2024 May 01/ 07:46: 31am

   धुलिखेल/गाउँमा काम गर्ने ब्यक्ति पाईदैन । खेतबारीमा काम गर्ने ब्यक्ति नभएकाले जमिन बाँझो हुन थालेको छ । घर वरपर झाँगिएको बन्सो र झारले घरमा भएका जेष्ठ नागरिकहरु साँझ विहान बाहिर निस्कन डराउन थालेका छन् । बँदेल, बाँदर, चितुवा, स्याल जस्ता जंगली जन्तुहरु घर गोठमा आएर बस्न थालेका छन् । 
    हिँउदमा आगो लगाएर जंगली जन्तुको बास उठाउन खोज्दा छिमेक तिर भएका बाख्रा दिउँसै मारिन थालेका छन् । जंगली जनावरहरुको बास पुरानो बस्तिमा सरेको छ । बस्ति खाली भएका छन् । गाउँमा काम गर्ने मान्छे नभएर जमिन बाँझो छ । शहरमा रोजगार नभएर युवाहरु भौतारिरहेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका ७ हजार २ सय ४२ व्यक्तिगत घर परिवार देखिएका छन् । ति घर परिवार मध्ये घरेलु उद्योग २ हजार १ सय ४८ (२९.६६ प्रतिशत), व्यापार÷व्यवसाय ३ हजार ५ सय ५९ (४९.१४ प्रतिशत), यातायात ३ सय ९२ (५.४१ प्रतिशत) सेवा ६ सय ११ (८.४४ प्रतिशत) र अन्य अन्य ५ सय ३२ (७.३५ पतिशत रहेका छन् । जिल्लामा रहेका ९१ हजार ३ सय ३० घर परिवार मध्ये ८३ हजार ९ सय ८२ घर परिवारको साना घरेलु ब्यवसाय छैन । उल्लेख नै गर्न नचाहने घर परिवारको संख्या १ सय ६ रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार बनेपामा सबै भन्दा धेरै रहेको छ । 
    राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा १० वर्ष वा सो भन्दा माथिका ३ लाख १२ हजार १ सय ६१ जना व्यक्तिहरु मध्ये २ लाख २३ हजार ३ सय ५६ जनाले गणना भएको १२ महिना अगाडीको समयमा कुनै न कुनै आर्थिक काम गरेको देखिएको छ । जस मध्ये ५४.४४ प्रतिशतले ६ महिना वा सो भन्दा वढी समय काम गरेको, १७.११ प्रतिशतले ६ महिना भन्दा कम समय काम गरेको र २८.४५ प्रतिशतले कुनै पनि काम नगरेको देखिएको छ । जुनसुकै आर्थिक काम जति सुकै अवधिको लागि गरेका वा कुनै पनि आर्थिक कामको खोजी गरेको १० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरु आर्थिक रुपले सक्रिय जनसंख्या अन्तर्गत पर्दछन् । कुनै पनि आर्थिक काम नगरेका र आर्थिक काम नखोजेका व्यक्तिहरु आर्थिक रुपले निष्क्रिय जनसंख्या अन्तर्गत पर्दछन् । 
    अक्सर आर्थिक रुपले सक्रिय जनसंख्यालाई अक्सर रोजगार र अक्सर बेरोजगार गरी दुई समूहमा विभाजन गर्न सकिन्छ । सन्दर्भ अवधिमा काम गरेको समय काम नगरेको समय भन्दा बढी भएमा अक्सर रोजगार र काम गरेको समय काम नगरेको समय भन्दा कम भएमा अक्सर वेरोजगार मानिन्छ । काभ्रेपलाञ्चोक जिल्लामा १० वर्ष वा सो भन्दा माथिका १ लाख ७९ हजार ८ सय ४८ जना अक्सर आर्थिक रुपले सक्रिय व्यक्तिहरु मध्ये १ लाख ७३ हजार ५ सय ८९ (९६.५ प्रतिशत) अक्सर रोजगार र ३ हजार ४ सय ९ (३.५ प्रतिशत) अक्सर वेरोजगार छन् ।  
    जनगणनाको नतिजाअनुसार काभ्रेपलाञ्चोक जिल्लामा १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपाल स्तरीय पेशागत वर्गीकण अनुसार प्रस्तुत गरिएको छ । आर्थिक काम गरेको कूल जनसंख्या २,२३,३५६ जना मध्ये ५०.८ प्रतिशत पुरुष र ४९.२ प्रतिशत महिला छन् । आर्थिक काम गरेको जनसंख्या मध्ये पेशागत रुपमा सबैभन्दा बढी कृषि, वन र माछा पालन कार्यका दक्ष कामदारहरु ६१.११ प्रतिशत छ । यस पछि क्रमशःसामान्य वा प्राथामिक पेशाका कामदार १२.६४ प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदार ५.५२ प्रतिशत, व्यवस्थापकहरु ५.०८ प्रतिशत शिल्प कला तथा कालिगढ र व्यापार गर्ने कामदार ४.६९ प्रतिशत रहेका छन् । १० वर्ष वा सो भन्दा वढी उमेरका कुनै न कुनै रुपले आर्थिक काम गरेका कुल पुरुष संख्या १ लाख १३ हजार ४ सय ३९ मध्ये कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ५३.५२ प्रतिशत छन् । सामान्य वा प्राथमिक पेशाका कामदार १०.७२ प्रतिशत, शिल्प कला तथा कालिगढ र व्यापार गर्ने कामदार ७.१५ प्रतिशत, व्यवस्थापकहरु ६.८३ प्रतिशत, सेवा तथा वस्तु विक्री गर्ने कामदार ६.४१ प्रतिशत छन् । १० वर्ष वा सो भन्दा वढी उमेरका कुनै न कुनै रुपले आर्थिक काम गरेका कुल महिला संख्या १ लाख ९ हजार ९ सय १७ मध्ये कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरु ६८.९३ प्रतिशत रहेका छन् । सामान्य वा प्राथामिक पेशाका कामदार १४.६ प्रतिशत, सेवा तथा वस्तु विक्री गर्ने कामदार ४.६० प्रतिशत, पेशाविद् ३.२९ प्रतिशत, व्यवस्थापकहरु ३.२७ प्रतिशत रहेका छन् ।