2019 January 19/ 07:55: 43pm

    बनेपा/नेपाल स्कुल अफ प्रोजेक्टका अध्यक्ष तथा स्थानीय निर्वाचनमा महाभारत गाउँपालिकामा उम्मेदवार समेत रहेका साविक फोक्सिङ्गटार गाविस वडा नम्वर ५ ठुलोपोखरा घर भएका रकम सिं घलान(लामा) सालका रुख काटेर बेपत्ता भएका छन् । 
    पाँच वर्ष अघि २०७१ साल कार्तिक महिना देखि धमाधम सालका रुख काटेर विक्री गर्ने क्रममा जिल्ला बन कार्यालय काभ्रेमा उजुरी दर्ता भए सँगै उनी फरार देखाईएको थियो । उनले काटेर विक्री गर्न राखिएको ४ सय ४९ क्यु फिट सालका काठ डाँडापारीका बनखु लगायतका क्षेत्रमा काटिएको थियो । उजुरी परे लगत्तै जिल्ला बन कार्यालयले इलाका बन कार्यालय कटुञ्जेका रेञ्जर उदिमप्रसाद राईलाई अनुसन्धान अधिकृत तोकिएको थियो । राईको टोलीले उजुरी अनुसार फोक्सिङ्गटार घर भएका रकम सिं घलान र लामा एकै ब्यक्ति भएको र उनकै नेतृत्वमा विजय लामा र उनका सहयोगी ज्ञानबहादुर स्याङ्गतान समेतले  काठ चोरी निकासी गर्ने मनसायले सालका रुखहरु काटेको प्रमाण संकलन गरेको थियो । उनले काटिरहेको काठ बरामद गरी स्थानीय सामुदायिक बन उपभोक्ता समुह र काठको गोदाम सँगै रहेका घर धनीलाई जिम्मा लगाईएको छ । ‘मुचुल्का समेत गरी हामीले सालका काठ जिम्मेवारीमा राखेका छौ’–अनुसन्धान अधिकृत राईले भने । 
    ‘२०७१ साल मसिंर महिना देखि नै हामीले अनुसन्धान गरिरहेका छौ’–उनले भने–‘रकम सिं घलान, विजय लामा र ज्ञानबहादुर स्याङ्गतान फरार छन्, पक्राउका लागि प्रहरीलाई पटक पटक पत्र पठाई सकेका छौं ।’ प्रहरीले पक्राउका लागि पटक पटक उनिहरुको ठेगानामा पत्र सहित प्रहरी पठायो तर उनिहरु सधै शहरमा बस्ने र प्रहरी पुग्ने बेला गाउँमा नहुने भएकाले अनुसन्धान समेत प्रभावित भएको राईले बताए । काठको चोरी निकासी गर्ने र कटानी गर्ने ब्यक्तिहरुको पहिचान भई मुद्दा समेत दर्ता भई सकेकाले छिट्टै प्रकृयामा टुङ्गिने राईले बताए । सरकारी बनबाट सालका रुख काट्ने रकम सिं घलान लामा र विजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले पटक पटक माग गरेका थिए । अनुसन्धान अधिकृत राईले दुबै ब्यक्ति फरार रहेकाले अनुसन्धान समेत प्रभावित भएको बताए । उनिहरुले सालका रुख काट्न लगाएका मजदुर नन्दे मोक्तानले उनिहरुकै कारण आत्महत्या गरेको परिवारले बताएको छ । पछि नन्देको श्रीमतीलाई प्रभावित बनाई रकम सिं घलानले उनको समेत केहि रकम खर्च गरिदिएका छन् । 
    साविक बनखु गाविसको वडा नम्वर १, ३, ४ मा पर्ने सरकारी बनको सालको रुख चोरी निकासी गरेको अयिभोगमा मुद्दा दर्ता भए पनि रकम सिं घलान पक्राउ परेका छैनन । २०७१ साल मसिंरमा भएको अबैद्य साल चोरी प्रकरण चार वर्ष देखि गुपचुप पारेको रहस्य खुलासा भएको हो । पार्टी निकट रही पैसा र विचारका हिसावले संरक्षण पाउँदै आएका रकम सिं घलान स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । घलानको धन्दा बँदेल लगायतका बन्यजन्तु चोरी निकासी गरी विक्री वितरण गर्ने, सालको काठ चोरी गरी विक्री गर्ने लगायत रहँदै आएको खुलासा भएको छ । रकमले युवा स्वरोजगार कोषबाट ४५ लाख रकम युवाहरुको क्षेत्रमा लगानी गर्ने उदेश्यले ल्याए पनि आफै चलाई अनियमितता गरेको बताईएको छ । त्यस्तै उनि अध्यक्ष रहेका नेपाल स्कुल परियोजनामा समेत संचालक समितिहरुलाई गुमराहमा राखी लाखौ रकम अनियमितता गरेको सदस्यहरुले बताएका छन् । एनजिओ मार्फत विकास निर्माण र सामाजिक अभियानमा लागेको देखाउने रकम सिं घलानको भित्री रहस्य मुद्दा दर्ता सँगै पर्दाफास भएको छ । रकम सिं घलान र ज्ञानबहादुर स्याङ्गतान समेतको टोलीले महाभारत क्षेत्रको महङ्गा प्रजातिहरुको समेत चोरी निकासी गरेको स्थानीयहरुले आशंका गरेका छन् । सालको रुख, बँदेल समेत चोरी गर्ने उक्त समुहलाई हदैसम्मको कारवाहीको माग गरिएको छ । 
    रकम सिं घलान फरार भन्ने देखिए पछि उनका बारेमा नेपाल स्कुल पोजेक्टमा बुझ्न पत्र पठाईएको थियो । घलानले चेष्टालाई पठाएको खण्डन पत्रमा त्यस्तो पत्र नभएको बताएका छन् । उनले प्रयोग गर्ने नेपाल टेलिकमको पोस्टपेड नम्वर परिवर्तन गरिएको छ । ९६१४४९३७४४ नम्वरमा सम्पर्क हुन सक्दैन । विजय मोक्तानको ९८१८९९९७४३ नम्वरमा आगमन कल निशेध गरिएको छ । जिल्ला बन कार्यालयको सूचीमा फरार रहेका उनिहरु २४ घण्टा बनेपा आसपासमा आवतजावत गरिरहेका छन् । चेष्टाले दुई साता अघि उक्त विषयको समाचार प्रकाशन गरे सँगै मुद्दा अगाडी बढेको छ । जिल्ला बन कार्यालय काभ्रेका प्रमुख बद्री कार्कीले मुद्दाको अनुसन्धान भईरहेको बताए । 
    
