2019 June 27/ 04:10: 35am

    बनेपा/राज्यसँग असहमति राख्दै पटक पटक वार्तामा बोलाउँदा समेत अटेर गर्दै विध्वंसात्मक गतिविधिमा सक्रिय रहेको नेकपा माओवादी विप्लव समूहलाई संकट पर्दै गएको छ । प्रहरीले भटाभट नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेपछि उक्त समूह संकटमा परेको हो ।
    दोश्रो बरियताका नेता ‘प्रकाण्ड’ पक्राउ परे लगत्तै उनको डायरीमा फेला परेका गोप्य तथ्यांक तथा योजना निस्तेज पार्न सरकारले विशेष अप्रेसन शुरु गरेको छ । वार्ताको वातावरण बनाउन राज्य विरुद्ध त्यसअघि भएका घटनाहरुमा समेत आँखा चिम्लिएर अनुसन्धान सहज बनाउँदा प्रकाण्ड अदालतबाट रिहा भएका थिए । लगत्तै विप्लव समूह वार्तामा भन्दा बम विस्फोट लगायतका घटनाहरुमा संलग्न भई सर्वसाधारणको ज्यान समेत जान थालेपछि सरकारले पार्टीका ध्वसात्मक गतिविधिहरुलाई नियन्त्रणमा लिन आपराधिक गतिविधिलाई प्रतिवन्ध लगाएको हो । प्रतिवन्ध लगाए पछि पनि विप्लव समूहले स्थानीय स्तरमा चन्दाको आतंक मच्चाएको थियो । उपभोक्ता समिति, शिक्षक, जनप्रतिनिधि तथा अन्य संघ संस्थासँग प्रतिशतका आधारमा चन्दा माग्ने क्रम शुरु भएको थियो । जिल्लाकै खानीखोला गाउँपालिकामा उपभोक्ता समितिका अध्यक्षलाई नियन्त्रणमा लिएर चन्दा दिने शर्तमा छाडिएको थियो ।
    प्रहरीले विप्लव समूहका गतिविधिहरुलाई नियन्त्रणमा लिन विशेष कारवाही शुरु गरेको छ । गृह मन्त्रालयले समेत आईतबार विज्ञप्ती प्रकाशन गरी चन्दा लिने र दिने दुबैलाई कारवाही गर्ने चेतावनी दिएको छ । विप्लव समूहलाई सहयोग गर्ने र चन्दा दिने ब्यक्ति वा संस्था जो कोहिलाई पनि चन्दा नदिन, अन्य खालको सहयोग नगर्ने अपिल गर्दै गरेको प्रमाणित भएमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संसद्को हिउँदे अधिबेशन अन्त्य गर्दै राज्य विरुद्ध लाग्नेहरुलाई सरकारले कारवाही गर्ने बताउँदै विप्लवको हतियार खोस्ने सरकारको निर्णयमा ब्याक गियर नलाग्ने बताएका छन् । शनिबार विहान काभ्रेको खानीखोलाको मिल्चेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली विरुद्ध संगठित, राज्यविरुद्ध, हातहतियार र बम बिस्फोटका मुद्दा दर्ता भएको छ । झण्डै दुई दर्जन नेता तथा कार्यकर्ताहरु उक्त मुद्दामा पक्राउ परी कारवाही शुरु गरिएको छ । मध्यक्षेत्रिय कमाण्डर समेत रहेका ओलीको पक्राउ पछि विप्लव समूह धरासयी बनेको छ ।

विप्लव समूहमा छैनौं
    प्रहरीले नेकपाका नेताहरु विरुद्ध दर्ता गरेको मुद्दामा उल्लेख भएका नेताहरु सागर मिजार, उद्धव मिजार र डिल्लीप्रसाद दुलाल २०७३ जेष्ठ ६ गते देखि नेकपा माआवादी केन्द्रसँग आवद्ध भई नेकपा माओवादी केन्द्रको एकतासँगै नेकपासँग आबद्ध भएको बताएका छन् । सागर नेकपा काभ्रेका प्रस्तावित जिल्ला कमिटीका सदस्य हुन् भने उद्धव प्रदेश नम्वर ३ का वाईसिएलको सदस्य, धुलिखेल नगरपालिकाका पार्टीका ईन्चार्ज हुन् । डिल्लीप्रसाद दुलाल पातलेखेतका वडा कमिटी संयोजक हुन् । बैद्य र विप्लव समूह अलग भए पछि उनिहरु तीनैजना नेकपा माओवादी केन्द्रमै फर्किएका थिए । प्रहरीले भने उनिहरु सहित जिल्लामा ४९ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
    नेकपा माओवादी विप्लव समूहका पूर्व जिल्ला कमिटी सदस्य चमार सिं लामाले एक विज्ञप्ती प्रकाशन गरी आफु पार्टीमा नरहेको बताएका छन् । चैत्र १० गते जारी विज्ञप्तीमा चमारसिं लामाले स्वतन्त्र रुपमा ब्यवसाय गरि बसेकाले पार्टीका कुनै पनि पदमा कृयाशिलता नरहेको बताएका हुन् । पार्टीमा रहेको कृयाशिलताका आधारमा विप्लव समूहमै छ कि भन्ने भ्रम रहेकाले विज्ञप्ती प्रकाशन गरेको उनले बताएका छन् । उनी विद्यार्थी संगठनका केन्द्रिय सचिवालय सदस्य छन् ।

