाजु सरिता दुलालका दाजु ३८ बर्षीय कृष्णप्रसाद दाहालले किटानी जाहेरी दिएका थिए । मण्डनदेउपुर नगरपालिका वडा न.६ बस्ने पिताम्बर दुलालको छोरा २५ बर्षीय सुदिप दुलाल, गंगा प्रसादका छोरा ६३ बर्षिय पिताम्बर दुलाल, पिताम्बर दुलालको श्रीमती ६५ बर्षीया रोमकुमारी दुलाल, पिताम्बर दुलालको छोरा ३६ बर्षिया केशबप्रसाद दुलाल, केशबप्रसाद दुलालको श्रीमती ३५ बर्षीया संगिता दंगाल (दुलाल) सहितलाई ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) अभियोगमा मुद्दा दर्ता गरिएको थियो । यहाँ किटानी जाहेरी तथा आरोपितहरुको बयान प्रस्तुत गरिएको छ ।  

के थियो दाजु कृष्णप्रसाद दाहालले दिएको जाहेरीमा ?  
    २०७२ बैशाख ९ गते प्रतिवादी सुदिप दुलालसँग सामाजिक परम्परा अनुसार मागी विवाह भई सामान्य जीवन विताई रहेको अवस्था भए पनि विवाह भएको केही समय देखि नै बहिनीलाई प्रतिवादीहरुले पटक पटक शारीरिक तथा मानसिक यातना दिनुका साथै धम्क्याउने कुटपिट गर्ने भए पनि उक्त व्यवहारमा विस्तारै सुधार हुँदै आउला भनि चित्त बुझाउदै आएका थियौ । वहिनी सरिताले पनि जसोतसो आफ्नो घर गरी आएकी थिईन् । २०७६ बैशाख १३ गते दिनको १२ वजे मेरो बहिनीको घर गाउँलेले मेरो मोबाइलमा फोन गरी बहिनीको मृत्यु भएको जानकारी दिनुभयो । मेरो जेठान नारायण प्रसाद ढकाल र भाइ हिरामणी दाहाल सहित वहिनीको घर (घटनास्थल) पुग्दा त्यहा गाउँले, पुलिस र मृतकका श्रीमान वाहेक अन्य प्रतिवादीहरु घटनास्थलमा नै थिए । घटनास्थल प्रकृति र बहिनीको मृत शरीर हेर्दा अस्वभाविक अवस्थाको थियो । प्रतिवादीहरुले हामीलाई घटनाको सूचनासम्म दिनु भएन भने हामी त्यहाँ पुग्दा हामीसँगै कुराकानी तथा छलफल गर्न समेत चाहनु भएन । हामीले घटनाको विषयमा बुझ्न खोज्दा मृतकका जेठाजु केशव दुलालले हामीले प्रकृया पु¥याएर काम गरेका छौ तिमीहरुलाई के चासो प¥यो, सकेको गर भनि सबै गाउँले तथा प्रहरीका विचमा उल्टै हामीलाई धम्कीपूर्ण जवाफ दिए पछि मृत शरीर, घटनास्थल घरको अवस्था समेत हेर्दा बहिनीको घाँटीमा निलो डाम देखिएको थियो । वहिनीको लास भुईमा विना खोलको सिरक माथि लमतन्न हुने गरी सुताएको अवस्थामा थियो । अर्कोतर्फ घरको घटनास्थल अवस्था हेर्दा बहिनीको लास भएको कोठामा तन्ना नहालेको अवस्थामा बहिनीको लास थियो । घरको भान्सामा आधा खाएको अवस्थामा दुईवटा प्लेट र बहिनी सुत्ने कोठामा टि.भी. झरेको अन्य सामान र लत्ता कपडाहरु असरल्ल रुपमा छरिएर रहेको अवस्थामा थियो । घटनास्थित वुझ्दा निज प्रतिवादीहरुले मेरी वहिनीलाई योजनाबद्ध तरिकाबाट कर्तव्य गरी मारेका हुनाले प्रतिवादीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्वन्धी कसुरको दफा १७७ बमोजिम कारवाही गरी पाउँ । 
के थियो घटनास्थलको अवस्था  ? 
