2019 May 23/ 06:23: 35am

    धुलिखेल/जिल्ला भित्रका स्थानीयपालिकाहरुको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख एवम् शिक्षा सेवाका कर्मचारीहरुको समन्वय बैठक धुलिखेलमा सम्पन्न भएको छ । 
    बैठकले शिक्षा शाखामा कार्यरत कर्मचारीको पदनामको सम्बन्धमा छलफल हुँदा कार्यपालिकाले छुट्टै पदनाम तोकेभन्दा बाहेकको अवस्थामा समायोजन हुँदा तोकिएको पदनाम उपसचिव र शाखा अधिकृत लेख्ने निर्णय गरेको छ । त्यस्तै शाखाको नाम संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन पूर्व स्वीकृत गरेको दरबन्दी तेरिज र संगठन ढाँचामा तोकिए बमोजिम शिक्षा, युवा तथा खेलकुद शाखा लेख्ने निर्णय गरेको छ । स्थानीय तहको शिक्षक दरबन्दी लगायत विद्यालय र शिक्षकसँग सम्बन्धित अभिलेख इकाइसँग माग गर्ने, रिक्त पदमा शिक्षकको करार नियुक्तिका लागि पदपूर्ति अनुमति स्थानीय तहबाट दिने व्यवस्था मिलाउने, शिक्षकको छोटो अवधिको तालिम स्थानीय तहबाट सञ्चालन गर्ने गरी विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेट विनियोजनमा व्यवस्था गर्न माग गर्ने निर्णय भएको छ । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई संघीय सरकारको जिल्ला तहको संरचनाको रुपमा रहेको र संविधान बमोजिमको स्थानीय सरकारको अधिकार र कर्तब्य अतिक्रमण हुने गरी उक्त इकाईबाट कार्य सम्पादन भइरहेको हुँदा उक्त इकाई खारेज गर्न संघीय सरकारलाई दबाब दिन नगरपालिका संघ र गाउँपालिका महासंघ समक्ष अनुरोध गर्ने निर्णय भएको छ । 
    शिक्षक दरबन्दी मिलानको सन्दर्भमा शिक्षकको व्यवस्थापन स्थानीय तहबाट नै गर्ने र अन्तरपालिका स्तरीय सरुवा दुवै स्थानीय तहको सहमतिमा गर्न सकिने निर्णय गरेको तेमाल गाउँपालिका शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए । शिक्षकहरुले आफ्नो कार्य क्षेत्र बाहेक अन्य निकाय, संघ संस्थामा जाँदा सम्बन्धित स्थानीय तहको पूर्व स्वीकृति लिएर मात्र जाने व्यवस्थाका लागि विद्यालयलाई सूचित गर्ने निर्णय भएको छ । बैठकमा उपसचिव माधव प्रसाद शर्मा, धुलिखेल नगरपालिका, उपसचिव श्याम सिं धामी, बनेपा नगरपालिका, उपसचिव मधुसुदन अधिकारी, पनौती नगरपालिका, उपसचिव दिनानाथ पन्थी, पाँचखाल नगरपालिका, उपसचिव जनार्दन रिजाल, नमोवुद्ध नगरपालिका, शाखा अधिकृत महानदास लामा, चौँरीदेउराली गाउँपालिका, शाखा अधिकृत बुद्धिराज अर्याल, बेथाञ्चोक गाउँपालिका, शाखा अधिकृत रामबहादुर तामाङ, रोशी गाउँपालिका, शाखा अधिकृत उदयप्रसाद कोइराला, पाँचखाल नगरपालिका, शाखा अधिकृत शिवराज त्रिपाठी, बनेपा नगरपालिका, शाखा अधिकृत भोजकुमार ठकुरी, तेमाल गाउँपालिका, स्रोतव्यक्ति महेश्वर जङ्गम, पनौती नगरपालिका, अधिकृत छैठौँ उत्तम कार्की, धुलिखेल नगरपालिका, स्रोतव्यक्ति रेनुकान्त भट्टराई, बनेपा नगरपालिका सामाजिक विकास समिति संयोजक, एवं वडाअध्यक्ष विष्णु धिताल लगायतको सहभागिता रहेको थियो । उपसचिव विजय प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका, काठमाडौं र उपसचिव बौद्धराज निरौला, शंकरापुर नगरपालिका, काठमाडौंको पनि सहभागिता रहेको थियो ।