2024 April 26/ 10:39: 44am

पर्यटन र ब्यवसायमा सहकार्य
    धुलिखेल/धुलिखेलमा पर्यटनको विकास र ब्यापार प्रर्वद्धन गर्ने उदेश्यले दक्षिण कोरियाको बुसान नगरपालिका र धुलिखेल नगरपालिका बीच दुई पक्षीय छलफल भएको छ । 
    नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु र बुसान नगरपालिकाका मेयर ओम केओ दोन बीच दुई पक्षीय छलफलका क्रममा बुसानमा सेप्टेम्बरमा हुने पर्यटन सम्मेलनमा धुलिखेलका पर्यटन ब्यवसायीहरुलाई सहभागी हुन मेयरले निमन्त्रणा गरेका छन् । चीनको ग्वान्झाउमा भएको भेटघाटका क्रममा मंसिर २१ गते दुई देशका नगर प्रमुखहरु बीच उक्त छलफल भएको हो । धुलिखेलमा रहेका पर्यटन ब्यवसायीहरुलाई बुसानमा आउन निमन्त्रणा दिएका मेयर ओह केओ देनको टोली निकट भविश्यमै धुलिखेल नगरपालिकाको निमन्त्रणामा धुलिखेल आउने प्रतिबद्धता ब्यक्त गरेका छन् । उक्त भेटमा धुलिखेल नगरपालिका टुरिजम प्रमोशन अर्गनाईजेशन एसिया प्यासिफिकको सदस्य हुने र पर्यटन विकासमा दुई नगर र पर्यटनसँग सम्वन्धित संस्थाले सहयोग गर्ने सहमति भएको छ । 
    उक्त सहमति र छलफलबाट धुलिखेलको पर्यटन विकास र विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । 

फ्रि वाईफाई र सिसी क्यामेरा
    पर्यटकीय नगरीका रुपमा चिनिएको धुलिखेल नगर शिक्षा तथा स्वास्थ्यको हब बन्दै गएको छ । सुचना प्रविधिमा समेत फड्को मार्ने अभियानमा रहेको नगरपालिकाले ब्यस्त चोकहरुमा पार्कको निर्माण गरी सोहि पार्कमा फ्रि वाई फाईको सेवा शुरु गरेको छ । अनलाईन मार्फत करको भुक्तानी र जानकारी समेत शुरु गरेको नगरपालिकाले फ्रि वाईफाईसँगै सिसी क्यामेरा जडान मार्फत सुरक्षित नगर बनाउने अभियानलाई तिब्र बनाएको छ । 
    नगरपालिकाका महत्वपूर्ण पर्यटकीय स्थलहरु, मुख्य बजार, सांस्कृतिक महत्वका स्थान, राजमार्ग तथा चोकहरुमा फ्रि वाईफाई हटस्पट स्थापना गर्ने नगरको गुरु योजना रहेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताए । नगरको गुरु योजना अनुसार वडा नम्वर ८ को भट्टेडाँडा क्षेत्र र हजार सिंढी क्षेत्र, वडा नम्वर ७ को सरस्वती पार्क र नारायणस्थानमा फ्रि वाईफाई जडान भई सेवा शुरु भएको सूचना प्रविधि अधिकृत बलराम धिमालले जानकारी दिए । त्यस्तै धुलिखेल बसपार्क, २८ किलो चोक, श्रीखण्डपुर चोक, अस्पताल चोक, काभ्रे भञ्ज्याङ्ग, देवीस्थान मन्दिर लगायतका स्थानमा पहिलो चरणमा वाईफाई जडान गर्ने योजना भएको सूचना प्रविधि अधिकृत धिमालले बताए । 
    नगरलाई सुरक्षित बनाउन नगरका सबै वडामा सिसी क्यामेरा जडान गर्ने डिटेल सर्भे गरिएको छ । सर्भे अनुसारको बजेट र क्यामेराको विषयमा आज विहिबार सरोकारवालाहरुसँगको अन्र्तक्रिया राखिएको कार्यवाहक नगर प्रमुख एवं नगरपालिका उपप्रमुख विमला शर्माले बताईन् । नगरपालिकालाई पर्यटकीय क्षेत्रको विकास गर्न र पर्यटकहरुका सुरक्षा र सहज बसाई बनाउन ब्यवस्थापन गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए ।