2018 December 15/ 09:21: 13pm

लक्ष्मण तिमल्सिना
धुलिखेल

    पर्यटकिय नगरी धुलिखेलमा दैनिक पर्यटकहरुको संख्या बढिरहेको तथा नगरका शहरी क्षेत्रमा सुन्दरता र विश्रामस्थलको महसुस गर्दै धुलिखेल नगरपालिकाले शुरु गरेको बालमैत्री पार्क प्रत्येक वडामा निर्माण भएका छन् । 
    ‘सबै वडा तथा वडाका टोल टोलमा शहरी क्षेत्रमा विश्राम र बालबालिकाहरुलाई सहज ढंगले शारिरिक स्फुर्तिका लागि बालमैत्री पार्क निर्माण गरिएको हो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘पर्यटकहरुका आगमन भईरहने स्थानहरुमा विश्रामस्थल, शहरको हरियाली संरक्षण र बृद्धी, खुल्ला क्षेत्रको अवधारणा, विपदमा आश्रय लिने स्थान तथा अन्य थुप्रै उदेश्यले पार्क निर्माण गरिएको हो ।’ वडा स्तरीय र नगर स्तरीय पार्कले नगरको सुन्दरतामा बृद्धी गरेको स्थानीय प्रकाश श्रेष्ठले बताए । ‘धुलिखेलको सरस्वती बजारमा निर्माण भएको पार्कले शहरको सुन्दरता मात्रै नभई आन्तरिक र बाह्य पर्यटकहरुका लागि आनन्दको विश्रामस्थल दिएको छ’–धुलिखेलका आनन्द श्रेष्ठले भने । उक्त पार्कलाई नगरपालिकाले २२ लाख रुपैया खर्च गरेको छ भने स्थानीयहरुले २० प्रतिशत रकम थप गरी २६ लाख ४० हजार रुपैया खर्च गरिएको छ । पार्कमा सरस्वतीको शालिक राख्ने तयारी गरिएको छ भने स्टिल रेलिङ्ग, वाल, पार्टेसन सहितका दुबोे, बत्ति, कुर्सि, फ्लाग स्टोन, गार्डेन तथा एकै पटक ३० जना भन्दा धेरै अट्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । साँझ र खाना खाएपछि विश्राम लिन स्थानीयहरुको पार्कमा घुईचो लाग्ने गरेको छ भने दिउसोको समयमा विभिन्न कार्यालयमा काम लिएर आएका ब्यक्तिहरुले पनि त्यहि पार्कमा आश्रय लिन थालेका छन् । 
    साविकको जिल्ला विकास समिति अगाडी पनि पार्क निर्माणले सडक यात्री तथा अन्य ब्यक्तिहरुका लागि सहजता थपेको स्थानीय सुबोध श्रेष्ठले बताए । घरेलु तथा साना उद्योग कार्यालय माथी रहेको दुबो सहितको पार्कले समेत धुलिखेलको हरियाली र सुन्दर शहरको परिचय गराएको छ । हजार सिंढी जाने स्थानसँगै पिपलबोट आसपासको पार्क र टुडिंखेल भित्र निर्माण भएको पार्कले पर्यटकहरुका लागि सहजता थपि दिएको छ । नगरपालिकाले ठुला र साना दुई खाले पार्कहरुको निर्माण गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए । बालबालिकाहरुका लागि बालउद्यान सहितको एउटा पार्क निर्माण भईरहेका छन् भने अर्काे सबै  खाले ब्यक्तिहरुका लागि प्रयोग गर्न सकिने पार्कहरु निर्माण भईरहेका छन् । धुलिखेल ८ देविस्थानमा नेपालको झण्डा सहितको पार्क निर्माण गरिएको वडा अध्यक्ष निराजन जगंमले बताए । वडा नम्वर ११ मा विपी राजमार्गको छेउमै पातलेखेतको चोक हनुमान मावी अगाडी निर्माण गरिएको पार्कले विपी राजमार्ग भएर आउने जाने धेरै यात्रीहरुका लागि समेत सहजता थपिदिएको वडा अध्यक्ष विष्णु धितालले बताए । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा दिएको ३÷३ लाख रुपैयामा उक्त पार्कहरु निर्माण भएका हुन् । चालु वर्षमा पनि पार्कका लागि रकम विनियोजन गरेको नगर प्रमुख ब्याञ्जुले बताए । देविस्थानमा निर्माण भएको पार्कमा नगरपालिका, वडा र स्थानीयको साझेदारीता छ । 