    मण्डनदेउपुर नगरपालिका वडा नं. ६ स्थित महादेव पोखरी भन्ने स्थानको सुदिप दुलालको २ तल्ले जस्ताको छानो भएको पुर्व मोहडा भएको कच्ची घरको माथिल्लो तल्लाको उत्तर तर्फको ढोकाबाट भुईमा म्याट बिच्छाई सो म्याट माथि रातो बुट्टा भएको डस्ना बिच्छाएको सोही डस्ना माथि मृतक सरिता दाहाल दुलालको मृत लाश पश्चिम टाँउको पूर्व खुट्टा भई उत्तानो अबस्थामा दुबै हात कम्मरमा सटी रातो सुरुवाल र रातो बुट्टे कुर्ता बाहिर रातो कोठा बुट्टा भएको चोली छातीमा निलो रङ्गको ब्रा, नाकको बाँया तर्फ नथी दुबै कानमा रिङ्ग र गलामा सिक्री लगाई मृत अबस्थामा रहेको थियो । मृतक लाश रहेको डस्ना मुनी छेउको खुट्टे खाटमा कालो रङ्गको मोबाईल थान १ गरी २ वटा मोबाईल रहेको उक्त मोबाईल डोरीमा लगाएको गोली आकारको धातु चुरोटको बट्टा समेत घटनास्थलबाट प्रहरीले बरामद गरेको थियो । सुदिप दुलालको भान्सा कोठाको ढोका माथी गाह्रोको च्यापमा गुलेलीको रबर कालो, रातो रंगको ३ वटा गुलेलीबाट खोली वाँसको दुईवटा गुलेलीमा प्रयोग हुने टुक्रामा वेरिएको अवस्थामा फेला परेको थियो । 
के भने पक्राउ परेकाहरुले ? 

सुदिप दुलाल, श्रीमान
    म १६/१७ बर्षको उमेर हुँदा देखि नै साथी भाईको संगतमा लागू औषध गाँजा सेवन गर्दै आएको हुँदा प्रायःजसो घरमा नबस्ने बाहिर हिड्ने गरेको थिएँ । ४ बर्ष जति सह–चालक काम गरी कमाई खाई आएकोमा मेरो घर परिवारमा समेत मैले गाँजा खाई हिड्ने कुरा थाहा पाई सुध्रिन्छ की भनि सरिता दाहाल दुलाल सँग परिवारले मागी विवाह गरी दिएका थिए । विवाहको २ बर्ष जति श्रीमतीसँग तथा परिवारसँग मिली बसी विवाह गरेको १ बर्ष पछि मेरो दाजु तथा बुबाले छुट्टी भिन्न बस्ने कुराकानी भई मेरो श्रीमतीले समेत छुट्टै बस्न सहमती जनाएकोले छुट्टा भिन्न भई आ–आफ्नो व्यबहार गरी आईरहेकोमा मैले चालक अनुमती पत्र समेत प्राप्त गरी सकेको हुँदा टिपर गाडी चलाई कमाई खाई श्रीमतीको समेत लालनपालन गर्दै आएको थिएँ । मेरो लागुऔषध गाँजा सेवन गर्ने बानी नछुटेकोले मेरो घर परिवारको सल्लाहमा मेरो भिनाजुले मलाई उपचार गर्न लाने भनि मिति २०७५।०६।०८ गते भक्तपुर जिल्ला भातेढिकुर स्थितमा रहेको नयाँ बिहानी सुधार गृहमा लगि राख्नुभयो । म सुधार गृहमा नै बसी मेरो परिवार तथा आफन्तले मलाई २०७५ सालको फाल्गुण महिना तिर सुधार गृहबाट निकाली घरमा ल्याई घरायसी कृषि पेशा गरी श्रीमान श्रीमती मिली बस्दै आएकोमा निज श्रीमती सरिता दाहाल (दुलाल) सधैजसो कोठा भित्र बस्ने म्यासेजमा अन्य केटाहरु सँग कुराकानी गर्ने गर्दै आएकोमा निज श्रीमतीलाई मैले तिमीले कोसँग कुराकानी गरेको म त हाल गाँजा सेवन गर्न समेत छाडी सुध्रिसकेको छु भन्दा समेत केही कुरा नबताई मैले यस्तो किसिमको क्रियाकलाप गरेको छैन भनि ढाकछोप मात्र गरी आईन् । मेरो मनमा कुरा खेल्न थाली निजलाई अब बाँकी नराख्ने बिचार गरें । २०७६ बैशाख १२ गते दिनको समयमा सँगै आफ्नै खेतमा मकै गोड्न गयौं । 
