2019 June 27/ 04:02: 35pm

काठ चोरी अभियोग

    धुलिखेल/इलाका वन कार्यालय कटृुञ्जेले २०७१ असोज ५ गते विगो तयार गरेको वन ऐन २०४९ को दफा ४९(घ) को कसुरमा सोहि ऐनको दफा ५०(१) (घ) (४) बमोजिम सजायँको माग दावि गरिएको फाईल चर्काे दबाबका बीच अदालत पेश गरिएको छ ।  जिल्ला अदालत काभ्रेले ११ दिनपछि हिरासतमा रहेका रकमसिं घलानलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बाँकी दुईजनालाई पक्राउ पुर्जीको आदेश भएको छ । तत्कालिन सहायक वन अधिकृत उदिमप्रसाद राईले विगो तयार गर्दै दोषि किटान गरिसकेको फाईल चार वर्ष पछि थप अनुसन्धान गरी अदालत बुझाईएको हो । तत्कालिन समयमा राईको अनुसन्धान टोलीले सचेत नागरिक समाज धुलिखेलको सूचनाका आधारमा साविक फोक्सिङ्गटार गाविस ५ ठुलोपोखराका ५० बर्षिय रकम सिंह लामा, साविक बुढाखानी गाविस ४ का ३८ बर्षिय विजय मोक्तान र साविक गोकुले गाविस वडा नम्वर २ का ५२ बर्षिय ज्ञानबहादुर स्याङ्गतानलाई वन हानी नोक्सानी सम्वन्धी मुद्दा दर्ता गरिएको थियो । सालको जातका चिरान काठ परिणाम ४४९.७१ क्युफिट(३८४ थान) तथा गोलिया काठ परिणाम (क्युफी) ६२९.५९ रहेको थियो । ८ सय रुपैया राजश्वको दरले ५ लाख ३ हजार ६ सय ७२ रुपैया विगो कायम गरिएको थियो । विगो बराबर १० लाख ७ हजार ३ सय ४४ रुपैया र एक वर्ष कैद माग गरिएको थियो । वन नियमावली २०५१ को अनुसूची ७ (घ) बमोजिम चिरानी काठलाई गोलिया काठमा परिवर्तन गरी सोहि नियमावलीको अनुसूची २ बमोजिमको मुल्य दर अनुसार विगो कायम गरिएको थियो । 
    २०७१ साल देखि फरार रहेका सालका काठ विना इजाजत बन पैदार ओसारपसार गर्ने रकम सिं घलान सहितको समुहलाई पक्राउ गर्न इलाका बन कार्यालयले पटक पटक पत्र काटेको थियो । पत्र गए पछि रकम सिं घलानले २ लाख रुपैया खर्च गरी उदिमप्रसाद राईलाई मिलाउँदै आएका थिए । त्यसकै आडमा उनी स्थानीय निर्वाचनमा उम्मेदवार समेत बने । समाजसेवीका नाममा अबैद्य कारोवार र धन्दा चलाएका रकम सिंह लामाको समुहले ४५ लाख रुपैया युवा स्वरोजगार कोषको रकम हिनामिना गरेको छ । जसका नाममा ल्याएको सहुलियत रकम उसले देख्नै नपाएको गुनासो युवाहरुले गरेका छन् । काभ्रे र सिन्धुलीमा पर्ने सरकारी जंगलबाट ३५ देखि ४० वटा रुखहरु अवैद्य तरिकाले कटान गरी महाभारत गाउँपालिका वडा नम्वर ६ बनखु काउलेभञ्ज्याङ्ग भन्ने स्थानमा साल प्रजातीको विभिन्न  नापसाईजको ३८४ थान काठ लुकाई छिपाई राखेको पुष्टि भएको मुद्दा सरकारी वकिल कार्यालय काभ्रेमा पेश गरिएको थियो । सरकारी वकिल कार्यालयले इलाका वन कार्यालय कटुञ्जेले मागेको राय अनुसार ऐन अनुसार आरोपितहरुले वन पैदार ओसारपसार विना ईजाजत लगेको पुष्टि भएको निर्णय दिएको छ ।     