2019 March 22/ 02:03: 59am

खानिखोला
ताल्ढुङ्गा
    निर्वाचित जनप्रतिनिधिहरुले विकट क्षेत्र खानिखोलालाई सम्वृद्ध बनाउन नागरिकहरुलाई आत्मनिर्भर बनाउने योजनालाई ब्यवहारमै कार्यान्वयन गर्न थालेका छन् । 
    सडक सञ्जालबाट पछि परेको गाउँपालिकालाई जनप्रतिनिधिहरुकै पहलमा सवारी साधन आवतजावत हुन थालेपछि उत्पादनलाई ब्यवसायीक बनाउन तालिम उपलब्ध गराएको छ । ‘परम्परागत उत्पादनहरु ब्यवसायीक बन्न सकुन’–गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने–‘युवाहरु विदेशिने क्रम बढेकाले युवा लक्षित कार्यक्रम तय गरी ब्यवसायीक तालिम प्रदान गरिएको छ ।’ गाउँपालिकाका सबै वडाहरुमा यस्ता तालिम वडा स्तरमै आयोजना गरिएको छ । तालिम पश्चात आवश्यक सहुलियत विउ विजन तथा प्राविधिक सहयोग समेत उपलब्ध गराईएको छ । बेमौसमी तरकारी खेतिमा गाउँपालिकाले तालिम मात्रै प्रदान गरेको छैन युवाहरुलाई खेतिका लागि आवश्यक पर्ने अन्य क्षेत्रमा पनि सहयोग गर्ने नीति बनाएको छ । अलैची खेति तथा कफि खेतिलाई ब्यवसायी बनाई प्रशोधन गरेर मात्रै विक्री गर्ने योजना अघि सारिएको छ । अदुवा तथा बेसार उत्पादनको विस्तार तथा ब्यवसायीक उत्पादनका लागि प्रत्येक वडामा युवाहरुलाई तालिम प्रदान गरिएको छ । 
    ‘पहिलो चरणमा युवाहरु लक्षित कार्यक्रमलाई तालिम र सहयोग प्रदान गर्ने र दोश्रो चरणमा उत्पादन मार्फत आय आर्जन गरी आत्मनिर्भर बनाउन तप सहयोग गर्ने योजना बनाएका छौं’–अध्यक्ष खुलालले भने–‘ब्यवसायीक खेतिसँगै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा सडक, विद्यालय भवन निर्माण, स्वच्छ खानेपानी जस्ता विषयमा ध्यान दिएका छौं ।’ संचार र सडक सञ्जालबाट समेत पछि परेको खानिखोला दुबै कुरामा सक्षम भएको छ । नेपाल टेलिकमले दुबै खालका टाओर सोलार सहित निर्माण गरी सञ्चालनमा ल्याएपछि संचारबाट पछि परेका खानिखोला सुगम जस्तै भएको छ । केन्द्रिय सडक खोपासी ताल्ढुंगाको निर्माण कार्य सम्पन्न भई सडक सूचारु भएको छ भने ललितपुर जिल्ला हुँदै जाने सडकबाट नियमित बस सेवा शुरु भएको छ । ग्रामिण क्षेत्रको विद्युत्तिकरणलाई अझै ब्यवस्थित गर्दै केन्द्रिय प्रशारण लाईन पु¥याउन बोलपत्र आब्हान भईसकेको छ । जुन जुन क्षेत्रबाट डाँडापारी पछी परेको भनिएको थियो त्यहि त्यहि क्षेत्रको विकास भए पछि डाँडापारी हरेक हिसावले सुगम जस्तै बन्न थालेको छ । विहान खानिखोला गाउँपालिका केन्द्रबाट आधा दिनमै सदरमुकाम आईपुग्ने गरी सडक र सवारी साधनको नियमितता हुन थालेको छ । बहुचर्चित खोपासी ताल्ढुंगा सडक जनप्रतिनिधि निर्वाचित भए लगत्तै संचालनमा आएको थियो । उक्त सडक निर्माणमा स्तरोन्नतीका लागि प्रदेश सरकारले ५० लाख रकम चालु वर्षमै खर्च गर्ने गरी विनियोजन गरेको छ भने ताल्ढुंङ्खा बजारको सडक स्तरोन्नतीका लागि ७० लाख रकम विनियोजन गरेको छ । 
