2018 December 15/ 09:58: 24pm

    गोकुले/ग्रामिण भेगका महिलाहरुमा स्वास्थ्य सम्वन्धी समस्या जटिल बन्दै गएको छ । विकट क्षेत्रका महिलाहरुको स्वास्थ्यमा सहज पहुँच नहुनु, कम उमेरमै विवाह गर्नु, विवाह गरे लगत्तै बच्चा जन्माउनु, स्वास्थ्यमा हेलचेक्राई गर्नु महिलाहरुमा देखिएका रोगका मुख्य कारण हुन् । 
    सरकारले पटक पटक दिएको सेवा र सुविधा समेत महिलाहरुका लागि उपलब्ध हुन सकेको छैन । स्वास्थ्य चौकीमा सबै खालका उपचार हुन नसक्ने र परिक्षण समेत गर्न नपाउँदा एउटा रोगका कारण धेरैे रोगहरु जन्मिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘पाठेघर खसेर घाउ समेत भईसकेको रहेछ, पेटमा पानीका फोका फोका देखियो, अझै केहि महिलाहरुलाई पाठेघरक समस्याका कारण टिउमर समेत हुन थालिसकेछ’–डा. अनु कुशवाहले भनिन्–‘नेपालको राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकमा रहेका महिलाहरुको यस्तो समस्याले म भावकु भएँ ।’ सदरमुकाम धुलिखेलदेखि सिन्धुलीको रामपुर हुँदै ८ घण्टाको सवारी यात्रा पछि पुगिने महाभारत गाउँपालिकाको वडा नम्वर १ गोकुलेमा आयोजना गरिएको स्वास्थ्य शिविरमा जचाँउन आएका महिलाहरुले समस्या बताउँदै गएपछि अल्ट्रा साउण्ड गर्दा महिलाहरुको पाठेघर खसेर घाउ भएको, पाठेघर भित्र पानीका फोका फोका देखिएको र अधिकांश महिलाहरुको आङ्ग खसेको देखिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रे र महाभारत गाउँपालिकाले एकिकृत घुम्ती सेवा कार्यक्रमको आयोजना गरि स्थानीयस्तरमा नै सेवा दिएका हुन् । नोबेल अस्पताल सिनामङ्गलको प्राविधिक सहयोगमा आयोजना गरिएको एक दिन स्वास्थ्य शिविरमा ४ सय ७३ जनाले सेवा लिए । 
    महाभारत गाउँपालिकाको गोकुलेमा पहिलो पटक १८ जना स्वास्थ्य शिविरका लागि चिकित्सकहरुको टोली पुगेको थियो । महिलाहरुमा गम्भिर समस्या देखिएपछि नोबेल अस्पतालको टिमले निशुल्क सेवाको घोषणा गरेको छ । अध्यक्ष नवराज पाण्डेले महिलाहरुको पाठेघर सम्वन्धी समस्याको निशुल्क उपचार गर्ने घोषणा गरे भने शिविरमा देखिएका २ सय १५ मध्ये १२ आँखा रोगीहरुको निशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्ने जानकारी गराए । कम समयमै विवाह गरी बच्चा जन्माउनु, बच्चा जन्माउनु अघि र बच्चा जन्माएपछि महिलाहरुले गर्नु पर्ने हेरचाह र खानपानमा ध्यान नदिनु, नियमित स्वास्थ्य परिक्षण नगर्नु जस्ता समस्या रहेको विशेषज्ञहरुको टोलीले जानकारी गरायो । ‘७६ बर्षिया फुलमाया तामाङको आङ्ग खसेर पेटमा पानीको फोका फोका भईसकेको रहेछ’–डा अनु कुशवाहले भनिन–‘समयमै उपचार नहुँदा त्यहि कारण उहाँलाई समस्या पर्नेछ ।’ फुलमाया जस्तै ७२ महिलाहरुले शिविरमा पाठेघरको परिक्षण गराए । ति मध्ये ६० प्रतिशत अथार्त ४० जना महिलाहरुमा पाठेघर सम्वन्धी समस्या देखिएको डा. मिलन पौड्यालले बताईन् । ‘महिलाहरुमा गम्भिर प्रकारको समस्या पाठेघरमै देखियो’–डा. नमिता अधिकारीले भनिन । प्रसुती तथा स्त्रि रोग विशेषज्ञ डाक्टरहरुबाट गाउँमै पहिलो पटक सेवा पाएका महिलाहरुले समय समयमा यस्तो शिविर आयोजना हुँदा सेवाबाट लाभान्वित हुने बताए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नागरिकहरुको स्वास्थ्य पहिलो धन र सम्पति भएकाले शिविर आयोजना गरिएको बताए । गाउँपालिकामा रहेका सबै स्वास्थ्य चौकीहरुलाई स्तरउन्नती गरी अस्पताल बनाउन र अस्पताल मार्फत नियमित शिविर परिक्षणको कार्यक्रम गर्न विशेषज्ञहरुलाई पहिलो पटक गोकुलेमा पु¥याईएको जिम्बाले बताए । 
    शिविरबाट स्थानीयहरु खुशी मात्रै नभई सेवाबाट लाभान्वित पनि भएको उनले बताए । गाउँपालिकाका सबै वडामा यस्ता कार्यक्रम गर्न नोबेल अस्पताललाई सहयोगका लागि अध्यक्ष जिम्बाले आग्रह गरे । नोबेलका अध्यक्ष पाण्डेले महाभारत गाउँपालिकाका अधिकाशं ब्यक्तिहरु उपचारका लागि नोबेल पुगेको अवस्थामा उपचारमा ५० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरे भने एसईई उर्तिण विद्यार्थीहरु मध्ये गाउँपालिकाले सिफारिरस गरेका २ विद्यार्थीलाई निशुल्क छात्रवृत्ति सहित शिक्षा प्रदान गर्ने जानकारी गराए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रशासनले आयोजना गरेको घुम्ती शिविरमा गाउँपालिका र नोबेल अस्पतालको टिमले विकट क्षेत्रमा पुगेर सेवा प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । प्रजिअ राउतले राजधानीमा रहेको नोबेलले विकट क्षेत्रका बस्तिहरुका सेवा प्रदान गरी सर्वसाधारणलाई स्वास्थ्य सेवाबाट लाभान्वित बनाएकोमा धन्यवाद दिएका थिए । 

शिविरमा घुँइचो
    एक दिने शिविरमा ४ सय ७३ जनाले स्वाथ्य परिक्षण गरेका छन् । स्वास्थ्य परिक्षण अन्तर्गत जनरल फिजिसियन, गाइनो, हाड जोर्नी तथा नशा रोग, नाक, काँन, घाँटी जाँच, आँखा परिक्षण, छाला रोग लगायतको उपचार गरिएको थियो । १८ जना बालबालिकाले शिविरबाट सेवा लिए भने २ सय १५ जनाले आँखाको जाँच गराए । १२ जनाको मोतियाविन्दु सम्वन्धी समस्या देखिएको छ । ७२ जना महिलाहरुमा ४० जनाको आङ्ग खस्ने समस्या देखियो भने १ सय १० जनाले अल्ट्रा साउण्ड गराए । 
    एक दिने शिविरमा धेरैले पर्याप्त सेवा लिन नसकेको गुनासो ब्यक्त गरे । औषधी र चस्मा सहित निशुल्क वितरण गरिएको शिविर कम्तिमा ३ दिनसम्म आयोजना गर्न स्थानीयहरुले सुझाव दिए । जति सेवा दिईएको छ गुणस्तर रहेको स्थानीय रामबहादुर दलार्मीले बताए । गोकुले माविका प्रअ पदमप्रसाद तिमल्सिनाले शिविरबाट अभिभावकहरु धेरै लाभान्वित भएको बताए ।