    मकै गोडी बसेको समयमा गाउँको छिमेकी नाताले काका पर्नेले मेरै अगाडी श्रीमतीलाई जिस्काई बोलाउँदा समेत श्रीमतीले आज हुन्न पछि भेट्छु भनि मुस्कुराउदै भने पछि मलाई उ प्रति रिस उठी मन मनैले आज नमारी छाड्दिन भन्ने सोची दिनभरी काम सकी दुबैजना घरमा आई मैले बेलुकाको खाना पकाई निज श्रीमतीले गाई गोठको धन्दा गरिन् । त्यससँगै हामीले खाना खाई अन्दाजी साँढे ९ बजे समयमा दुवैजना सुत्न कोठामा गए पश्चात मलाई श्रीमतीले गर्नुपर्ने व्यबहारमा परिवर्तन भएको महसुस भयो । दिउँसो मेरो अगाडि गरेको व्यवहार सम्झी झन रिस उठ्यो । त्यसलगत्तै मैले एक खिल्ली चुरोट खाई सँगै भुईमा सुतेकोमा बिहानी पख बिउँझी निज श्रीमती प्रति अति नै रिस उठ्यो । २०७६ बैशाख १३ गते बिहानी पख उठी बाहिर निस्की केही समय पछि कोठामा आएँ । श्रीमतीलाई कहाँ गएर आएको यत्रो समयम सम्म भनि सोधनी गर्दा निजले पिसाब गर्न गएको हो त्यही पनि किन के को चासो हो जहाँ गए पनि भनि बादबिवाद हुँदा संगैको अर्को कोठामा सुतेको बुबा, आमा, दाई र भाउजु समेत आए पश्चात यो धेरै बेसी भएकी छ यसलाई नमारी हुन्न यसले हाम्रो घर परिवार र कुल समेतको ईज्जतमा आँच आउने कार्य गर्न सक्छ यसलाई मार्नुपर्छ भनि बुबा, दाई, आमा र भाउजु समेतले मलाई उक्साए पछि श्रीमतीको शरीर छातीमाथि चढी दुबै हातले केही बेर घाँटी थिची बुबा पिताम्बर दुलालले खुट्टा समाती दाई केशब दुलालले दुबै हात समाते पश्चात मैले सोही कोठाको दलिनमा रहेको गुलेली बनाउनको लागि प्रयोग गरीने काठ सहितको रबरलाई खोली उक्त कलेजी रातो रंगको रबरले निज श्रीमतीको घाँटीमा दुई फन्का घाँटीमा बेरी कसी चल्न चट्पटाउन छाडे पश्चात अब मरी भनि घर सल्लाह बमोजिम घरबाट भागें । 
    म भागी घर नजिकै सिन्धुपाल्चोक स्थित ईन्द्रावती खोलाको बगरमा रहेको लामा क्रसर नजिक वनमा गई दिनभर सोही स्थानको जंगलमा एक्लै बसी रहेकै अबस्थामा घर परिवार सबैलाई प्रहरीले पक्राउ गरी लगेको भन्ने कुरो हो–हल्ला गरी सुनी थाहा पाई बेलुकी पख काभ्रेपलाञ्चोक जिल्ला ढाडखोला स्थित तल्लो बजारमा आई चाउचाउ र बिस्कुट किनी खाई मेरो घर नजिक मान्छे नबस्ने दाउरा राखेको गोठमा गई बसें । विहान ५ बजेको समयमा प्रहरीले पक्राउ गर्ने डरले काठमाडौमा लुकी बस्छु भनी गाडीमा गएमा मान्छेले थाहा पाँउछ भेट्छ भन्ने सोची ढाडखोला तर्फबाट नगरकोट जाने सडक नै सडक हिड्दै गई रहेको अबस्थामा बालुवा पाटी स्थितमा पुगेपश्चात पक्राउ गरेको हो ।

केशव दुलाल, जेठाजु
    २०७६ बैशाख १२ गतेका दिन आफ्नै खेतमा मकै गोड्न श्रीमान् श्रीमती गएका थियौ । बेलुका घरमा कतिखेर आए कति खेर खाना खाए एकिन याद भएन । म आफ्नो काममा व्यस्त भएकोले याद भएन । बेलुका आफ्नो खाना खाने कोठा छुट्टै भएकोले खाना खाई भाई बुहारी खाना खाने किचन कोठा संगै सटिएको घरको भुई छिँडीको कोठामा बेलुकीको खाना खाई ८ देखि ९ वजेको समयमा सुत्न भनी कोठामा जाँदा भाई बुहारीको किचन कोठामा बत्ती बली रहेको थियो । कती खेर सुत्न गए याद भएन । राती सुतेको अवस्थामा मैले केही पनि आवाज सुनिन सधैजसो भोलिपल्ट बिहान ७ बजेको समयमा श्रीमतीले कोठामा चिया ल्याई दिए पछि बेडमा बसी चिया खाई उठी हातमुख धोई आफ्नो दैनिकी सकी नजिकै रहेको सिपाघाट बजारमा गई चिया खाई घरमा फर्कदा १० बजेको थियो । श्रीमती