अनुसन्धानका लागि ८ दिने म्याद
    नेकपा ‘विप्लव’ माओवादीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका नेता कार्यकर्तालाई चार मुद्दामा अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार ओलीसहितका नेताहरूलाई संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान थालिएको हो । आईतबार जिल्ला अदालत ललितपुरले सबैलाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
    मुद्दा चलाइएकाहरूमा केन्द्रीय सदस्य रहेका रुपन्देहीका वसन्त श्रेष्ठ, सुर्खेत घर भई रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, बाराका देवराज घिमिरे, नुवाकोटका सन्दीप कार्की, रुकुमका लोकेन्द्र खड्का र चालक धर्मराज राजबाहक छन् । बा १७ च ४८९३ नम्बरको स्कर्पियोका चालक राजबाहकलाई पनि प्रहरीले मुद्दा चलाएको हो । विप्लव नेता कार्यकर्ताले राजबाहकले चलाउँदै आएको स्कर्पियो भाडामा लिएका थिए । प्रारम्भिक अनुसन्धानमा चार मुद्दा आकर्षित हुने भन्दै ललितपुर प्रहरीले अदालतबाट म्याद थप गरेको हो ।  पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान मुद्दा पनि चलाउने प्रहरीको तयारी छ । ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चल्ने ललितपुर प्रहरीले जनायो । प्रहरीका अनुसार ओलीसँगै पक्राउ परेकाहरु बम बिस्फोट घटनामा संलग्न छन् ।
    नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । बिस्फोटमा ललितपुर ४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए । मुलुकी अपराध संहिता अनुसार राज्य विरुद्धको अपराधमा २५ वर्षसम्म सजायँ हुने व्यवस्था छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद (२५) वर्ष सजाय हुने व्यवस्था छ । यस्तै, बम बिस्फोटमा मुद्दामा पाँचदेखि दस वर्ष सजायँ हुने व्यवस्था छ । संगठित अपराध मुद्दामा तीनदेखि पाँच वर्ष सजाय हुने व्यवस्था छ । संगठित अपराधमा मुद्दा चलाउँदा प्रहरीले ६० दिनसम्म अभियोगीलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ । यसअघि पक्राउ परेका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाइएको छ । प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका ४ बोरनबेसीबाट शनिबार विप्लव माओवादीमा तेस्रो वरियताका नेता ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
    पक्राउ परेकाहरुबाट प्रहरीले चेकजाँच गर्दा स्कर्पियोमा सवारमध्ये सुदर्शनको साथमा जापानिज गोली लोड गरिएको पेस्तोल एक थान, त्यसको म्यागजिन र २१ राउन्ड गोली फेला परेको छ । स्कर्पियोमा बम बिस्फोटमा प्रयोग हुने जिलेटिन पाँच थान, डेटोनेटर पाँच थान फेला परेको छ । ओलीले आफू विप्लव माओवादीको प्रवक्ता भनेका छन् । खड्गबहादुर विश्वकर्मालाई प्रवक्ता भनिँदै आएको थियो । विश्वकर्मा र विप्लवबीच ‘मनमुटाव’ रहेकाले केही समय अघिबाट ओलीलाई प्रवक्ताको जिम्मेवारी दिइएको स्रोतले बतायो ।

यस्तो थियो पक्राउको रहस्य
    नेकपा माओवादी विप्लव समूहका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रिय प्रशिक्षण विभाग प्रमुख हेमन्त प्रकाश ओलीको समूहलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले शनिबार विहान हतियार र विस्फोटक पदार्थ सहित पक्राउ परेको छ । चैत्र ५ गते मंगलबार राति काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका २, शिखरआम्बोटे काफलडाँडामा नेकपा माओवादी विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ गर्न गएको अपराध अनुसन्धान महाशाखाको टोली उनका सहयोगी पक्राउ गरेर फर्केपछि शुरु भएको जिल्ला प्रहरी कार्यालयको अप्रेसन शनिबार विहान सफल भएको छ । अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले मंगलबारको अप्रेसनमा जिल्ला प्रहरी कार्यालय काभ्रेलाई सहभागी नै गराएको थिएन । जिल्लामा केन्द्रिय टोली बसेको सूचना समेत नदिई अपराध अनुसन्धान महाशाखाको टोलीले हवाई फायर गर्दै दुई जना कार्यकर्ता पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालयले आफ्नो टिम परिचालन गरेका थियो ।
