2024 April 26/ 10:41: 40pm

    बनेपा/नेकपा काभ्रे ओली समूहको पूर्ण बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण भोलि शुक्रबार देखि बनेपामा हुने भएको छ । जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य गोकुल बास्कोटा सहित केन्द्रिय नेताहरुले प्रशिक्षण दिने जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । 
    नेकपा काभ्रेले जिल्ला कमिटी संयोजक रुकु चौलागाई र सचिव टोकबहादुर वाईवाले पार्टी हित विपरीत कार्य गरेको आरोप लगाउँदै पदमुक्त गरी अशोक ब्याञ्जु अध्यक्ष र नारायण पाण्डेलाई सचिवको जिम्मेवारी दिएसँगै ६ सय ९९ सदस्यीय जिल्ला कमिटीको घोषणा गर्दै दुई महिने पार्टी अभियान सार्वजनिक गरिएको थियो । सोहि अभियान अन्र्तगत उक्त बैठक तथा प्रशिक्षण आयोजना गरिएको सचिव नारायण पाण्डेले जानकारी दिनुभयो । ‘पार्टी एकताको मर्म, भावना र बिधान विपरीत पार्टीमा निरन्तर गुटबन्दी गरि सिंगो पार्टीलाई गतिहीन र अकर्मण्य बनाउने तथा ब्यक्तिवादी तुष्टिकरण र पदलोलुपता प्रकट गर्दै आत्मकेन्द्रित सोचका आधारमा काममा अवरोध सिर्जना गरी सरकार र मुलुकलाई राजनितिक अस्थिरताको दुष्चक्रमा फसाउने नियतका साथ पार्टीको नेतृत्वको जननिर्वाचित बहुमतको सरकार विरुद्ध पार्टी भित्रैबाट अविस्वासको प्रस्ताव दर्ता गर्ने जस्तो पार्टी अनुशासन विरोधी कार्यप्रती खेद ब्यक्त गर्ने निर्णय गरेको थियो’– अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो – ‘लोकतान्त्रिक राजनितिक ब्यवस्थामा राज्य शक्ति निर्माणको मुल श्रोत जनता नै भएको यथार्थतालाई मुर्त रुप दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशको लागि प्रतिनिधीसभा विघटन गरि निर्वाचनको मिति समेत घोषणा गर्नु भएको कुरालाई लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्वीकार गर्दै सो निर्णयको स्वागत गर्ने निर्णय गरेको छ ।’ 
    नेकपा काभ्रे जिल्ला कमिटी विगतमा जस्तै शान्तिपूर्ण पहलकदमी र प्रतिष्पर्धा मार्फत निर्वाचनमा श्रेष्ठता हासिल गर्न एकताबद्ध भएर सफलता हासिल गर्न योजनाबद्ध ढंगबाट तयारी गर्ने निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भएको छ । विस्तारित बैठक र भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दशौं काभ्रे जिल्ला अधिवेशन आयोजक कमिटीका सबै सदस्यहरु सहभागि रहनेछन् । जिल्ला कमिटीमा रहेको १ सय २४ संख्यालाई कायम राख्दै कुल ६ सय ९९ जना सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दशौं काभ्रे जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको थियो । जस मध्ये ७२ सिट जिल्ला कमिटीका आगामी बैठकहरुबाट आवश्यकता अनुसार मनोनयन गर्न सकिने गरि हाल रिक्त राख्ने निर्णय गरेको छ । जिल्ला अधिवेशन आयोजक कमिटीको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भोलीबाट शुरु हुने भएको हो । जिल्लाको सबै तहमा पार्टी, जनसंगठन तथा पेशागत क्षेत्रमा संगठन निर्माण, परिचालन तथा बैचारिक क्षेत्रको काम ठप्प भएको अवस्थामा पार्टीको गतिविधि शुरु भएको हो । 
नेता यताउता
    प्रतिनिधी सभा विघटन पछि सर्मथन र विरोधमा उत्रिएका नेताहरु यताउता भएका छन् । विभाजित नेकपाका दुई समूहविच कार्यक्रम र कार्यकर्ता आफ्नो पक्षमा तान्न प्रतिस्पर्धा चलेको छ । दुवै समूह समानान्तर बैठक र कार्यक्रम राखेर कार्यकर्ता आफ्नो पक्षमा पार्ने होडमा छन् । दुवै समुहमा नेता कार्यकर्ता विभाजन भईरहँदा केहि नेताहरु पर्ख र हेरको अवस्थामा यता न उताको अवस्थामा देखिएका छन् ।