भुपेन्द्र थापा (माधव)
मुलुक स्थानीय निर्वाचनदेखि राष्ट्रपतिको निर्वाचनसम्म आईपुग्दा परम्परागत राजनीतिक दलका नेतृत्वहरुको स्वार्थ र खिचातानीको सर्वाङ्ग नाचले सिँगो मुलुक बन्धक बनेको छ । राजनीति केहि थान स्वार्थी नेताहरुको सत्तालिप्साको हतियार बनेको छ । एक किसिमले भन्नु पर्दा समग्र राजनीति रोमाञ्जन खेलको खेल मैदानमा सीमित बन्दै गएको देख्न सकिन्छ । यहाँ राजनीति विचार, सिद्धान्त, दर्शन, आर्दश र लोककल्याणका विषय एवं जनमुद्दाहरु लगभग गौण बन्दै जान थालेका छन् । सत्ता र शक्तिको लागि एउटा नेता अर्को नेताको विरुद्ध खनिएको छ । एकले अर्कालाई खुट्टा तानेर पछारेको अनौठो दृष्यले दर्शकका रुपमा नजिर त रत्तिन सकिएला तर यस्तो संस्कार र सवृतिले जरो गाड्दै जाँदा राजनीतिक मूल्य–मान्यता धराशायी हुँदै अस्थिरता र निराशातर्फ जाने खतरा त्यतिकै बढेर जाने छ । यो लोकतान्त्रिक प्रणालीमा आस्था र विश्वास राख्ने आमजन तथा यसै प्रणालीलाई सुदृढ बनाउँदै लाने चहाना र सपना बोकेका अधिकांश समाजका लागि गम्भिर चिन्ता र चासोको विषय बन्ने पक्का छ । पछिल्लो समय राजनीतिमा इमान्दारिता, नैतिकता र संस्कारको अतिनै खडेरी लागेको छ । राजनीतिमा नै आफ्नो सम्पूर्ण जीवन वेतित गरेका परिपक्व अनुभवि जेल, नेल, यातना र संघर्षको मोर्चाबाट खारिएका नेताहरु नै यस्तो संवेदनशील मामिलामा अति नै लापर्वाही तथा कमजोर सावित भएका छन् । भनिन्छ खुसी तब मिल्छ जब तिमीले सोच्ने, तिमीले बोल्ने र तिमीले गर्ने व्यवहार अनि कुराबीच मेल खान्छ । तर हाम्रो राजनीतिमा त्यस्तो पटक्कै देखिंदैन । नेतृत्वको व्यवहारवादी राजनीतिको आवरणमा अवसरवादको यात्रातिर अघि बढेको देखिन्छ । व्यवहारवादको नाममा धेरै अवसरवादी नेताहरुले लोकतान्त्रिक प्रणालीलाई अर्कै किसिमले बुझेका छन् । उनीहरुलाई अहिल्यै पनि लाग्ने गर्दछ, सडकदेखि सदनसम्म र नागरिकदेखि नेता सम्मले अवरोध गर्न पाउनुनै लोकतान्त्रिक व्यवस्था हो । यो व्यवस्थामा जो कोहिलाई पनि यो छुट र अधिकार प्राप्त छ । लोकतान्त्रिक प्रक्रियालाई जसले पनि अल्मलाउने अधिकार पाएको छ । देश र जनताको उन्नती र प्रगतिलाई नै बन्धक बनाउन पाउने छुट दिएको छ । मुलुकको सत्ता र शक्तिको बागडोर समालेर बस्ने व्यक्तिहरुले राज्यको गुणात्मक परिवर्तनको झट्कालाई बाधा अर्चन पु¥याउने जस्ता काम प्रति सबैले छुट पाएकै छन् । हाम्रो राजनीतिभित्र व्यवहारवाद न्यून, अवसरवाद अधिक रुपमा हावी हुँदै गएको छ । व्यवहारवादबाट एउटा निष्ठा र कर्मठ योद्धाको जन्म हुन्छ तर अवसरवादको गर्वबाट जालझेल, कपट, छलछाम र समाज विर्शजनको दुर्गति जन्माउँछ । व्यवहारवादले राष्ट्र र जनताको सामुदायिक हित स्वार्थको जिम्मेवारी बोक्छ । तर अवसरवादले नीजि स्वार्थ परिवारवादको दुर्गन्ध फैलिएको लास बोक्छ ।