    


    उता सालको काठको चोरी निकासीको मुद्दा सँगै महाभारतमा बँदेल चोरी गरी मासु विक्री भईरहेको छ । उक्त क्षेत्रमा लामो समय देखि बँदेल चोरी हुँदै आएको थियो । अवैद्य रुपमा बँदेल नियन्त्रणमा लिई घरमा पाल्ने र मासु काटेर विक्री हुने गरेको थियो । जिल्ला बन कार्यालयको सक्रियता नहुँदा भईरहेको चोरी निकासी पछिल्लो समय मुद्दा परे सँगै रोकिएको छ । जिल्ला बन कार्यालय काभ्रेपलाञ्चोकमा महाभारत गाउँपालिका वडा न ३ घर भएका ४९ बर्षिय रकम सिं घलान लामा, ३८ बर्षिय विजय मोक्तान, वडा नम्वर ४ का ४७ बर्षिय केशर सिं वाईवा,  वडा नम्वर ४ कै ४८ बर्षिय डिलबहादुर वाईवा र ३२ बर्षिय सुन्दर लामाले महिनाका ५÷७ वटा बँदेल चोरी गरी काटेर विक्री गर्दै आएको उजुरी दर्ता भएको थियो । जिल्ला बन कार्यालय काभ्रेका प्रमुख बद्री कार्कीले उजुरी आए लगत्तै अनुसन्धान टोली गठन गरी कारवाही प्रकृया अगाडी बढाएको बताए । वडा नम्वर ४ स्थित महादेवटारमा रक सिं घलानको टहरोमा २०७५ असोज २८ गते, असोज २९ गते राति १० बजे र २०७५ साल कार्तिक २६ गते रातको १२ बजे बँदेल काटेर विक्री गरेका थिए । बँदेल काटेर मासु भाग लगाईरहेको तस्विर सहित महाभारत गाउँपालिका वडा नम्वर ४ कै पातलीमाया घिसिङ्ग मोक्तानले जिल्ला बन कार्यालयमा उजुरी गरेकी हुन् । 
    बँदेल चोरी गर्ने समुहले तारखस्यो स्थानबाट नियन्त्रणमा लिने गरेका छन् । हात हतियार समेत प्रयोग गरी सानो जातको बँदेललाई घाईते बनाउँदै चोरी सिकारी गरी रकम सिं घलान समुहले पटक पटक काटेर मासु विक्री गर्दै आएका थिए । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ का दफा २६ (२) ले बन्यजन्तु चोरी शिकारी गर्न पाईदैन । बन्य जन्तु ऐनले चोरी शिकारीमा संलग्न ब्यक्तिहरुलाई कैद र जरिवनाको ब्यवस्था गरेको छ । जिल्ला बन कार्यालयले गठन गरेको अनुसन्धान टोलीले घटनास्थलको स्थलगत मुचुल्का गरी सर्जिमिन समेत गरिसकेको छ ।