2024 May 19/ 04:09: 17am

    पनौती/बामगती टिपर ब्यवसायी संघले पनौती रुटमा चल्ने टिपर लगायतका सवारी साधनहरुमा लगाईएको निकासी करका बारेमा ध्यानाकर्षण गराएको छ । निकासी कर संकलन गर्ने फर्मबाट प्रदेश तथा स्थानीय सरकारले तोके भन्दा धेरै कर लिएकाले ब्यवसायीहरु संकटमा परेको अध्यक्ष सुरेश खत्रीले बताए । 
    ‘आर्थिक वर्षको शुरुवाती देखि नै ब्यवसायीहरुले तोके भन्दा धेरै राजश्व लिएको विषयमा नगरपालिकाका प्रमुख रामशरण भण्डारी सहितलाई ध्यानाकर्षण गराएका थियौं’–अध्यक्ष सुरेश खत्रीले भने–‘ब्यवसायीहरुको अनुरोधलाई निकासी कर संकलन गर्ने ब्यवसायी र नगरपालिकाले समेत वेवास्ता गर्दै तोके भन्दा धेरै राजश्व लिँदै आएका छन् । सोहि विषयमा नगर प्रमुख भण्डारीलाई पुनः ध्यानाकर्षण गराएका हौं ।’ नगर प्रमुख भण्डारीले टिपर ब्यवसायी संघका पदाधिकारीहरुसँग राजश्व तोके भन्दा धेरै लिएको, राजश्व लिएर भ्याट विल नदिएको लगायतका विषय तत्कालै सम्बोधन गर्ने प्रतिवद्धता ब्यक्त गरे । ब्यवसायीहरुले नियमित ब्यवसाय गर्न सहज वातावरण निर्माण गरिदिन, तोकेको भन्दा धेरै राजश्व असुल नगर्न निकासी कर संकलन गर्ने फर्मलाई निर्देशन दिन, भ्याट विल जारी गर्न निर्देशन दिन अनुरोध गरेका थिए । खानी क्षेत्र रोशीमा स्थानीयहरुले विभिन्न मागहरु राखेर आकस्मिक ढुवानी निर्यातमा रोक लगाएसँगै ब्यवसायीहरुले ढुवानीका लागि गरेको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै सेवाग्राहिहरुले असन्तुष्टी ब्यक्त गरेकाले बैकल्पिक क्षेत्र प्रयोग गर्ने तयारी भएको नगर प्रमुख भण्डारीलाई जानकारी गराए । नगरपालिकाले ब्यवसायीहरुका मागलाई पुरा नगरे कानुनी प्रकृयामा जाने तयारी भएको अध्यक्ष खत्रीले बताए । स्थानीयहरुले खानी र टिपर संचालन हुँदा धुलो उडेकाले त्यसको स्थायी ब्यवस्थापनका लागि माग गर्दै केहि दिन देखि रोशी क्षेत्रमा टिपर ढुवानी बन्द गरिरहेका छन् । खानी र निकासी कर संकलन गर्ने ब्यवसायीहरु बीच नियमित पानी राख्ने गरी सम्झौता भए पनि कार्यान्वन हुन सकेको छैन । 

कानून विपरीत प्रति टिप ३ सय ५५ रुपैयाँ असुल
    पनौती नगरपालिकाले निकासी करका लागि आन्तरिक आय सकंलन सम्वन्धी २०७९ जेठ २९ गते प्रकाशित गरेको बोलपत्रमा पनौती नगरपालिका क्षेत्रभित्र रहेको विभिन्न खानीहरुबाट उत्पादन तथा उत्खनन भई प्रयोग हुने ढुंगा, ग्राभेल, रोडा, गिट्टी, बेस, बालुवा, माटो, डस्ट आदीको विक्री÷श्रोत उपयोग शुल्क बापत आर्थिक वर्ष २०७९÷०८० मा प्रति घन फिट मु.अकर बाहेक ९ रुपैया तोकेको थियो । त्यसो हुँदा सोहि आर्थिक वर्षमा नगरपालिकाले ३२ करोड ७६ लाख राजश्व संकलन गर्ने थियो । कुनै पनि फर्मले बोलपत्र खरिद नगरेका कारण नगरपालिका आफैले संकलन गरेको राजश्वमा समेत बक्यौता भए पछि विवादित भएको थियो । 
    चालु वर्ष २०८०/०८१ लागि २०८० जेष्ठ ९ गते सूचना प्रकाशित गरी सोहि दररेट कायम गरेको थियो । नगरपालिकाले ३१ करोड ११ लाख ११ हजार १ सय ११ रुपैया न्यूनतम अंक मुअक बाहेक तोकेको थियो । एउटा टिपरले एक टिपमा २ सय ६५ घन फिट बोक्छ । त्यसो हुँदा प्रति टिप २ हजार ३ सय ८५ रुपैया पर्दछ । उक्त रकमको मुअक ३ सय १० रुपैया हुन्छ । कुल रकम प्रति टिप २ हजार ६ सय ९५ रुपैया हुन आउँछ । प्रति टिप निकासी कर लिने फर्मले ३ सय ५५ रुपैया धेरै अर्थात प्रति टिप ३ हजार ५० असुल गर्दै आएको छ । पनौतीबाट दैनिक सरदर ५ सय टिपर निकासी हुने गरेका छन् । दैनिक १ लाख ७७ हजार ५ सय रुपैया राजश्व तोकेको भन्दा धेरै रकम ब्यवसायीले असुल गर्दै आएका छन् । निर्माण ब्यवसायीले मासिक ५३ लाख २५ हजार र कबोल गरेको ३ सय ६५ दिनमा सरदर ६ करोड ४७ लाख ८७ हजार ५ सय रुपैया धेरै असुल गरेको छ । उक्त रकम के का लागि धेरै असुल गरियो ? नगरपालिका किन मौन छ ? राजश्वमा भएको हिनामिना र धेरै असुलेका सन्र्दभमा यस अघि नै ब्यवसायीहरुले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय लगायतमा जानकारी गराएका छन् । नगर प्रमुख भण्डारीले उक्त रकम र रकम लिएर पनि भ्याट विल नदिएका बारेमा ब्यवसायीसँग छलफल गर्ने बताए । 

कानून विपरीत प्रवेश निषेध, प्रहरी मुकदर्शक
    काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा हेभि सवारी साधन प्रवेश निषेधका बोर्डहरु झुण्डिन थालेका छन् । ट्राफिक प्रहरी कार्यालयको नाम र लोगो समेत राखेर प्रवेश निषेध लेखिएका बोर्डहरु शहरी क्षेत्रमा धेरै देखिन्छन् । आफु निर्माण कार्य सम्पन्न गर्ने र त्यहि टोलमा भएका अन्य नागरिकहरुलाई निर्माण सामाग्री लैजाने समयमा प्रवेश निषेध लेखेर अन्याय गरेको स्थानीयले बताए । बनेपामा तुल्टी मार्ग, पुण्यमाता कोलोनी लगायतका क्षेत्रमा अहिले प्रवेश निषेधका बोर्डहरु राखिएका छन् । न प्रहरीले न सरोकारवाला निकायले यसबारे चासो दिएको छ । टिपर तथा हेभी सवारी साधन ब्यवसायीहरुले भने कानूनी रुपमा उक्त निषेध गर्न नमिल्ने भए पनि सरोकारवाला निकायहरु चुपचाप बसेको प्रतिक्रिया दिएका छन् । अझ टोलबासीले हेभी सवारी साधन प्रवेश गराए जरिवना समेत आफु खुशी तोक्ने गरेका छन् ।