व्यवहारवादले संस्थागत निरन्तरता, सुख, शान्ति अनि मुलुकको विकास र समृद्धिको पक्ष पोषण गर्ने गर्छ तर अवसरवादले व्यक्तिगत हित सहित लोकप्रियताको झुटो डम्फु बजाउने गर्छ । राजनीति भित्र मुठ्ठिभरका एक हुल मान्छेहरुले व्यवहारवादको नक्कली ढोङ्ग मन्चन गरेर अल्मलाउने कोशिस गरिरहेछन् । त्यो वास्तवमै असली अवसरवाद नै हो । राजनीतिक सप्तरंगी आचरण भएका, व्यक्तिगत लाभमा लोकप्रियताको नशामा लठ्ठीएका छल, कपट र व्रम्हलुटवालाहरुको हाली–मुहाली जर्वजस्त हावी भएको छ । राजनीतिक दल र नेतृत्वले ध्यान दिन नसकेको विषय भनेको आम जनता राजनीतिक प्रक्रियाको अभियानमा निस्वार्थ समाहित छन् वा छैनन् ? त्यसको आधार र मापन गर्ने विधि भनेको राजनीतिक नेतृत्वको संस्कार र व्यवहारमा निर्धारण गर्ने विषय हो । नेपालमा राजनीतिक दल र शीर्ष नेतृत्वको संस्कार र व्यवहारकै कारण लामो समयदेखि आजको परिस्थितिसम्म आईपुग्दा आमजनको प्रतिक्रिया र दृष्टिकोण अनुसार समग्र राजनीति घृणा, वितृष्णा र झुटको फोहरी थुप्रोझै लाग्ने गरेको छ । यस्तो क्रियाकलापका कारण आम नयाँ यूवापुस्ताका लागि राजनीति आर्कषित हुन अति नै गाह्रो भएको महसुस सर्वत्र हुने गर्दछ । यसपटक नयाँ यूवा पुस्ता जोस, जाँगर भएका, शिक्षित संसार बुझेका जान्ने, समाज चिनेका, नयाँ सोच भएका, नयाँ बाटो देखेका, नयाँ परिपार्टी बसाल्न सक्ने हुटहुटी भएका नयाँ नेपाल निर्माणको संकल्प र आत्मविश्वास बोकेका यूवा पंक्ति स्थानीय, प्रदेश र संघिय संसदको निर्वाचनमा उम्मेदवार भएर होमिए । उल्लेखित मात्रामा यूवा उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिएर मुलुकको भविष्य र आफ्नो भाग्य निर्माण गर्ने सपना र चाहनालाई साकार पार्न आम नागरिक जागरुक र सचेत भई पूराना घिनलाग्दा, अनुहारप्रति आफ्नो वितृष्णा पोख्न एक हदसम्म सफल पनि भए । विडम्वना नै भन्नु पर्छ आफुलाई समग्र बेथितीको विरुद्ध वैकल्पिक राजनीतिक शक्तिको रुपमा दावी गर्नपछि नपरेका, सिधा साधा जनताको जनमत सोर्नेहरुले पनि अधिकतम् राजनीतिक संस्कार र व्यवहार सुधार गर्नुको साटो उल्टै खराव मानक स्थापित गर्न पछि परेनन् । यसले नेपाली राजनीतिमा नेतृत्वको संस्कार र व्यवहार कहिले स्थापित होला भन्ने प्रश्न जटिल भएर उठिरहेको छ । नेपाली समाजले १०४ वर्ष लामो त्रूmर राणा शासनको भोगपछि २००७ सालमा नेपाली जनताको त्याग, तपस्या, बलिदान र विरताको गाथाबाट राणा शासनको अन्त्यसँगै प्रजातन्त्र स्थापित भयो । त्यस यता विभिन्न विचार, सिद्धान्त, दर्शन र वादमा जेलिदै लगभग सात दशक कठिन अविरल यात्रा जनताले पार गर्दै आउनुप¥यो । यस अवधिमा नेपाली समाजमा भएका विभिन्न राजनीतिक, आर्थिक र सामाजिक असमानता एवं अन्तरविरोधको एजेण्डा मार्पmत पटकपटक राजनीतिक संघर्ष नेपाली समाजमा घनिभुतद्ध रुपमाले ।
