2025 March 20/ 10:16: 09am

मोतीराम तिमल्सिना
धुलिखेल

    २०८१ असोज ११ र १२ गते काभ्रेपलाञ्चोक जिल्लामा विपत्तिले पु¥याएको क्षतिका बास्तविक पीडितहरुको संख्या टुङ्गयाउन पालिकाहरुलाई सकस परेको छ । लाभग्राहीहरुको नटुङ्गिँदा अस्थायी आवास निर्माणको प्रकृया अनिश्चित भएको छ । 
    विपत्तिमा तत्कालका लागि १५ हजार नगद सहयोग गर्ने सरकारको नीति भए पनि पीडितहरुको संख्या पहिचान नगर्दा प्राप्त गर्नु पर्नेहरुले समेत सहयोग पाउन सकेका छैनन् । कतैकतै सामान्य क्षति भएकाहरुले पनि नगद १५ हजार बुझिसकेका छन् । ‘विपत्तिमा पीडितका लागि उपलब्ध गराउने नगद १५ हजार रुपैयाँ विभिन्न दातृ संस्थाहरु मार्फत सरकारको समन्वयमा उपलब्ध गराउने कार्य भईरहेको छ’–सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले भने–‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको समन्वयमा पीडितहरुको पहिचान सहितको विवरण विपत्त पोर्टलमा समावेश गरे पछि अस्थायी आवासका लागि सहयोग उपलब्ध गराईनेछ ।’ त्यसका लागि स्थानीय वडा हुँदै पालिकाबाट निर्णय सहितको सिफारिस आए पछि जिल्ला विपद् ब्यवस्थापन समितिले गृह मन्त्रालयलाई अस्थायी आवासका लागि रकम माग गर्नेछ । हालसम्म कुनै पालिकाबाट पनि उक्त विवरण उपलब्ध नभएकाले अस्थायी आवासका लागि रकम माग नगरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताए । 
    विपत्तिको पाँच महिना वितिसक्दा समेत तत्काल प्राप्त गर्नुपर्ने सहायता रकम १५ हजार समेत प्राप्त गर्न नसकेको भन्दै पीडितहरुले स्थानीय, प्रदेश र संघ सरकारप्रति रोष प्रकट गरेका छन् । एनजिओहरुले मनलाग्दी तथ्यांकका आधारमा केहिलाई राहत उपलब्ध गराउने गरेका कारण बास्तविक पीडितहरु समावेश हुन नसकेको पनौती १२ रोशीको वीरबहादुर तामाङले बताए । ६ करोड सम्पत्ति सडकमा परिणत हुँदा एक सय रुपैयाँ समेत नगद सहयोग प्राप्त हुन नसकेको भन्दै उनले सरकारका प्रतिनिधिहरु प्रति दुःख ब्यक्त गरे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले पछिल्लो पटक माघ १३ गते विपत्ति भएका पालिकाहरुलाई पत्र लेख्दै अस्थायी आवास निर्माणका लागि तत्कालै लाभग्राहीहरुको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । शाखा अधिकृत बद्रीप्रसाद अर्यालले २०८१ असोज १०–१२ सम्मको बाढीबाट निजी आवास पूर्ण रुपमा क्षतिग्रस्त भई वा आंशिक रुपमा क्षतिग्रस्त भएता पनि बसोबास गर्न नमिल्ने लाभग्राहीहरुको अस्थायी आवास निर्माण गर्नका लागि प्राधिकरणबाट भएका ताकेता अझै कार्यान्वयन नभएको बताए ।
     ‘क्षतिग्रस्त निजी आवासका लाभग्राहीहरुको अस्थायी अवास निर्माणको गति अत्यन्तै सुस्त भएको, जाडोको मौषम चलिरहेको र निकट भविष्यमा हावाहुरी र गर्मीयाम सुरु हुने हुँदा निज अस्थायी आवासका लाभग्राहीहरुले थप कठिनाई भोग्नुपर्ने अवस्था आउन नदिन शीघ्र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ को दफा ३ बमोजिम लाभग्राही कायम गर्ने ब्यवस्था मिलाउन अनुरोध गरिएको शाखा अधिकृत बद्रीप्रसाद अर्यालले बताए । २० वटा जिल्लाका विपत्त प्रभावित पालिकाहरुलाई प्राधिकरणले तत्कालै विवरण उपलब्ध गराउन माग गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा विपत्तिका आधारमा ८२ जनाले ज्यान गुमाए भने ६ जना बेपत्ता छन् । ५१ जना घाईते र अपाङ्ग भए । हालसम्म स्थानीय तहले विपत् पोर्टलमा १ हजार ७ सय ९ जना लाभग्राहीहरुको नाम इन्ट्री भएको छ । ३ हजार ६ सय ७८ लाभग्राहीको पूर्ण क्षति भएको छ । इन्ट्री भएका नमोबुद्ध नगरपालिकाका लाभग्राहीहरुका बारेमा नागरिकहरुले प्रश्न उठाएका छन् । जिल्लामा १३ पालिकामा ६ हजार ५ सय २ जनाको आंशिक क्षति भएको छ ।