2018 December 15/ 09:29: 44pm

    धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले सेवाग्रहीलाई सहज बनाउने उदेश्यले १९७९ देखि २०७५ साल कार्तिक मसान्तसम्मका मिसिलहरुलाई सफ्टवेयर मार्फत अभिलेख गरेको छ । 
    ९६ वर्ष देखि गोदाममै थन्किएका मिसिलहरुलाई सुरक्षित र ब्यवस्थित गर्दै सफटवेयर मार्फत अभिलेख राखिएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले बताए । ‘सफ्टवेयरमा विगो भराउने मिसिल बाहेक ३५ हजार ३ सय ७२ मिसिल अभिलेख गरिएको छ’–त्रितालले भने–‘विगो बापतका करिव ६ हजार मिसिलको अभिलेख राख्ने काम शुरु भएको छ ।’ त्यहि समय देखि पटक पटक उच्च र सर्वाेच्च गएका मिसिलहरु जिल्लामा नफर्किएको अवस्थामा ति मिसिलहरुको अभिलेख राखिएको छैन नत्र सबै मिसिलहरु अभिलेखका रुपमा सफटवेयर मार्फत दर्ता गरिएको त्रितालले बताए । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा केहि वर्ष अघिसम्म मिसिल शाखामा मुसाको गुँड र दुर्घन्धको अवस्था थियो । पटक पटकको प्रयासले मिसिल शाखालाई सफटवेयर मार्फत ब्यवस्थित गरिएको फाँटवाला अरुणा बरालले बताईन् । 
    बादी, प्रतिवादीको नामबाट, मुद्दा दर्ता नम्वर, मुद्दा नम्वर, फैसला मितिबाट समेत मिसिल खोज्न सकिने सजिलो ब्यवस्था गरिएको छ । यति धेरै अप्सनबाट मिसिलको अभिलेख राखिएकाले सेवाग्रहीलाई थोरै समयमा मिसिलको नक्कल उपलब्ध गराउन सकिने बरालले बताईन् । अभिलेख नहुँदा छोटो समयमा हुने काम पनि एक÷दुई दिनसम्म लाग्दै आएको उनको अनुभव छ । मिसिलका पुराना अभिलेखहरु २०६७ सम्म षढाउने काम सम्पन्न भएको छ भने २०६८ देखिको कागजातलाई षढाउने कार्य शुरु हुँदैछ । सफ्टवेयर शुरु हुनु अघि मिसिल शाखामा जान र मिसिल खोज्न धौ धौ थियो । अदालतलाई ब्यवस्थित गर्ने क्रममा २०७३ देखि सफ्टवेयरको प्रयोग गरियो भने त्यस अघि सफ्टवेयरको प्रयास गरिएको थियो ।