2019 March 22/ 01:25: 25am

    धुलिखेल/धुलिखेलमा निर्माण हुन लागेको हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल अपाङ्ग र वातावरणमैत्री हुनु पर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् । ट्रेल निर्माणमा विभिन्न क्षेत्रको सहयोग रहने प्रतिवद्धता ब्यक्त भएको छ ।
    धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले ट्रेल निर्माण पछि पर्यटकहरुको आगमनसँगै बसाई लम्याउन सहयोग पु¥याउने मात्रै नभई ब्यक्तिको शारिरिक स्वस्थता, सबै खालका ब्यक्तिहरुका लागि सहजता हुने बताए । ट्रेल मार्गमा धुलिखेल कब्जा गर्न पृथ्वीनारायण शाह लगायतका पुर्खाहरुले गरेको योगदानको समेत स्मरण हुने खालका प्राकृतिक र ऐतिहासिकता झल्कने बस्तुहरु राख्ने नगर प्रमुख ब्याञ्जुले बताए । धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण कार्य शुरु भएको छ । धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण हुनेछ । धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधि एवं नगर प्रमुख अशोक ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेलमा पर्यटकहरुको बसाई लम्याउन तथा वातावरणीय हिसावले धुलिखेलमा हाईकिङ्ग र साईक्लिङ्ग ट्रेल निर्माण गर्न उपयुक्त हुने ठहर गर्दै बढाएको योजनालाई काभ्रे जिल्ला साईक्लिङ्ग संघका अध्यक्ष मनिष यगोलले थप परिमार्जन सहित रुट तय गरेका थिए । नगरपालिकाको योजनामा विष्णु दल गण धुलिखेलले नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनायो ।
    धुलिखेलमा निर्माण हुने ट्रेल अपाङ्गमैत्री हुने नगर प्रमुख अशोक ब्याञ्जुले बताए । अमेरिकाको आईडिआई संस्थाले समेत ट्रेल निर्माणमा चासो देखाएको छ । आईडिआईका रोशन मानन्धरले आगामी मार्च ३१ अर्थात चैत्र १७ गते धुलिखेलमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी ट्रेल निर्माणमा थप टेवा पु¥याउने बताए । उक्त संस्थाले पूर्वाधार निर्माण र तालिम लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । उक्त कार्यक्रममा धुलिखेलका होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो । उद्योग बाणिज्य संघ, होटल ब्यवसायी, नेपाली सेनाको विष्णु दल गण, अन्य संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए । धुलिखेलका सबै होटलहरु अपाङ्गमैत्री बनाउने विषयमा समेत छलफल भएको थियो । उक्त ट्रेलमा नेपाली सेनाले जनशत्ति सहयोग गर्ने भएको छ । ‘धुलिखेलमा साईक्लिङ्ग–हाईकिङ्ग रुट निर्माण तथा नेपाल एकिकरणको समयमा प्रयोग भएको स्थान भमरकोटमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको शालिक राखिनेछ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नगरपालिकाले ९ लाख रुपैया विनियोजन गरी कार्य प्रारम्भ भएको छ ।’ बलभद्र कँुवरका जिजुबा रामकृष्ण कुँवरलाई १८७२ मा पृथ्वीनारायण शाहले भमरकोटमा विर्ता दिएका थिए । पलाञ्चोक भगवती स्थानमा १८१६ मा भएको लडाईमा बलभद्रका जिजुबाजेले सहयोग पु¥याएको भन्दै पृथ्वीनारयाण शाहले विर्ता दिएका थिए । बलभद्र कुँवर भमरकोटमै हुर्किएको इतिहास छ । उनको सम्झनामा नगरपालिकाले उक्त स्थानमा बलभद्र कुँवरको शालिक राख्न लागेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पलाञ्चोक लडाईमा विजय प्राप्त गरेपछि बलभद्रका जिजुबा रामकृष्ण कुँवरलाई सेना नायक बनाईएको थियो । सेनाले इको र युनिफिकेसन ट्रेल निर्माण अभियान देशभर नै शुरु गरेको छ । प्रधानसेनापतिले कमाण्ड मार्ग निर्माण गर्न स्थानीय सरकारसँगको समन्वयमा कार्य प्रारम्भ गर्न देशभर नै निर्देशन दिए लगत्तै विष्णु दल गण धुलिखेलले कार्य प्रारम्भ गरेको गणपति कर्णेल सुबास खड्काले बताए ।