2019 May 23/ 07:18: 10am

एकिकरणका ६ रुट
    धुलिखेल/धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण कार्य शुरु भएको छ । 
    धुलिखेलको हजार सिंढी चोक हुँदै चौकोटसम्मको साँढे ४ किमी दुरीमा ट्रेल मार्ग निर्माण हुनेछ । धुलिखेल नगरपालिकामा निर्वाचित जनप्रतिनिधि एवं नगर प्रमुख अशोक ब्याञ्जुले पर्यटकिय नगरी धुलिखेलमा पर्यटकहरुको बसाई लम्ब्याउन तथा वातावरणीय हिसाबले धुलिखेलमा हाईकिङ्ग र साईक्लिङ्ग ट्रेल निर्माण गर्न उपयुक्त हुने ठहर गर्दै बढाएको योजनालाई काभ्रे जिल्ला साईक्लिङ्ग संघका अध्यक्ष मनिष यगोलले थप परिमार्जन सहित रुट तय गरेका थिए । नगरपालिकाको योजनामा विष्णु दल गण धुलिखेलले नेपालको एकिकरण अभियानमा महत्वपूर्ण मानिएका ऐतिहासिक स्थानहरुलाई काभ्रे युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने योजना बनायो । ‘धुलिखेल नगरपालिका र स्थानीय संघ संस्थाको सहयोगमा काभ्रे युनिफिकेसन ट्रेल निर्माण गरिनेछ’–गणपति कर्णेल सुबास खड्काले भने–‘प्रधानसेनापतिको योजना अनुसार देशभर नै एकिकरणको समयमा प्रयोग भएका स्थानहरुमा युनिफिकेसन ट्रेल निर्माण गरिनेछ ।’ 
    ‘धुलिखेलमा साईक्लिङ्ग–हाईकिङ्ग रुट निर्माण तथा नेपाल एकिकरणको समयमा प्रयोग भएको स्थान भमरकोटमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको शालिक राखिनेछ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘नगरपालिकाले ९ लाख रुपैयाँ विनियोजन गरी कार्य प्रारम्भ भएको छ ।’ बलभद्र कँुवरका जिजुबा रामकृष्ण कुँवरलाई १८७२ मा पृथ्वीनारायण शाहले भमरकोटमा विर्ता दिएका थिए । पलाञ्चोक भगवती स्थानमा १८१६ मा भएको लडाईमा बलभद्रका जिजुबाजेले सहयोग पु¥याएको भन्दै पृथ्वीनारायण शाहले विर्ता दिएका थिए । बलभद्र कुँवर भमरकोटमै हुर्किएको इतिहास छ । उनको सम्झनामा नगरपालिकाले उक्त स्थानमा बलभद्र कुँवरको शालिक राख्न लागेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । पलाञ्चोक लडाईमा विजय प्राप्त गरेपछि बलभद्रका जिजुबा रामकृष्ण कुँवरलाई सेना नायक बनाईएको थियो । सेनाले इको र युनिफिकेसन ट्रेल निर्माण अभियान देशभर नै शुरु गरेको छ । प्रधानसेनापतिले कमाण्ड मार्ग निर्माण गर्न स्थानीय सरकारसँगको समन्वयमा कार्य प्रारम्भ गर्न देशभर नै निर्देशन दिए लगत्तै विष्णु दल गण धुलिखेलले कार्य प्रारम्भ गरेको गणपति कर्णेल सुबास खड्काले बताए ।
    आईतबार विहान धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, विष्णु दलका गणपति कर्णेल सुवास खड्का, एसपी रविराज खड्का, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा हबेली डाँडा–दक्षिणकाली मन्दिर–धुलिखेल खानेपानी आयोजनाको पानी ट्याङ्की हुँदै राजकुलो हुँदै देविस्थान डाँडासम्मको ३ किमी हाईकिङ्ग गरिएको थियो । उक्त बन भित्र भएको राजकुलो र कुवा ठकुरीबंशका राजा आनन्दलेवले निर्माण गरेका हुन् । त्यतिबेला निर्माण गरेको