    खोपासी–ताल्ढुङ्गा सडक निर्माणको कार्य सम्पन्न हुन नसक्दा मकवानपुर, ललितपुर हुँदै काभ्रेपलाञ्चोक जिल्ला पुग्नु पर्ने बाध्यता थियो । गाउँपालिकाले च्याल्टी फलामेटार सडक, डाँडागाउँ भाङ्गटार सडक, डाँडागाउँ धार्नी सडक, ताल्ढुङ्गा जगथली सडक, ताल्ढुङ्गा बाझगाउँ सडक, बोराङ्ग ताल्ढुङ्गा सडक, माझिटार बल्देउ सडक, माझिटार मासबारी सडक, मासबारी कुस्पा सडक, खजुलीबेशी धाप्ले सडक, धाप्ले बोराङ्गबेशी सडक, धाप्ले मिल्चे सडक, दयागाउँ खोरभञ्याङ्ग महादेवटार सडक, खोरभञ्ज्याङ्ग भिमसेन डाँडा सडकलाई स्तरोन्नती तथा  निर्माण गरिएको छ । सबै वडा कार्यालयबाट सवारी साधनको प्रयोग गरी गाउँपालिकाको केन्द्रमा आईपुग्न सहज होस् भन्ने हेतुले गाउँपालिकाले पहिलो प्राथमिकतामा सडक राखेर काम शुरु गरेको अध्यक्ष खुलालले बताए । दर्जन भन्दा धेरै सडक निर्माण भए पनि अझै मिल्चे र फलामेटारबाट सडक केन्द्रसम्म जोडिएको छैन । गाउँपालिकामा रहेका ३६ वटा विद्यालयलाई झण्डै २ करोड भन्दा धेरै रकम विनियोजन गरिएको छ । मावि ६ वटा, निमावी २ वटा र प्रावि २८ वटा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको क्षमता अभिबृद्धी र भौतिक पूवार्धार पहिलो प्राथमिकतामा राखिएको छ । विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ । केन्द्रमा रहेको विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । 
    सरकारले निशुल्क उपलब्ध गराउने भनिएका सबै औषधीहरु उपलब्ध गराईएको छ । जिल्ला र केन्द्रबाट प्राप्त हुने औषधी गाउँपालिकाबाटै खरिद गर्न लागिएपछि सर्वसाधारणलाई सहज भएको छ । सबै वडामा खानेपानी उपलब्ध गराउने अभियान शुरु भएको छ । बृहत्त खानेपानी योजना मार्फत खानेपानी नपुगेका वडाहरुमा खानेपानी उपलब्ध गराउने योजना अघि सारिएको अध्यक्ष खुलालले बताए । अस्पतालका लागि जग्गा ब्यवस्थापन गरिएको छ । गाउँपालिकाको भवन निर्माणका लागि पनि जग्गा ब्यवस्थापन गरिएको छ । साक्षर र खुल्ला दिशामुक्त गाउँपालिका निर्माण भएको छ । खुल्ला दिशामुक्त गाउँपालिका शनिबार मात्रै घोषणा गरिएको छ । गाउँपालिकाले जनहितका लागि भन्दै सफा, हराभरा बनाउन गाउँबासी एक भै जुटन् आब्हान गरेको छ । गाउँपालिका क्षेत्र भित्र रहेका सडक सार्वजनिक स्थलमा जथाभावी फोहर नफाल्न, आफ्नो घर आाँन सधै आफै सफा राख्न, प्लालिस्टक जथाभावी नफाल्न तथा प्लास्टिकमुक्त गाउँ बनाउने अभियानमा सहयोग गर्न, घर वरपर बोट विरुवा रोपी हरियाली बनाउन, सडक पेटीमा आफ्ना पशु चौपाया जथाभावी नछाड्न, ब्यवसाय संचालन गर्दा ब्यवसाय दर्ता गरेर संचालन गर्न अनुरोध गरेको छ । त्यस्तै घर निर्माण गर्दा अनुमति लिन, बालबालिकालाई घरेलु काममा होईन विद्यालयमा पठाउन, विकास निर्माण कार्यमा जनसहभागिता जुटाउन, घरेलु हिसा विरुद्ध डटेर लड्न र सभ्य समाजको निर्माणमा सहयोग पु¥याउन तथा घर जग्ग सम्पति कर र मालपोत कर समयमै बुझाउन नागरिकहरुलाई अनुरोध गरेको अध्यक्ष खुलालले बताए । 
    खानिखोला गाउँपालिकाको वडा न.६ थुम्किमा रहेको नेपाल टेलिकमको टाओर संचालनमा आएको छ ।