2019 May 23/ 06:23: 43am

    धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद जरिवानालाई तिब्र रुपमा फछ्यौट गर्ने अभियान शुरु गरे पनि स्थानीय तह सक्रिय नहुँदा योजना अनूरुप मुद्दा फैसलाको कैद र जरिवना असुल हुन सकेको छैन । 
    सर्वाेच्च अदालतले चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयनको वर्षका रुपमा लिएर अभियान संचालन गरेको छ । जिल्ला अदालतले अभियान सफल बनाउन जरिवना र कैद असुल तिब्र बनाएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले बताए । जिल्ला अदालतमा चालु वर्षको ७ महिनाको तथ्याङ्कमा ९ सय २८ वर्ष ९ महिना २४ दिन कैद असुल गर्न बाँकी छ भने ६३ करोड ७९ लाख २० हजार ११ रुपैया जरिवाना असुल गर्न बाँकी छ । माघ मसान्तसम्म अदालतले २ सय २३ वर्ष ११ महिना ५ दिन कैद असुल गरेको छ भने ३४ लाख ५८ हजार ६ सय ३३ रुपैया असुल गरेको छ । 
    अघिल्लो वर्ष ९ सय ५ वर्ष २ महिना १० दिनको कैदमा चालु वर्षको ७ महिनामा २ सय ४७ वर्ष ६ महिना १९ दिन थप भएको थियो । १ हजार १ सय ५२ वर्ष ८ महिना २९ कैदबाट असुल भई ९ सय २८ वर्ष ९ महिना २४ दिन बाँकी भएको हो । दण्ड जरिवनामा ६३ करोड ८७ लाख ३७ हजार २ सय ६६ रुपैयामा २६ लाख ४१ हजार ३ सय ८१ रुपैया थप भई ६४ करोड १३ लाख ७८ करोड ६ सय ४७ रुपैया असुल गर्ने पर्ने थियो । ३४ लाख ५८ हजार अस्ुल भए पछि अदालतको माघ मसान्तसम्मको तथ्याङ्कमा ६३ लाख ७९ हजार असुल गर्न बाँकी रहेको हो । अदालतले कैद र जरिवना दुबै भएका, कैद मात्रै तथा जरिवना मात्रै भएकाहरुको प्रहरी र स्थानीय तह मार्फत खोजी गरिरहेका छ । स्थानीय तहलाई सूची पठाउँदै सेवा सुविधा रोक्का गर्न, तत्काल पक्राउ गरी प्रहरी मार्फत वा सिधै अदालतमा उपस्थित गराउन अनुरोध गर्दै पत्र समेत पठाएको छ । अदालतमा बैकिङ्ग कसुरको मुद्दाका कारण करोडौ रकम असुल गर्न देखिएको छ ।