    शुक्रबार दिउँसो प्रहरी प्रमुख एसपी रविराज खड्का धुलिखेल नगरपालिकाले आयोजना गरेको सिसि क्यामेरा जडान सम्वन्धी छलफलमा थिए । उनको मोवाईलमा हेमन्तप्रकाश ओली उर्फ सुर्दशन सहितको टोली खानीखोला गाउँपालिका ७ मिल्चेको बोरनबेशीमा बसिरहेको सूचना प्राप्त भयो । तत्काल एसपी खड्काले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले फोन गरेर सूचनाका बारेमा जानकारी गराए । शुक्रबार पारिवारीक कामले प्रजिअ राउत विदामा थिए । काम सकिए लगत्तै जिल्ला फर्किए । एसपी खड्काले अपराध अनुसन्धान महाशाखालाई समेत सूचनाका बारेमा जानकारी गराए । उक्त टोलीले एसपी खड्काको सूचना हावा भन्दै आउन नसक्ने जानकारी गरायो । तत्काल एसपी खड्काले केन्द्रिय ब्युरोमा जानकारी गराए । त्यहाँबाट उनको मद्दतका लागि १० जनाको टोली तयार भयो । जिल्लामा सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण कार्यरत छ । एसपी बेनु पाठकले ११ जनाको टिम तयार गरे । काठमाडौबाट आएको १०, सशस्त्र ११ र बाँकी गुल्म, जिल्ला सहितको गरी ४५ जनाको टोली राति साँढे ८ बजे त्यसतर्फ जाने गरी तयार भयो । राष्ट्रिय अनुसन्धानका डिएसपी सरोज निरौला समेतको बैठकले गोप्य रणनीति तयार ग¥यो ।
    रातिको समयमा लोकेसन समेत प्रष्ट नभएकाले दुर्गम स्थान मोटरसाईकलमा जाने योजना बन्यो । ५ वटा मोटरसाईकल तयार भए । दुईवटा बुलेरो भाडामा लिईयो । प्रहरीको मिनि ट्रकमा समेत गरी टोली राति साँढे १० बजे खानीखोला तर्फ लाग्यो । दिउँसोका समयमा पनि झण्डै ८ घण्टा लाग्ने कच्ची र असुरक्षित सडकको यात्रा पार गर्दै प्रहरीको टोली ६ घण्टामै उक्त स्थानमा पुग्यो । विहान ४ बजे प्रहरी नजिकै पुग्दै थियो । मोटरसाईकलको साईलेन्सर पाईप खस्यो । तारले बाँधेर जाँदै गर्दा एउटा भ्यान आईरहेको टोलीले देख्यो । चारै तिरबाट घेरा हालेको प्रहरी टोलीले उक्त भ्यानलाई समाउन सफल भयो । उनको भ्यान काभ्रेको खानीखोलाबाट मकवानपुरको फापरबारी तिर जाँदै थियो ।

राजधानीबाट स्र्कपियो झिकाईयो
    मन्त्री विना मगरका पूर्व पति शंकर अधिकारीले पार्टीका नेता समेत रहेका ४२ बर्षिय सिभिल ईन्जिनियर धर्मराज राजबाहकको गाडी लिएर हेमन्तप्रकाश ओलीको टोलीलाई खानीखोलाबाट फापरबारी लैजान ३० हजार रुपैयाँ भाडा तिरेर लगेका थिए । फापरबारी जाने भनेर खानीखोला पु¥याईएको उक्त स्र्कपियोमा शंकर अधिकारी, सैन्य प्रमुख प्रज्ज्वल भनिने विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, ललित तामाङ, संजिव कार्की, देव घिमीरे र लोकेन्द्र खड्का रहेका छन् । ति मध्ये रोशी गाउँपालिकामा प्रहरी कारवाहीमा भाग्दै गर्दा भिरबाट लडेर घाईते भएका एक जना कार्यकर्ता पनि छन् । अझै एकजना घाईते कार्यकर्ता फरार छन् ।
    खानीखोला गाउँपालिका वडा नम्वर ७ मिल्चेबाट पक्राउ परेका ‘सुर्दशन’ चढेको स्र्कपियोबाट पेस्तोल र विस्फोटक पदार्थ बरामद गरेको छ । पक्राउ गरेर राजधानी ल्याउँदै गर्दा प्रहरी टोलीले उनिहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्वरको सिल्भर कलरको स्र्कपियो ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा स्र्कपियोको डिकी भित्र लुकाईरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला पारेको हो । ओलीको टोली खानीखोला गाउँपालिकाबाट मकवानपुरको फापरबारी हुँदै भाग्ने खोज्न गरिरहेका बेला एम्बुसमा परेको थियो । विना मगरको पुर्व पति शंकर अधिकारीले सानेपाबाट राजबाहक आफैको गाडी लगेका थिए । राजबाहक चालक र धनी दुबै हुन् ।
