2024 April 26/ 10:42: 31pm

    बनेपा/नेकपा एमाले बनेपा नगरपालिका वडा नम्वर १० कमिटीले निर्वाचनमा सहभागि स्थानीयहरुलाई धन्यवाद दिदै विकास र निर्माणका कार्यमा हातेमालो गर्न आब्हान गरेको छ । अध्यक्ष चन्द्रबहादुर खड्काले विगत पाँच वर्षको अनुभव सँगै शुरु गरिएका क्रमागत योजनाहरुलाई आगामी पाँच वर्ष भित्र पुरा गर्ने बताउनु भयो ।
    नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै बास्कोटाले एमालेले शुरु गरेका विकास निर्माणका कार्यलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । बनेपामा विकासका धेरै ठुला ठुला आयोजनाहरु शुरु भए पनि अवरोध कायम रहेकाले सम्पन्न हुन नसकेको बताउनु भयो । फोहोर ब्यवस्थापन, एकीकृत खानेपानी, करिडोर लगायतका क्षेत्रमा एमाले नेतृत्वले शुरु गरेका आयोजनाहरु सम्पन्न हुन नदिएको बास्कोटाले बताउनु भयो । बनेपा पनौती र धुलिखेलको करिडोर निर्माण गर्न ५१ करोड रकम मन्त्री बास्कोटा हुँदा विनियोजन भएको थियो । स्थानीयहरुले मापदण्ड देखाउँदै दर्ता गरेको मुद्दाका कारण करिडोर निर्माण हुन सकेन भने अहिले पनि पुलबजार क्षेत्र डुबानमा परेको छ । एकिकृत खानेपानी आयोजनामा पनि मुद्दाका कारण अवरोध भएको छ भने फोहोर मैला ब्यवस्थापनमा पनि तत्कालिन समयमा नेपाली काँग्रेसका कारण अवरोध हुन पुगेको छ । अहिले काँग्रेस नेतृत्वले नगर प्रमुखमा विजयी भएसँगै फोहोर ब्यवस्थापनमा विगतको जस्तै रटान लगाउन खोजिएको भन्दै नागरिकहरुको हितमा हुने जुनसुकै विकासमा एमालेले सहकार्य गर्न बताउनु भयो । साँगामा निर्माण भएको प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी तथा अन्य पूर्वाधारहरुले बनेपा नगर थप सम्पन्न बनाउनु पर्ने बास्कोटाले बताउनु भयो ।
    कार्यक्रममा एमाले बनेपा अध्यक्ष रत्नकुश रञ्जितले एमाले प्रतिको सद्भाव र मायालाई आगामी दिनमा थप सुदृढ बनाउन अपिल गर्नु भयो । प्राविधिक कारण मात्रै नगर प्रमुख पदमा पराजय भएको बताउँदै रत्नकुशले उपप्रमुख सहित बहुमत सदस्यले नगरपालिकाको विकास र समृद्धिमा एमालेको घोषणापत्रलाई कार्यान्वयन गर्ने बताउनु भयो । कार्यक्रममा वडा कमिटी अध्यक्ष पवन केसीले मतदाताहरुले विगतमा पु¥याउनु भएको योगदानलाई धन्यवाद दिदै आगामी निर्वाचनमा झनै सक्रियता बढाउन अनुरोध गर्नु भयो । कार्यक्रममा एमाले केन्द्रीय कमिटी सल्लाहकार यादव थापा, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, वडा कमिटी पदाधिकारीहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।