कुवा समेत ट्रेल मार्गमा पर्दछ । धुलिखेलमा खानेपानी खुवाउन आनन्ददेवले त्यतिबेला नै राजकुलो निर्माण गरेका थिए । पानीका दुईवटा मुहानबाट खानेपानीको ब्यवस्थापन गर्ने र त्यहाँको पानी धुलिखेलका विभिन्न स्थानमा पु¥याईएको इतिहास रहेको स्थानीय मनिष यगोलले बताए । साईक्लिङ्ग मार्ग धुलिखेल देखि चौकोटसम्म पु¥याईनेछ । राजमार्गमा प्रवेश नगराई साँढे ४ किलोमिटरको दुरीमा साईक्लिङ्ग–हाईकिङ्ग मार्ग निर्माण हुनेछ ।

एकिकरणमा काभ्रे, ६ वटा रुट पहिचान
    नगरकोट, अनेकोट, पलाञ्चोक, भमरकोट, काभ्रेकोट(कोटकी देवी मन्दिर), चौकोट, फस्कोट, फुलकारीकोट(कानाकोट), बुच्चाकोट, मेथिनकोट, तेमालकोट, धुँवाकोट, दाप्चा, शारदाकोट, कोटखेल, गोसाईस्थान, गोरखनाथ, नागिडाँडा, नालाकोट, बखुण्डोल र साँगा एकिकरणका लागि प्रयोग भएका स्थान हुन् । 
    विक्रम सम्वत १८०३ भदौमा काभ्रेको नगरकोट र नाल्दुम कब्जा भएको थियो भने १८०३ फागुमा काभ्रे र सिन्धुपाल्चोकको सिमाना साँगाचोक कब्जा भएको थियो । उक्त स्थानमा भएको लडाईमा सरदार शिवराम सिंहको मृत्यु भएको थियो । विक्रम सम्वत १८१६ माघमा पलाञ्चोक कब्जा गरेका पृथ्वीनारायण शाहको महारानी नरेन्द्र लक्ष्मी सहितले पलाञ्चोक भगवतीमा यज्ञ गरी गुठी राखेका थिए । १८१६ मा भमरकोट माथी कब्जा गरी खावा थाक्ले पाकुचा हुँदै काभ्रेकोट कब्जा भएको थियो । १८१८ असार ३० गते चौकोट कब्जा भएको थियो । १८९९ असोज २ गते तेमाल कब्जा भएको थियो भने तेमालको लडाईमा रामकृष्ण कुँवरले आफ्नो भाई गुमाएका थिए । १८२० कार्तिक १० गते आईतबार धुलिखेल कब्जा भएको थियो । १८२० कार्तिक ११ गते खड्पु र पनौती एकै पटक कब्जा भएको थियो । १८२० कार्तिक १४ गते बनेपा, साँगा र नाला कब्जा भएको थियो । साँगाको लडाईमा जहाँगिर शाहको मृत्यु भएको थियो । 
    नेपाली सेनाको विष्णु दल गण धुलिखेलले युनिफिकेसन ट्रेलका लागि ६ वटा रुट पहिचान गरेको छ । १८०३ मा नगरकोट कब्जा गरेपछि १८१६ मा पलाञ्चोक कब्जा गर्न नगरकोट अनेकोट लामिडाँडा हुँदै पलाञ्चोक कब्जा गर्न प्रयोग भएको बाटोलाई पहिलो मानिएको छ । वि.सं. १८१६ मा पलाञ्चोक माथि विजय प्राप्त गरे पश्चात भमरकोट काभ्रेकोट विजय गरी वि.सं. १८१८ असार ३० गते चौकोट माथि विजय प्राप्त गर्दा भएको बाटोलाई दोश्रो मानिएको छ । १८१८ असार ३० मा चौकोट विजय पश्चात फस्कोट फुलबारीकोट बुच्चाकोट मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमालकोट कब्जा गर्न प्रयोग गरिएको बाटोलाई तेश्रो बाटोको पहिचान गरिएको छ । 
    १८१९ असोज २ गते तेमालकोट विजय पश्चात चौकोट शारदाकोट गोरखनाथ हुँदै १८२० कार्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गलाई पाँचौ रुट र १८२० कार्तिक १४ गते बनेपा, साँगा र नाला कब्जा गर्न धुलिखेलबाट गोसाईस्थान नालाकोट साँगा हुँदै बनेपा र पनौतीबाट नागीडाँडा साँगा हुँदै बनेपा आउन प्रयोग गरिएको मार्गलाई छैटौ रुटको रुपमा पहिचान गरिएको छ ।