र छोरा छोरी खाना खाई आ–आफ्नो काममा गईसकेका रहेछन् म एक्लै खाना खाई बाहिर पिढीमा बसिरहेको अवस्थामा मेरो बुबा पिताम्बर दुलालले भाई बुहारी सुत्ने कोठाको प्यासेजको झ्यालबाट केशब यता आईजत भनि म गई भाई बुहारी सुत्ने कोठाको ढोका खुल्ला थियो बुहारी कोठाभित्र खाट नजिकै विछ्यौना माथि उत्तानो अवस्थामा मृत देखी पुनः बुबालाई सोधनी गर्दा बाहिरबाट चुकुल लगाएको थियो । चुकुल खोली हेर्दा यस्तो अवस्थामा देखेको हुँ भनि बताउनु भए पश्चात छिमेकीलाई मेरो मोबाईलबाट फोन सम्पर्क गरी बोलाएको हुँ । सबै जना आ–आफ्नो काममा हुने भएकोले भाई बुहारीसँग १ हप्ता अगाडी देखि बोलचाल भएको थिएन । बुहारीलाई मार्ने कार्यमा मेरो कुनै संलग्नता छैन । 
पिताम्वर दुलाल, ससुरा 
    मेरो छोरा कहिले काँही गाँजा खाने गर्दै आईरहेको कारणले घर परिवारको सर सल्लाह बमोजिम एकै घरमा भिन्न चुल्हो बनाई छुट्टाछुट्टै खाना खादै आईरहेको र निजहरुको हालसम्म कुनै सन्तानको जायजन्म भएको छैन । बुहारी घरमा कृषि पेशा गर्ने र छोरो टिपर गाडी चलाई हिड्दै आईरहेको थियो । सोहिदिन आफ्नै घरको शौचालय मर्मत गर्न भनि म जेठो छोरा दुई जना स्थानिय काले भन्ने र जुठे सार्कीको छोरा समेत भई सफा गर्ने काम गरी बसेको र कान्छो छोरा बुहारी आफ्नै बारीमा मकै गोड्न भनि गएका थिए । बेलुका सबैजना आ–आफ्नो कोठामा खाना खाई सुतेका थियौं । आफ्नो कोठामा खाना खाने बेलामा श्रीमतीले कान्छो छोरा बुहारी दुबै कहाँ गएका हुन् गाई कराई रहेको छ भनि कुरा गरी खेतमा गएका होलान् भनि खाना खाई सकेपछि घरको आँगनबाट खेतमा हेर्दा नदेखे पछि निजहरु बस्दै आएको तिनवटा कोठाहरु मध्ये हाल मृत अवस्थामा फेला परेको कोठामा सधैभरी चाबी लगाई हिड्ने गर्द थिई । आज किन नलगाएको भनि बाहिरबाट छेस्किन मात्र लगाएको देखि उक्त छेस्किन खोली हेर्दा खाट नजिकै भुईमा उत्तानो अवस्थामा मृत देखेपछि जेठो छोरालाई बोलाई प्रहरीलाई खबर गर्नुपर्छ छोरा पनि छैन भनि बताएको हुँ । निज बुहारीको घाँटी समेतमा थिचेको जस्तो निलडाम भएको हुँदा आफै मृत्यु भएको नभई निज बुहारीलाई श्रीमानले घाँटी थिची निचोरी मारेको हुनुपर्छ तर को कस्को मिलेमतोमा मारेको हो मलाई थाहा छैन । 
गंगा भन्ने रोम कुमारी दुलाल, सासु
    सोहि दिन आफ्नै घरमा खाना पकाउने काम गरी घरमा नै बसिरहेको थिए । कान्छो छोरा कान्छी बुहारी आफ्नै खेतमा मकै गोड्न भनि गएका थिए । बेलुका सबै जना आ–आफ्नो कोठामा खाना खाई सुतेकोमा भोलिपल्ट बिहान ६ बजे उठी दैनिकी नित्यकर्म पुजाआजा चिया नास्ता खाई बारीमा गई बारीबाट घरमा आई खाना बनाई श्रीमान पिताम्बर दुलाल बजारबाट आएपछि खाना आफ्नो भान्सा कोठामा खाना खाने बेलामा मैले कान्छो छोरा बुहारी दुवैजना काहाँ गएका हुन् गाई कराई रहेको छ निजहरुको किचनकोठा पनि छेस्किन मात्र लगाएको छ भनि श्रीमानसँग कुरा गर्दा खेतमा गएका होलान् भनि खाना खाई सके पछि घरको आँगनबाट श्रीमानले खेतमा हेर्दा देखिन भनी घरको चोटामा गई हेर्दा निज छोरा बुहारी सुत्नेकोठामा छेस्किन मात्र लगाएको देखें । कोठाको ढोकाको छेस्किन खोली हेर्दा कोठा भित्र उत्तानो अवस्थामा बुहारीलाई मृत देखेको हो । जेठो छोरा प्रहरीलाई खबर गर्न भनि गयो । आफन्तहरु, छर छिमेकीहरु आए पछि माईती पक्षलाई बोलाई प्रहरी समेत आई हेर्दा बुहारीको घाँटी समेतमा थिचेको जस्तो निलडाम भएको हुँदा आफै मृत्यु भएको नभई निज बुहारीलाई निजकै श्रीमान सुदिप दुलालले घाँटी थिची निचोरी मारेको हुनु पर्छ वा को कस्को मिलेमतोमा मारेको हो एकिन थाहा छैन ।

