2024 May 19/ 04:09: 17am

    धुलिखेल/धुलिखेल अस्पतालले ओठ तथा तालु चिरिएकाहरुको नि:शुल्क शल्यक्रिया सहित त्यस्ता बालबालिकाहरुमा हुन सक्ने अन्य रोगहरुका निशुल्क उपचारको औपचारिक शुभारम्भ गरेको छ । 
    २०८१ बैशाख १ गते देखि उक्त उपचार सेवा निशुल्क गरिएको थियो । तीन वटा दातृ संस्थाको सहयोगमा निशुल्क उपचार सेवा शुरु गराईएको हो । दन्त विभागका डा.चन्दन उपाध्यायले  उक्त सेवाबाट नागरिकहरु लाभान्वित हुने बताए । धुलिखेल अस्पतालमा त्यस्ता समस्या भएका विरामीहरु आउँदा उनिहरुको उपचार सम्वन्धी सम्पूर्ण सेवा मात्रै निशुल्क नभई उनिहरुसँग आउने एक जना कुरुवाको समेत आउने जाने यातायात खर्च समेत उपलब्ध गराईनेछ । ‘निशुल्क शल्यक्रिया तथा शल्यक्रिया सम्वन्धि गरिने सम्पूर्ण जाँच, जन्मजात ओठ तथा तालु चिरिएको अथवा फाटिएको अवस्था, क्लेफ्टको शल्यक्रिया पश्चात दाँत तथा अनुहार नमिलेको अवस्थाको तार बाँधेर वा शल्यक्रियाद्वारा गरिने उपचार, अप्रेशनका बेला एक जना अभिभावकलाई आवतजावतको खर्च र अप्रेशनको बेला एक जना अभिभावकलाई बस्ने र खाने सुविधा समेत अस्पतालको तर्फबाट गराईने छ’– डा.चन्दन उपाध्यायले भने । बैशाख १८ गते मंगलबार औपचारिक रुपमा उपचार सेवाको प्रारम्भ गरिएको हो । 
    सेवा प्रारम्भ कार्यक्रममा अस्पतालका विभिन्न विभागमा कार्यरत विभागिय प्रमुखहरु, दातृ संस्थाका प्रतिनिधिहरु सहभागि थिए । धुलिखेल अस्पतालमा सहयोग गर्ने दातृ संस्थाले यस अघि छिमेकी देश भारत, पाकिस्तान लगायतका १५ देशमा निशुल्क उपचारका लागि सहयोग गर्दै आएको छ । दातृ संस्थाका प्रतिनिधिहरु एन्ड्रिया र ट्रेमर सहभािग थिए । अस्पतालको मुख तथा अनुहार शल्यक्रिया विशेषज्ञ डा. नितेश चौरासियाले सेवा निशुल्क र निरन्तर हुने बताए । ‘जन्मजात ओठ तथा तालु चिरिएको अथवा फाटिएको, गिजामा प्वाल परेको, अप्रेशन भैसकेका तर ओठ, तालु, नाक, अनुहार नमिलेका, जन्मजात ओठ तथा तालु चिरिएको बच्चाको पोषण सम्वन्धी जानकारी दिईनेछ’–मुख तथा अनुहार शल्यक्रिया विभागका डा.नितेश चौरासियाले भने–‘धुलिखेल अस्पतालले यस अघि शल्यक्रिया निशुल्क गरेको भए पनि अन्य उपचार सेवामा थोरै रकम लिदै आएको थियो । बैशाख १ गते देखि सबै प्रकारका उपचार सेवा समेत निशुल्क गरिएको छ ।’ ओठ तालु चिरिएका बालबालिकाहरुका अभिभावकहरुले अस्पतालको ९८०१३१५२६९, ९८२०१०००२१ र ९८०१००३०८२ सम्र्पक गर्न सकिने गरी अस्पतालले ब्यवस्थापन गरेको जनाएको छ ।