२०२८ साल र त्यो भन्दा अघि पछि भएका बामपन्थीहरुको नेतृत्वमा झापा आन्दोलनको संघर्षको गर्वबाट २०४६ सालको जनआन्दोलन जन्मियो भने २०५२ सालको सशस्त्र संघर्ष जनयुद्धको माध्यमबाट २०६२÷६३ को जनक्रान्तिको जन्म भयो । यी दुई ऐतिहासिक आन्दोलन नेपाली राजनीतिक इतिहासको रक्तिम एवं स्वर्णिमसँगै अति नै महत्वपूर्ण आन्दोलनको रुपमा स्थापित भएका छन् । २०४६ सालको जनआन्दोलन मार्पmत निरंकुश राजतन्त्रलाई संविधानको सिमाभित्र वांधिन वाध्य तुल्यायो भने २०६२÷६३ को महान जनयुद्धको जगमा जनआन्दोलनको वलबाट २४० वर्षे इतिहास र विरासत बोकेको सामन्ती राजसंस्थाको जरैबाट उखेलिनु प¥यो । २००७ सालयता सात दशकभन्दा लामो अवधिमा अनेकौं नामधारी व्यवस्था फेरिए तरपनि आमजनको कथा, व्यथा २० को १९ मापनिझर्न सकेन । यो अवस्था सृजना हुनुमा समग्र आम जनताको पनि त्यतिनै दोष देखिन्छ, गलत पात्रको प्रलोभन र दवावमा परि तिनै खराब व्यक्तिलाई चयन गर्ने परिपाटी बसालेपछि उसबाट केही झर्ला र खाउँला भन्नु हाम्रो मुखर्ता मात्र हो । त्यसले उल्टै मुलुक र जनताले नोक्सानी र कष्ट मात्र व्यहोर्नु सिवाय अरु कुनै उपलब्धी हुने छैन। समाजमा केही गर्छु भन्ने इमान्दार पात्र कतै भेटिएता पनि उसलाई असिमित अपेक्षा र महत्वकांक्षाको भारीले थिचि हाल्छ । कुनै नयाँ पात्रले केही गर्न खोज्दा निराश जनताको अपेक्षाको बाँध र धैर्यताको पर्खाल गल्र्यामगुर्लुम भत्कने र उस माथी अविश्वास पैदा हुने तथा गालीगलौजमा उत्रिहाल्ने सधै नयाँ राजनीतिकपात्रको खोजीमा भौतारिने हाम्रो नेपाली समाज लामो समयदेखि यस्तै अस्थिर चरित्रबाट गुज्रिदै आएको प्रष्टै छ । देशमा धेरै राजनीतिक परिवर्तन भए सत्ता फेरियो, शासक फेरियो, विकास, समृद्धि र रोजगारीको योजना सपना बाँडियो तर केही मुठ्ठिभरका शासन र सत्ताका आसेपासेको जीवन र आर्थिक अवस्था फेरिनु बाहेक आम जनताको कुनै दैनिकी अभाव, दुःख,कष्ट र असमानताको खाडलमा कुनै अवस्था फेरिएन राजनीतिक पार्टीहरुका घोषणापत्रमा लेखिएका “समृद्ध नेपाल सुखी नेपाली” समाजवाद उन्मुख हाम्रो नेपालको सुन्दर शब्दको बुट्टा भरेर मुलुकलाई विकासको यूगतर्पm डो¥याउने ठेक्का लिएका नयाँ पुराना राजनीतिक अभियान्ता भन्नेहरु पनि शक्ताको खिची भान्सामा आफनो भाग खोज्न ब्यस्त भए ।
दुःखकष्ट गरेर मानो बेसाएर दुई छाक टार्न धौधौ भएका शरीर राम्रोसँग छोप्न नसकेका, आफ्नै एक टुक्रा जमिनमा ओत लाग्ने झुपडी उठाउन नसकेका आम जनताहरुको सुख र समृद्धि सपनामा मात्र सिमित रह्यो । हिजो क्रान्ति, युद्ध, सत्ता र वर्ग संघर्षको मन्द विष खुवाएर सर्वहारा वर्ग, शोसित, पीडित समुदाय, किसान, मजदुर, दलित, जनजाति, महिला लगायत विभिन्न जातजाति, धर्म, लिंग क्षेत्र तथा अल्पसंख्यक आमजनतालाई किन यूद्धमा र संघर्षमा होमियो ? के आम जनताले गरेका योगदान, त्याग, तपस्या र बलिदान केवल मुठ्ठीभर शासकहरुलाई सत्ताभोग र विलासिता जीवन यापन गर्नका लागि मात्र थियो ? जनताका एजेण्डा के साधनका रुपमा मात्र प्रयोग भएकै हो वा साँच्चिकै आम जनताको जीवन परिवर्तनका निम्ति पनि थियो ?यसको जवाफ कुन पार्टी र कुन नेताले दिने ? मुलुकको मुहार र जनताको जीवन परिवर्तन गर्ने सपना देखाएर हजारौं आमाका होनहार छोराछोरीको संघर्षमा लस्कर लगाएर सहिद, बेपत्ता,घाइते बनाएर ती महान मानवहरुको सपनाको आज व्यापार गर्ने राजनीतिक दलको आफ्ना वाचा र संकल्पहरु आज कहाँपुगे ? समृद्धि शब्दलाई निर्वाचनमा भोट बटुल्ने औजार मात्र बनाएर सधैं जनताको आँखामा छारो हाल्ने राजनीतिक कर्तुत विरुद्ध आम जनताले प्रश्न गर्ने हिम्मत नगर्ने हो भने उनीहरुले गरेका समग्र अपराधको भागिदार सिंगो मुलुक र मुलुकवासी सबै हुनेछन् । यो प्रश्न परम्परागत दल र त्यसका नेतृत्व वर्गलाई मात्र तेर्साएर पुग्दैन नयाँ राजनीतिक पार्टी र त्यसको नेतृत्वहरुलाई पनि हो । नेपालमा प्रजातन्त्र प्राप्त देखि यता ७२ वर्षको यो अवधिमा नामै नसुनिएका मुलुक आज विकास र समृद्धिको शिखरमा पुगि सक्दापनि हाम्रा सत्तासिहासनका महाराजाहरुको घैंटोमा घाम किन लाग्न सकेन ? नेताको घात–राष्ट्रघातका कारण आज मुलुक तङग्रिनै नसक्ने गरी थलिएको छ । आजसम्म मुलुकलाई घात–प्रतिघात गर्ने पार्टी र नेताको क्रियाकलाप विरुद्ध आवाज उठाईयो भने वैतर्नी तरेर वैकुण्ठ नै पुगिन्न भन्ने मानसिकता सबैमा जवर्जस्त विकसित हँुदै गएको देखिन्छ । आफुले फेर्ने स्वास पनि अन्तरघाती दलाल नेताहरुको अधिनमा भएको महशुस गर्ने रावणभक्त नक्कली हनुमान कार्यकर्ता आपूm र आफ्नो पार्टी बाहेक अरुलाई दलाल राष्ट्रघाती देशद्रोही देख्ने खुम्चिएको छाति तीन इन्च फुलाएर गर्वका साथ भन्ने हाम्रो गौरवशाली पार्टी र हाम्रो महानतथा देशभक्त राजनेता समेत भन्न पछि नपर्ने राजनीतिक कु–संस्कार कहिले बदलिने हो ? हतियारले लडिने यूद्धभन्दा कु–विचार र कु–संस्कारबाट लडिने यूद्ध अति नै खतरनाक प्रकृतिको हुने गर्दछ । पार्टी र नेतृत्वले गरेका बेमानी, बेविचार र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनुको साटो सो¥है आना सही भन्नुपर्ने हाम्रो वाध्यताले नेपाली राजनीति अस्तव्यस्त भएको छ । अन्तमाःमुलुक सधैं निर्वाचनदेखि निर्वाचनसम्म र सत्तादेखि सत्तासम्मको फोहरी खेलमा मात्र लागि पर्ने हो कि ? देश, जनताको हक, हित र भलोमा पनि उत्रने हो ?त्यसको जवाफ आम जनताले खोज्नु पर्दछ । सधैं पदको लडाईमा लोकतन्त्र र समाजवाद देख्ने यो व्यवस्था हो भने माथि सत्ता र शक्तिबाट जनताको सुख र समृद्धिमा एकथोपा पनि परिवर्तन नचुहिने हो भने यस्तो व्यवस्थाको के अर्थ भन्ने आवाज विस्तारै विस्तारै चर्किदै जाने लगभग पक्कापक्की छ ।