    वडा नम्वर १२ शंखुमा शान्ति दिप सहितको बालउद्यान पार्क निर्माण गरिएको छ । दारिमथुम्कामा निर्माण भएको पार्कमा बौद्ध स्तुपा पनि छ । आत्म शान्तिका लागि बौद्ध स्तुपा सहितको शान्ति दिप राखिएको अध्यक्ष हर्क लामाले बताए । नमोबुद्ध जाने यात्रीहरुका लागि उक्त दिपमा सहभागि भएर जाने ब्यवस्था मिलाउन उक्त पार्क निर्माण गरिएको उनले बताए । पार्कलाई घेराउ गरी केहि मेचहरु राखिएको छ । जसमा बालबालिकाहरु सहित अन्य ब्यक्तिहरुले समेत पार्कबाट सुन्दरता सहितको आनन्द प्राप्त गर्न सक्छन् । वडा नम्वर १० शारदाबतासेमा हनुमान पार्क निर्माण शुरु गरिएको छ । हनुमानको मुर्ति राख्ने गरी शुरु गरिएको पार्क निर्माणको केहि काम सम्पन्न भएको छ भने बाँकी काम चालु वर्षको बजेटबाट गरिने अध्यक्ष पुस्प राउतले बताए । वडा नम्वर ५ ले शाहि टोलमा पार्क निर्माण गरेको छ भने वडा नम्वर १ ले बाल उद्यानका लागि ट्रस्ट सहितको संरचना तयार गरेको छ । वडा नम्वर २ मा वडा अध्यक्ष राजन कोईरालाको निधन भए पछि उनकै स्मृतिमा पार्क निर्माण शुरु गरिएको छ । कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले पार्क निर्माण कार्य शुरु भएको बताए । राजन कोईरालाको स्मृतिमा अर्ध कदको शालिक राख्ने र पार्कलाई बाल उद्यान सहित ब्यवस्थित गरिन लागिएको उनले बताए । वडा नम्वर ७ को बाल उद्यान पार्क, वडा नम्वर ३ र ४ मा भने बाल उद्यान पार्क अघिल्लो वर्ष तयार हुन सकेनन । चालु वर्षमा सबै वडा र बनिसकेका वडाहरुमा टोलमा समेत पार्क विस्तार गरिने लक्ष्य राखिएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    धुलिखेलको सिङ्गो नगरलाई बालमैत्री नगरका रुपमा अगाडी बढाउन चालु वर्षमा झण्डै एक करोड रकम विनियोजन गरिएको छ । बालमैत्री नगर घोषणा पुर्व घर घरमा बालबालिकाहरुको अवस्था, शौचालयको प्रयोग तथा बालबालिकाको प्रयोग, उनिहरुले प्रयोग गर्ने धारा पानी, विद्यालयको अवस्था समेतका बारेमा अभिलेख शुरु गरिएको छ । बच्चा जन्मने वितिक्कै धुलिखेल अस्पतालको समन्वयमा दुई जोर कपडा र पौष्टिक आहार सहितको खाना वितरण गरिएको छ भने सुत्केरी तथा गर्भवती आमालाई नगरपालिकाले पौस्टिक आहार र नियमित जाँचका लागि प्रोत्साहन हुने कार्यक्रम ल्याएको छ । नगर भित्र बालश्रम मुक्त, सडक बालबालिकाहरुको अन्त्य गरी घरै घर भएको शहरी क्षेत्रमा सुन्दरताले भरिएका पार्कहरुको निर्माण गरी नगरको सुन्दरता सहितको वातावरणले जनजीवन सहज बनाउने उदेश्य रहेको नगर प्रमुख ब्याञ्जुले बताए ।