संगिता दंगाल दुलाल, जेठानी
    सोहि दिन म आफ्नो बिहानको दैनिकी काम सकी आफुले पढाउदै आएको बिद्यालय श्री महादेब प्रा.वि.मा पढाउनको लागि गएँ । साँझ स्कुलबाट घरमा आई आफ्नो खाना खाने किचन कोठा छुट्टै भएकोले बेलुकाको खाना खाई सुत्नको लागि आफ्नो परिवार हालकी मृतक सरिता दाहाल दुलालको किचन भएको घरको कोठामा सुत्न गएको अवस्थासम्म श्रीमान श्रीमती किचन कोठामा खाना खाईरहेको थिए । सो पश्चात म र मेरो परिवार सबै एकै कोठामा सुतेकोमा सो रात केहीको आवाज पनि सुनिएन । कसैले गरेको आवाज पनि सुनिन, भोलिपल्ट बिहान ६.३५ बजेको समयमा आफ्नो कोठाबाट उठी म आफ्नो कोठामा बिहानको खाना पकाउने लगायतको काममा व्यस्त भएँ । सासु ससुरा सधैं बिहान उठ्ने र आ–आफ्नो काममा व्यस्त हुने भएकोले त्यसदिन मैले दुवैलाई देखिनँ । मैले बिहानको खाना छोराछोरीलाई खुवाए पश्चात म एक्लै खाना खाई स्कुलमा गएको हो । स्कुलमा गएको केही बेरमा मेरो श्रीमानको दिदी मेरो आमाजु देवकी लामिछानेले मेरो मोबाईलमा फोन गरी संगिता घरमा के भएको हो भनेर सोध्नुभयो । म घरको चोटामा गई हेर्दा मृतक देउरानी र देवर सुत्ने कोठाको भुईमा डस्ना बिच्छाई सोहि माथि उत्तानो अवस्थामा देवरानी सरिता दाहाल दुलालको मृत लास देखेको हुँ । 
के भन्छ प्रहरी अनुन्धान ? 
    जिल्ला प्रहरी कार्यालय, काभ्रेले घटनास्थल तथा लाशजाँच मुचुल्का, प्रहरी प्रतिवेदन, जाहेरी दरखास्त, खानतलासी तथा वरामदी मुचुल्का, शव परिक्षण प्रतिवेदन, प्रतिवादीहरु सुदिप दुलाल, केशव दुलाल, संगिता दुलाल र पिताम्वर दुलाल र रोम कुमारी दुलालले गरेको बयान संलग्न मृतक सरिता दाहाल (दुलाल) को फोटाहरु लगायतका प्रमाणका आधारमा मण्डन देउपुर नगरपालिका वडा नं.६ स्थित प्रतिवादीहरुको आफ्नै घरमा प्रतिवादीहरु सुदिप दुलाल, पिताम्वर दुलाल, केशव दुलाल, संगिता दुलाल र रोम कुमारी दुलाल समेतको आपसी योजना, सल्लाह, संलग्नता र सहमतिमा मृतक सरिता दाहाल (दुलाल) को हातखुट्टा समाई घाँटी थिची बाँधी कर्तव्य गरी मारेको निश्कर्ष निकालेको छ । पीडितले पाउने क्षतिपूर्ति फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ४८ र अपराध पीडित संरक्षण ऐन,२०७५ वमोजिमको पीडित राहत कोषमा जम्मा हुन मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ वमोजिम माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्वन्धी कसुरमा भएको व्यवस्थामा दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने ((१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्न कुनै काम गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) वमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ ।