2019 May 23/ 07:16: 12am

    बनेपा/नेपाल परिवार नियोजन संघले महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुन नदिन र भईसकेका महिलाहरुको पहिचान गरी उपचार गर्न स्वास्थ्य क्याम्पहरु संचालन गरिरहेको छ । संघले पाठेघरको मुखको क्यान्सर सम्वन्धी परिक्षणसँगै संघले बृहत बन्ध्याकरण शिविर संचालन गरेको छ । 
    ‘ग्रामिण भेगमा महिलाहरु निरन्तर काममा ब्यस्त हुने भएकाले स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संस्थासम्म समेत जान नसक्ने अवस्थालाई ध्यान दिदै परिवार नियोजन काभ्रे शाखाले सिन्धुपाल्चोक र रामेछापलाई समेतलाई ध्यान दिदै शिविर संचालन गरिरहेको छ’–नेपाल परिवार नियोजन संघ काभ्रे शाखाका बरिष्ठ शाखा प्रबन्धक रमेश श्रेष्ठले भने–‘महिलाहरुको पाठेघरको मुख क्यान्सर लगायत बन्ध्याकरण शिविरहरु विभिन्न स्थानमा संचालन भईरहेका छन् ।’ जिल्लाको बेथान्चोक गाउँपालिका, सिन्धुपाल्चोक जिल्लाको साँगाचोक लगायतका स्थानमा चैत्रको अन्तिम सातासम्म शिविर सम्पन्न भएका थिए । शिविरमा सहभागिहरुले स्वास्थ्य सेवा घर दैलोमै प्राप्त गरेको भन्दै खुशी ब्यक्त गरे । २०७५ चैत्र २७ गते सिन्धुपाल्चोकको साँगाचोकमा आयोजित शिविरमा १ सय ५९ महिलाहरु सहभागी भएकोमा १ सय ३९ जनाको पाठेघरको मुखको क्यान्सर सम्वन्धी परिक्षण गरिएको बरिष्ठ शाखा प्रवन्धक रमेश श्रेष्ठले बताए । परिक्षण गरिएका मध्ये १० जना महिलाहरुमा क्यान्सर हुन सक्ने भन्दै विशेष निगरानी र नियमित उपचारमा रहन अनुरोध गरिएको छ । 
    साँगाचोकगढी चौतारा नगरपालिकामा आयोजित शिविरमा सहभागी भएका महिलाहरु मध्ये केहिमा अनौठो समस्या देखिएको नेपाल परिवार नियोजन संघ काभ्रेकी स्टाफ नर्स तुलसी मानन्धरले बताईन् । ‘उपचारका लागि आएकी एक महिलाको पाठेघरको मुखमा जिउँदो चिप्लेकिरा भेटिएको थियो’–उनले भनिन्–‘पाठेघरको मुखको क्यान्सर परिक्षण गर्दा महिलाको योनी मार्ग भित्र पाठेघरको मुख नजिकै चिप्लेकिरा भेटियो । कसरी त्यस्तो भयो जानकारी भएन ।’ महिलाहरुले नियमित परिक्षण तथा सरसफाई नगर्दा त्यस्तो समस्या आउने उनले बताईन् । ४५ बर्षिया महिलाको भेनेजेल वाल( योनिमार्ग) परिक्षण गर्दा जिउँदो चिप्लेकिरा फेला परेपछि परिक्षणमा गएको टोली छक्क परेको छ । उनी आफै पनि कसरी त्यस्तो भयो बताउन सक्ने अवस्थामा थिइनन् । कहिलेकाँहि शारिरीक सम्पर्क गर्ने स्थान सुरक्षित नहुँदा त्यस्ता समस्या आउन सक्ने बताईएको छ । केहि जिल्लाहरुमा महिलाहरुको पाठेघर परिक्षण गर्दा परालका त्यान्द्रो, हरियो घाँसका टुक्रा, कपालको गुजुल्टो, कपडाका टुक्राहरु लगायत फोहोर भेटिने गरेको स्टाफ नर्स तुलसी मानन्धरले बताईन् । महिलाहरुले आफ्नो सरसफाईमा ध्यान दिन नसक्दा विभिन्न खालका संक्रमण देखा पर्ने उनले बताईन् । पाठेघर परिक्षणका क्रममा केहि महिलाहरुको दुईवटा पाठेघर फेला पर्ने गरेको छ । 
    बेथान्चोक गाउँपालिकामा २०७५ चैत्र १७ गते आयोजना गरिएको शिविरमा ७० बर्षिया एक महिलाको पाठेघर अड्याउन राखिएको रिङ्ग खसिसकेको फेला परेको थियो । उक्त रिङ्ग फोहोर हुँदा पाठेघरलाई असर पु¥याउँछ । एक पटक राखिएको रिङ्ग ३÷३ महिनामा परिवर्तन गर्नुपर्छ । ११ वर्षसम्म रिङ्ग परिवर्तन नहुँदा उहाँमा समस्या देखिएको मानन्धरले बताईन् । महिलाहरुले नियमित परिक्षण तथा सरसफाई नगर्दा अनेक समस्या देखिने गरेका छन् । अझ ग्रामिण भेगका महिलाहरुमा त्यस्तो समस्या देखिने गरेको उनले बताईन् । नेपाल परिवार नियोजन संघले महिलाहरुको स्वास्थ्यका बारेमा शिविरसँगै सचेतना मुलक कार्यक्रम गर्दै आईरहेको प्रवन्धक श्रेष्ठले बताए । 

के हो पाठेघरको मुखको क्यान्सर ? 
    पाठेघरको मुखको क्यान्सर संसारमा देखा पर्ने क्यान्सर मध्ये ज्यानै लिन सक्ने क्यान्सर रोग हो । लाखौं महिलाहरु प्रत्येक वर्ष विश्वमा पाठेघरको मुखको क्यान्सरबाट प्रभावित छन् । जसमध्ये ५० प्रतिशत महिलाको उक्त समस्याबाट मृत्यु भइरहेको छ । विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द्रा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ । नेपालमा भने यो क्यान्सर पहिलो स्थानमा रहेको छ । विकसित देशहरुमा समयमा नै स्क्रिनिङ गरी क्यान्सर हुनु अगावै त्यसको व्यस्थापन गरिने हुँदा क्यान्सर हुने र उक्त रोगबाट हुने मृत्युदरमा निकै नै कमी आइसकेको छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा अझै पनि जनचेतनाको कमीको कारणले धेरै स्क्रिनिङ विधिको उपलब्धता हुँदा हुँदै पनि पाठेघरको मुखको क्यान्सरको समयमा पत्ता नलाग्दा रोगको निदान हुन नसकी महिलाको मृत्यु हुने गरेको छ । 
    यो क्यान्सर हुनुका धेरै कारण छन् । जसमध्ये मुख्य कारण भनेको भाइरसको संक्रमण हो । सानै उमेरदेखि यौन सम्बन्धमा रहनु, धेरै जनासँग यौन सम्पर्कमा रहनु, धुमपान गर्नु, धेरै पटक गर्भवती हुनु आदि यस क्यान्सर जोखिमका कारक हुन् । पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरुमा अनियमित रुपमा योनीबाट रक्तश्राव हुनु, बढी मात्रामा योनीबाट फोहोर पानी बगिरहनु, महिनावारी रोकिइसकेपछि पनि बीच बीचमा रक्तश्राव हुनु, यौन सम्बन्धमा रहँदा बढी दुख्नु, कम्मर दुख्नु आदि हुन् । अन्य क्यान्सर भन्दा पाठेघरको मुखको क्यान्सर यदि सक्रिय प्रजनन उमेरका (३०–६० वर्ष) हरुले सही समयमा नै सचेत भई जाँच गरेको खण्डमा क्यान्सर हुनु अगावै क्यान्सर हुनसक्ने अवस्थाको पहिचान गर्न सकिन्छ र बेलैमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ । जसले गर्दा क्यान्सर हुने दर घटाउन सकिन्छ । 
    त्यस्तै स्कुल जाने प्रजनन उमेर नभएका बच्चालाई पनि पछि यस क्यान्सरबाट बचाउन खोपको प्रयोग गर्न सकिन्छ । बच्चालाई ९ देखि १३ वर्ष भित्र यौन सम्पर्कमा आउनु अगावै खोप लगाउन विश्व संगठनले सिफारिस गरेको छ । प्रजनन उमेरका महिलालाई क्यान्सर भइसकेको भए तापनि पहिलो चरणमा नै पत्ता लगाउन सकियो भने क्यान्सरको पूरा उपचार गर्न सकिन्छ । स्क्रिनिङ लगायत उपचारका पद्धतिहरु नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुमा चलिरहेका छन् । प्रजनन उमेरका महिलाका लागि कार्यक्रहरुमा भीआइए टेस्ट, साइटोलोजी, एचपीभी टेस्टिङहरु सरकारी स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन् । हालको अवस्थामा राष्ट्रिय स्वास्थ्य कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सरको सही समयमा पहिचान र व्यवस्थापन गर्नको लागि सिंगल भिजिट एप्रोच प्रोग्रामलाई अगाडि राखिएको छ, जुन प्रत्येक सरकारी स्वास्थ्य संस्थाहरुमा सञ्चालन भैरहेको छ । यो एक प्रकारको सामान्य जाँच हो । यस जाँचमा एसिटिक एसिट को प्रयोग गरी कुनै दुखाइ विना नै १ मिनेटमा पाठेघरको मुखको क्यान्सर हुनु अगावैै क्यान्सर हुनसक्ने र नसक्ने अवस्थाको पहिचान र क्यान्सर छ छैन पत्ता लगाउन सकिन्छ । भीआइए जाँच ३०–६० वर्षका यौन सम्पर्कमा रहिरहेका महिलालाई गर्न सकिन्छ । महिनावारी भइरहेको (रगत बगिरहेको), गर्भवती महिला, ६ हप्ता भित्रको सुत्केरी र गर्भपतन भएको २ हप्ताभित्र भीआइए जाँच गर्न सकिंदैन । भीआइए जाँच गरिसकेपछि यदि प्रिक्यान्सरियस लेसन ७५ प्रतिशत भन्दा कम छ र क्यान्सर भइनसकेको तर भविष्यमा हुनसक्ने अवस्था छ भने भीआइए जाँच गरे लगत्तै त्यही समयमा नै चिसोले सेक्ने पद्धतिको पनि प्रयोग गरी उपचार गर्न सकिन्छ र त्यसपछि लगातार स्वास्थ्यकर्मीको सम्पर्कमा रही पाँच वर्षमा फेरि स्क्रिनिङ गर्नुपर्ने हुन्छ र यदि क्यान्सर नै भइसकेको अवस्था भएमा स्टेज अनुसारको व्यवस्थापन गर्नु पर्दछ ।  
    पाठेघरको क्यान्सरको समस्या र मृत्युदर बढिरहेको अवस्थामा क्यान्सरको समयमा नै पहिचान र व्यवस्थापन गरी रोग लाग्ने दर र यसबाट हुने मृत्युदर घटाउन अति आवश्यक छ । समयमै महिलाहरु आफू अग्रसर भई सामान्य जाँच भीआइए मात्र गरेको खण्डमा पनि पाठेघरको मुखको क्यान्सरबाट बँच्न र बचाउन सकिन्छ ।