    ‘रातभरको अप्रेसन पछि विहान ४.१५ बजेको समयमा भाग्न लाग्दा गाडी सहित प्रहरीको एम्बुसमा पारिएको हो’–जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले भने–‘अप्रेसनका लागि राति १०.३० बजे पाँचवटा मोटरसाईकल, ३ वटा बोलेरो र १ वटा प्रहरी भ्यानमा ४५ जना सुरक्षकर्मीको टोली खानीखोला पुगेको थियो ।’ दिउँसैबाट प्रहरीलाई हेमन्तप्रकाश ओलीको समूह सोहि क्षेत्रमा लुकिछिपी बसेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोहि सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी निरीक्षक श्रीराम तिमल्सिना, सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गणका प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा प्रहरी हेडक्वाटरबाट समेत खटिएका १० जना समेत गरी ४५ जनाको टोली पठाएको थियो । अपराध अनुसन्धान महाशाखालाई मद्दत माग्दा हावा सूचना भन्दै आउन मानेन । मंगलबार राति मात्रै अपराध अनुसन्धान महाशाखाले जिल्लाको रोशी गाउँपालिकामा हेमन्तप्रकाश ओलीको सेल्टर रहेको बताउँदै अप्रेसन गरेको थियो ।

अप्रेसन निरन्तर
    मंगलबार विहान काठमाडौमा पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका वडा नम्वर २ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएको बताएको छ । महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले जिल्लाको रोशी गाउँपालिका २ साविक शिखरआम्बोटे गाविस ८ काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी फायर गरी आक्रमण गरेकोले प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड फायर गरेको बताएको थियो । चार राउण्ड फायर गरेपछि उक्त समूह भागेका र भागेका मध्ये  ३३ बर्षिय झापा मेची नगरपालिका वडा नम्वर ३ घर भई थानकोट ढुंगेअड्डामा बस्दै आएको शिव धिमाल र सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका घर भएक ३३ बर्षिय विशाल तामाङलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक राठौरले बताए । प्रहरीले मोबाईल ६ थान, चार्जर चार थान, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताब तथा अन्य मोवाईलहरु समेत फेला परेको थियो । उनिहरुले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ ।
    ललितपुर जिल्लाको नख्खुमा रहको एनसेल कार्यालय अगाडी २०७५ फागुन १० गते बम विस्फोटन गराई एक जनाको मृत्यु भएको तथा दुई जना घाईते भएको र सोहि दिन बेलुका काठमाडौको कमलपोखरी अगाडीको लोत्सेचोकमा रहेको आँगन मिठाई पसलमा बम विस्फोट गराएको अभियोग लगाईएको छ । फागुन २४ गते बेलुका काठमाडौको बसुन्धरामा रहेको रोहन गुरुङ्गको घरमा बम विस्फोटमा परी तीन जना ब्यक्तिहरु घाईते भएका थिए । सबै घटनामा विप्लव समूहका मध्यक्षेत्रिय कमाण्डरहरु संलग्न रहेका प्रहरीको निश्कर्ष सहित उनिहरुको खोजी गरिरहेको थियो ।
    मध्यक्षेत्रिय कमाण्डमा प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओली संयोजक छन् । उनकै कमाण्डमा काठमाडौका सबै घटनामा पक्राउ परेका कमाण्डहरुको संलग्नता रहेको थियो । ११ जनाको उनको समूहमा विभिन्न जिल्लाका नेताहरु सहभागी थिए । काठमाडौमा आक्रमण पछि काभ्रेको रोशी तथा महाभारत क्षेत्रमा लुकेर बसेको प्रहरी सूचना थियो । जिल्लामा रहेको नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी सतर्क रहेको छ । जिल्लामा घटना पछि सुरक्षा निकाय उच्च सतर्कतामा बसेको छ ।