2018 December 15/ 10:24: 20pm

मोतीराम तिमल्सिना
गोकुले, महाभारत

    घण्टौ हिडेर विद्यालय आउनु पर्ने अवस्थाका विद्यार्थीहरु कि विद्यालय छाड्ने कि त डेराकै भर पर्नु पर्ने बाध्यता छ । विद्यालयमा छात्राबास नहुँदा महङ्गो भाडा तिरेर बस्न बाध्य विद्यार्थीहरुले विचमै विद्यालय छाड्ने गरेका छन् । 
    गोकुले माध्यमिक विद्यालयमा भर्ना भएका झण्डै ३ सय विद्यार्थीहरु डेरामा बसेर अध्ययन गरिरहेका छन् । ‘घरबाट दैनिक आउन जान सम्भव नभएकाले डेरा लिएर बसेका छौ’–विद्यार्थी रमण तामाङले भने–‘डेरा पाईदैन, पाईएको डेरामा पनि पानी लगायतको समस्या छ ।’ गोकुलेमा डेरा भाडा एक हजार रुपैयासम्म तिर्नु पर्छ । केहि साथीहरु सहकार्यमा एउटै कोठामा बस्दा पनि शौचालय र पानीको समस्या हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । अध्ययन गर्ने रहर हुँदा हुँदै पनि भौगोलिक अवस्थाका कारण धेरै विद्यार्थीहरुले बीच समयमै विद्यालय छाड्ने गरेका छन् । पैसा तिरेर पढाउने क्षमता नभएका अभिभावकहरुले सन्तानलाई डेरामा राखेर पढाउन असमर्थ देखाएका छन् । डेराकै समस्याले विद्यार्थीहरुले कक्षा छाड्ने गरेको प्रधानाध्यापक पदम तिमल्सिनाले बताए । 
    बालकक्षा देखि +२ सम्म अध्ययन हुने गोकुले माविमा भुकक्प पछि एउटा पक्की भवन निर्माण भईरहेको छ । अन्य केहि भवन निमार्ण गरी छात्राबास समेत निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘गोकुले तथा अन्य विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि समेत हुने गरी विद्यालयमा छात्राबास सहितका लागि भवन निर्माणको तयारीमा छौ’–अध्यक्ष कान्छालाल जिम्बाले भने । वडा अध्यक्ष कान्छामान जिम्बाले विद्यार्थीहरुले अध्ययन गर्छु भन्दा पनि विद्यालय भवन र छात्राबास नहुँदा समस्या रहेको बताए । विद्यालय ब्यवस्थापन समिति अध्इक्ष शंकरलाल श्रेष्ठले जिल्ला तथा स्थानीय सरकारको सहयोगमा विद्यालयमा भवन निर्माण गरी तत्काल छात्राबास निर्माण गर्नु पर्ने बताए । छात्राबास नभएकै कारण केहि विद्यार्थीहरु अध्ययन गर्न आउन छाडेको र डेरा लिएर बस्नेहरुका  लागि पनि समस्या भएको अध्यक्ष श्रेष्ठले बताए । 
    सामु्दायिक विद्यालयका थुप्रै चुनौती छन् । शिक्षक अनुसार विद्यार्थी र विद्यार्थी अनुसार शिक्षक उपलब्ध छैनन । बाल कक्षा देखि कक्षा १० सम्म ५ सय ११, +२ मा १ सय १ सय ६३ समेत गरी ६ सय ४४ विद्यार्थीका लागि पक्कि भवन छैन । ११ जना सरकारले तलब उपलब्ध गराउने शिक्षक कार्यरत छन् भने ४ जनालाई नीजि क्षेत्रको सहयोगमा राखिएको छ । कार्यालय सहयोगी र लेखापालसमेतलाई विद्यालयले ब्यवस्थापन गरिरहेको छ । एकहजार भाडा तिरेर बस्ने विद्यार्थीहरुको संख्या २ सय ५० भन्दा धेरै छ । महाभारत गाउँपालिकाको गोकुले, घर्तिछाप, सिन्धुलीको हरिहरपुर गाउँपालिका, मकवानपुरको बाग्मती गाउँपालिका तथा महाभारतकै अन्य वडाका विद्यार्थीहरु गोकुलेमा अध्ययन गरिरहेका छन् । विशेषगरी नेवार, तामाङ समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको गोकुले मावीले गुणस्तरका लागि सम्झौता नगर्ने उद्घोष गरेको छ । जस्तोसुकै समस्या र अभावमा पनि विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई ध्यान दिएको प्रधानाध्यापक पदम तिमल्सिनाले बताए । 
    केन्द्र र प्रदेश सरकारले ग्रामिण र विकट क्षेत्रका यस्ता विद्यालयहरुलाई विशेष सहयोग गर्न गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘स्थानीय सरकारसँग भएको बजेटले सबै क्षेत्रको विकास तत्काल सम्भव छैन’–उनले भने–‘गोकुलेमा मात्रै नभई गाउँपालिकाका अन्य विद्यालयमा समेत यस्तो समस्या रहेकाले तत्काल यसको समाधानका लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको छ ।’