अभियोग लागेका मध्ये रकम सिं घलान काठमाडौको स्वयम्भुमा लुकेर बसेको अवस्थामा पुष १४ गते प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका घलानलाई अनुसन्धान अधिकृत उदिमप्रसाद राईले रकम लिएको हिसाव मिलाउने नाममा आईतबार राति नै छाडिदिएका थिए । रकम सिं घलान सहितलाई नेताहरु र उनका समर्थकहरुले राति नै विजय जुलस गर्दै खादा ओढाएर स्वागत गरेका थिए । लगत्तै रकम सिह घलानलाई पुष १६ गते देखि बुडोल स्थित बन कार्यालयका कर्मचारीको जिम्मेवारीमा राखिएको थियो । पहिलो पटकको म्याद भित्र अदालत बुझाउने पटक पटकको प्रयास उदिम प्रसाद राईको असफल भयो । अनुसन्धान पुरा नगरी गएको फाईल सरकारी वकिल कार्यालयबाट दुई पटक फर्किएको थियो । दोश्रो पटक १९ गते ७ दिनको म्याद लिएर अनुसन्धान गरिएका रकम सिं घलानका साक्षीहरुले काठ काटिएको बयान दिएका छन् । अनुसन्धानका क्रममा रकम सिं घलानले चलाउँदै आएको ९८५१०३४९७० नम्वर उनका नाममा नभएको, रकम सिं घलान र लामा एउटै ब्यक्ति नभएको भन्दै मुद्दा तन्काउँदै लगिएको हो । वडा नम्वर ३ का अध्यक्ष ज्ञानबहादुर लामाले रकम सिं घलान र लामा एकै ब्यक्ति भएको सिफारिस गरिएको छ । रकम सिंह घलान बाहेकका अन्य दुई अझै फरार छन् । 
    नेपाल स्कुल अफ प्रोजेक्टमा समेत आवद्ध रहि स्थानीय निर्वाचनमा महाभारत गाउँपालिकामा उम्मेदवार समेत भएका रकम सिं घलान सालका रुख काटेर बेपत्ता भएको अभियोगमा चार वर्ष पछि पक्राउ परेका थिए । चोरीमा संलग्न दुई जना अझै फरार छन् । २०७१ साल असोज महिना देखि धमाधम सालका रुख काटेर विक्री गर्ने क्रममा जिल्ला बन कार्यालय काभ्रेमा उजुरी दर्ता भए सँगै कागजमा फरार देखिदै आएका थिए । सालका रुख काटेर विक्री गर्न राखिएको ४ सय ४९ क्यु फिट सालका काठ डाँडापारीका बनखु लगायतका क्षेत्रमा काटिएको थियो । उजुरी परे लगत्तै जिल्ला बन कार्यालयले इलाका बन कार्यालय कटुञ्जेका रेञ्जर उदिमप्रसाद राईलाई अनुसन्धान अधिकृत तोकिएको थियो । सरकारी बनबाट सालका रुख काट्ने रकम सिं घलान लामा र विजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले पटक पटक माग गरेका थिए । अनुसन्धान अधिकृत राईले दुबै ब्यक्ति फरार रहेकाले अनुसन्धान समेत प्रभावित भएको बताए । उनिहरुले सालका रुख काट्न लगाएका मजदुर नन्दे मोक्तानले उनिहरुकै कारण आत्महत्या गरेको परिवारले बताएको छ । पछि नन्देको श्रीमतीलाई प्रभावित बनाई रकम सिं घलानले उनको समेत केहि रकम खर्च गरिदिएका छन् । 
    साविक बनखु गाविसको वडा नम्वर १, ३, ४  र सिन्धुलीको कपालकोटमा पर्ने सरकारी वनको सालको रुख चोरी निकासी गरेको अयिभोगमा मुद्दा दर्ता भएको हो । २०७१ साल मसिंरमा भएको अबैद्य साल चोरी प्रकरण चार वर्ष देखि गुपचुप पारेको रहस्य खुलासा भएको थियो । सालको काठको चोरी निकासीको मुद्दा सँगै महाभारतमा बँदेल चोरी गरी मासु विक्री भईरहेको मुद्दा अझै टुङ्गिएको छैन । त्यसको अनुसन्धान अधिकृत पनि राई नै थिए तर उनी अनुसन्धान नै नसकाई रमाना लिएर प्रदेश १ मा जाने तयारीमा छन् । समाचार प्रकाशन भए लगत्तै रकम सिं घलानका समर्थकहरुले सामाजिक सञ्जालमा विद्यूत्तिय कारोवार ऐन विपरित गाली बर्षाएका छन् ।